logo
२०८१ बैशाख १४ शुक्रवार



चिसो बढेपछि मनाङका गाउँबस्ती सुनसान

खुला |
प्रदेश |


चिसो बढेपछि मनाङका गाउँबस्ती सुनसान


बेलिना थापा
लमजुङ, माघ १३ गते । हिमाली जिल्ला मनाङमा चिसोका कारण गाउँवस्ती सुनसान भएको छ । चिसो छल्न भन्दै जिल्ला छाड्ने नागरिक बढेपछि गाउँबस्ती सुनसान बनेको हो । अहिले जिल्लाका अधिकांश घर बन्द छ । केही स्थानीय मात्र जिल्लामा छन् । केहीले आफ्नो घर कुरुवाको जिम्मा लगाएका छन् । चिसो बढ्न थालेपछि मङ्सिर अन्तिम साताबाटै स्थानीयहरु काठमाडौं, पोखरा, चितवन, लमजुङमा छन् । जाडो सुरु भएसँगै अधिकांशले जिल्ला छाडेको मनाङ ङिस्याङ गाउँपालिका १ पिसाङका छिरिङ नेस्याङ गुरुङले बताउनुभयो । उहाँका अनुसार अधिकांश वृद्धवृद्धा, बालबालिकाहरु जिल्लामा छैनन् । जाडो समय खेतीपातिका लागि पनि उचित नभएकाले मनाङबासीहरु जिल्ला छाड्ने गरेका छन् ।

उहाँले भन्नुभयो– ‘दैनिक हिमपात भइरहेको छ । चिसो अत्यधिक बढेको छ । हिमपात हुनुअघि नै स्थानीय जिल्ला छाडेर गएका हुन् । कोही मात्र गाउँवस्तीमा देखिन्छन् ।’ जिल्ला छाडेकाहरु माघको अन्तिममा र केही फागुन पहिलो सातामा मात्र फर्कन थाल्छन् । मनाङबाट बाहिर गएकामध्ये ७० प्रतिशत काठमाडौंमा रहेको स्थानीयको भनाइ छ ।

केहीको काठमाडौंमा घर छ भने केही आफन्तकोमा बस्ने गर्छन् । जाडो कम हुन थालेपछि मात्र जिल्ला फर्किने गरेको स्थानीयको भनाइ छ । मनाङ ङिस्याङ गाउँपालिकाका कान्छा घलेका अनुसार हिमपात भइरहने र चिसो मौसम भएकाले गाउँपालिकाका अधिकांश नागरिक जिल्ला बाहिर छन् । अतिआवश्यक काम परेमा मात्र जिल्ला आउँछन् । पुसदेखि नै स्थानीय जिल्ला बाहिर छन् । गर्मी सुरु हुन थालेपछि मात्र गाउँ फर्कने उहाँले बताउनुभयो ।

माथिल्लो मनाङमा धेरै जाडो हुनेभएकाले स्थानीय मङ्सिरदेखि फागुनसम्मका लागि शहर झरेका छन् । तल्लो क्षेत्रकाहरु पुसदेखि माघसम्म शहरमा बस्छन् । होटल सञ्चालक भने फागुन पहिलो सातामा जिल्ला फर्कन्छन् । अन्य स्थानीय केही ढिला फर्कन्छन् ।

मनाङका प्रमुख जिल्ला अधिकारी रविन्द्रप्रसाद आचार्यका अनुसार अधिकांश मनाङवासीहरु जिल्ला छाडेर गएका छन् । अधिकांश काठमाडौं, कोही पोखरा, चितवन र लमजुङमा बसेका छन् । केहीले घर बन्द गरेर र केहीले कुरुवा राखेर गएका छन् । ५० प्रतिशत बढी नागरिक जिल्ला बाहिर गएकाले बस्ती सुनसान देखिएको उहाँले बताउनुभयो ।

‘चिसो बढे लगत्तै सबैजसो जिल्ला बाहिर छन् । केही मात्र जिल्लाभित्रै छन् । अति आवश्यक काम परेकाहरु आउने र पुनः फर्कने गरेका छन्’ उहाँले भन्नुभयो, ‘यो समय जिल्लामा जनसङ्ख्या कम भएकाले सरकारी कार्यालयमा सेवाग्राही कम छन् । दैनिक एक दुई जना मात्रै आउँछन् । कार्यालय भने खुला रहने गरेको छ ।’ मङ्सिर अन्तिम साता र पुसमा जिल्ला छाडेकाहरु फागुनबाट मात्रै जिल्ला आउन थाल्ने उहाँले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?