logo
२०८१ बैशाख १४ शुक्रवार



ट्याक्टर र बस ठोक्कियो, २५ यात्रु घाइते

खुला |
प्रदेश |


ट्याक्टर र बस ठोक्कियो, २५ यात्रु घाइते


जनार्जन खत्री
सर्लाही, माघ १४ गते । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको हरिवन नगरपालिका– ९, सुखेपोखरीमा शुक्रबार बिहान ट्याक्टरको टेलरमा रात्रीबस ठोक्किँदा २५ जना यात्रु घाइते भएका छन् ।

बिग्रिएर रोकिराखेको ज २ त ७८१ नम्वरको ट्याक्टरको टेलरमा भैरहवाबाट विराटनगरका लागि छुटेको लु २ ख ४७५७ नम्वरको रात्रीबस एकापसमा ठोक्किएको हो । दुर्घटनामा घाइते भएका २५ जनामध्ये छ जना यात्रुको हरिवनका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

बाँकी १९ जना घाइतेलाई थप उपचारका लागि वीरगन्ज र भरतपुर रेफर गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर, सर्लाहीका प्रमुख एवं ट्राफिक प्रहरी निरीक्षक केदारमान दोङले जानकारी दिनुभयो ।

दोङका अनुसार बिग्रिएर बाटोको साइडमा रोकिराखेको ट्याक्टरको टेलरमा शुक्रबार बिहान ४ः१५ बजेतिर रात्रीबस आएर ठोक्किएको छ । बिहानपख बाक्लो हुस्सु लागेको समयमा बस चालकले अगाडिको दृश्य प्रष्टसँग देख्न नसक्दा ट्याक्टरको टेलरमा आएर ठोक्किएको हुनसक्ने ट्राफिक प्रहरी निरीक्षक दोङले बताउनुभयो ।

दुर्घटनापछि सामान्य घाइते भएका बसका चालक प्रहरी नियन्त्रणमा रहेका छन् भने ट्याक्टर चालक फरार भएका छन् । सर्लाहीको पूर्व–पश्चिम राजमार्गमा अहिले उखु बोकेर चिनी उद्योगतर्फ गइरहेका टायरगाढा, ट्याक्टर र ट्रकको अत्यधिक चाप रहेकाले राजमार्गमा यात्रा गर्दा सावधानी अपनाउन ट्राफिक प्रहरीले आग्रह गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?