कानुनी र सामाजिक उपचार (सम्पादकीय)

विचार/दृष्टिकोण |




समाज सरलताबाट जटिलतातिर जान्छ । हाम्रा अनुभवमा पनि हिजोको धार्मिक संहिता र मान्यताले बाँधिएका समाज आज जटिल बनेका छन् । सरल समाजमा सरल जीवनपद्धति, रहनसहन, आपसी परिचय हुन्थ्यो । आज पनि सहरीभन्दा ग्रामीण समाज सरल पाइन्छ । एककोशीय संरचनाका प्राणी बहुकोशीय बन्ने क्रममा उसको शरीर रचनामा जटिलता आउने विचार वैज्ञानिक चाल्र्स डार्विनले स्थापित गराएका छन् । यही मान्यतालाई पछ्याउँदै वैज्ञानिकहरू समाजमा पनि त्यस्तै प्रकारले जटिलता र उद्विकासका प्रभाव देखिन्छ भन्दै सोसल डार्विनिज्मका कुरा गर्छन् । समाज समस्यामुक्त हुँदैन । समस्याको व्यवस्थापन मात्र गर्न सकिन्छ । विकसित र सुरक्षित मानिने विश्वका विभिन्न देशमा कहिले बन्दुक त कहिले चुपी आतङ्क भएका समाचार प्रकाशित हुनुलाई समाजमा आएको जटिलता हो भन्न सकिन्छ । जटिल समाजमा जटिलै समस्या आउँछन् ।
नेपालमा पनि कहिले लहडमा त कहिले प्रतिशोधमा सिरिन्ज, खुर्सानी, एसिड प्रहारका घटना सुनिँदै आएका छन् । यसैगरी, विषालु पदार्थ खुवाउने वा सुँघाउने गरेर लुटपाट गर्नेजस्ता क्रियाकलाप पनि हाम्रा अनुभवमा नयाँ होइनन् । केही वर्षअघि एक युवकले अवतरण गर्दै गरेको जहाजलाई कोटेश्वरबाट ‘लेजर–लाइट’ आक्रमण गरेका थिए । यस्ता घटनालाई नैतिक शिक्षाले अनैतिक कार्य भन्दै त्यसै अनुसारको उपचार खोज्छ । धर्मले कुकर्म भन्छ र पाप गर्न हुँदैन भन्छ । कानुनले अपराध भन्छ र नियन्त्रण गर्न आदेश दिन्छ । यी सबै विधि र प्रक्रियाबाट मात्र यस्ता मनोसामाजिक समस्याको समाधान हुँदैन । समाजविज्ञानले यस्ता घटनाका सामाजिक कारण खोज्छ र समाधानका उपाय दिन्छ । के कारणले यस्ता घटना भइरहेका छन् ? घटनाको होइन कारणको उपचार गर्नुपर्ने आवश्यकता देखिन्छ ।
विद्यालय जाने क्रममा हालै भएको एसिड आक्रमणको घटनाका दोषीलाई कारबाही गर्न सांसदले सरकारको ध्यानाकर्षण गराएका छन् । काठमाडौँमा विद्यालयकी छात्रामाथि केही वर्षअघि यस्तै जघन्य अपराध भएको थियो । काठमाडौँ र मोफसलका केही स्थानमा हालै सिरिन्ज (तीखो तार)आतङ्कको शृङ्खला भएका थिए । यी घटना आपराधिक मनसायभन्दा लहड, रहर वा हतोत्साहनले भएका पाइएका छन् । प्रत्येक व्यक्तिलाई कुनै पनि मुलुकले व्यक्तिगत सुरक्षा प्रदान गर्न सक्दैन । प्रणालीमार्फत सुरक्षा दिइने हो । सुरक्षा प्रणालीलाई चुनौती दिने यस किसिमका गतिविधि निस्तेज गर्न सुरक्षात्मक साथै मनोसामाजिक उपचार गरिनुपर्छ । यसका लागि सरकार मात्र होइन व्यक्तिको पनि उत्तिकै महŒवपूर्ण भूमिका रहन्छ ।
समस्या एसिड वा रासायनिक पदार्थको आक्रमणमात्र होइन । घरेलु पदार्थको जबरजस्त प्रयोगबाट पनि यस्ता समस्या आउन सक्छन् । कतिपय खाद्यपदार्थको अनुचित प्रयोग गरेर व्यक्तिमाथि आक्रमण गरिन सक्छ । यी सबै पदार्थको आयात वा भण्डार नियमन गरेर मात्र समाधान सम्भव छैन । खुर्सानीलाई कसरी नियमन गर्ने ? त्यसैले एसिडको ओसारपसार नियन्त्रणसँगै यस्ता पदार्थको प्रयोग किन गरियो भन्ने मनोविज्ञानतिर पनि ध्यान जानुपर्ने हुन्छ । अपराधका साधनमा भन्दा कारणको उपचारबाट अपेक्षित सफलता प्राप्त गर्न सकिनेछ । त्यसो त मुलुकी अपराध संहिताको दफा १९३ अनुसार तेजाब वा अन्य रासायनिक, जैविक वा विषालु पदार्थ प्रयोग गरी कुरूप पारे सजाय हुन्छ । त्यस्तो पदार्थले पोली, डामी, दली, जिउमा पीडा हुने काम गरेमा कसूरअनुसार पाँच वर्षदेखि आठ वर्षसम्म कैद र एक लाख रुपियाँदेखि पाँचलाख रुपियाँसम्म जरिवाना हुनसक्छ । यसैगरी अङ्ग कुरूप पारेमा वा पीडा पु¥याएमा तीन वर्षदेखि पाँच वर्षसम्म कैद र ५० हजार रुपियाँदेखि तीन लाख रुपियाँसम्म जरिवाना हुने व्यवस्था संहितामा छ । अपराध, क्षति र दण्ड अन्तरसम्बन्धित पाटा हुन् । अपराधीलाई शून्य सहनशीलतामा कारबाही हुनपर्छ भन्नेमा विवाद रहँदैन । कानुननिर्दिष्ट कारबाही हुनैपर्छ तर जतिसुकै ठूलो सजाय दिइए पनि एसिडले क्षतविक्षत पीडितको अनुहार र बर्बाद समयको क्षतिपुर्ताल गर्न सकिँदैन । यस्ता घटनामा क्षतिपूर्ति कति र कसरी त्यो दिइन्छ भन्नुभन्दा पनि घटना हुनै नदिने वातावरण बनाउनु आवश्यक हुन्छ । यस्तो वातावरण बनाउन स्वयं व्यक्तिको होसियारी र सरोकारी निकायको सक्रियता निर्णायक हुनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?