logo
२०८१ जेष्ठ ४ शुक्रवार



अधिकांश मासु पसल मापदण्ड विपरीत सञ्चालनमा

खुला |
प्रदेश |


अधिकांश मासु पसल मापदण्ड विपरीत सञ्चालनमा


राजन राउत
हुम्ला ,माघ १ गते । जिल्लामा सञ्चालनमा रहेका अधिकांश मासु पसल मापदण्ड विपरीत सञ्चालन हुँदैआएको पाइएको छ । शनिवार बिहान मासु पसलको अनुगमन गर्ने क्रममा सो तथ्य फेला परेको हो ।

सिमकोट गाउँपालिका पशु स्वास्थ्य शाखाका प्राबिधिक सहायक बिष्णु बुमीका अनुसार सञ्चालनमा आएका मासु पसल अधिकांस मापदण्ड विपरीत रहेको छ । मासु पसलका लागि छुट्टै बिक्री कक्ष हुनुपर्नेमा त्यसो नभई पसलमा अन्य सामग्रीसंगै राखेर बिक्री गरिएको अनुगमनका क्रममा पाइएको बताउनुभयो । त्यस्ता पसललाई पहिलो पटक चेतावनी दिएर छाडिएको उहाँको भनाइ छ ।

कुल २८ वटा मासु पसलमध्ये २१ वटाको अनुमगन गरिएको छ । चार वटा बाहेक अन्य सबै पसल जथाभावी सञ्चालनमा आएको बुमीले बताउनुभयो । ढक तराजु मात्र राखेर मासु बिक्री गरिएको अबस्था मासु पसलहरुको रहेको छ । उहाँले धेरै पसलहरुमा मूल्यसूची, पसल दर्ताको प्रमाणपत्र, छुट्टै बिक्री कक्ष, फ्रिजको व्यवस्था समेत नभएको पाइएको बताउनुभयो ।

केही पसलहरुमा गनाएको मासु समेत भेटिएको बताउँदै त्यस्तो मासु गाड्न समेत लगाइएको बुमीले बताउनुभयो । मासुको समस्या हुने भएका कारण उपभोक्ताहरुबाट त्यसको कुनै बिरोध नआउने भएबाट पनि मासु पसलेहरुले मनोमानी बिक्री गर्दैआएको उपभोक्ताको गुनासो छ ।

नागरिक अगुवा कर्णबहादुर रोकायाले फ्रेस हाउसका नाममा जिल्लामा मासु बिक्री बितरण गर्दैआएका मासु पसल जथाभावी रुपमा सञ्चालन भइरहेको बताउनुभयो । उहाँले यसलाई व्यवस्थित र मापदण्डभित्र रहेर पसल सञ्चालन गर्न सम्वन्धित निकायले लगाउनुपर्ने बताउनुभयो ।

अटेर गर्ने व्यवसायीलाई कारवाहीको दायरामा ल्याउनु पर्ने उहाँको भनाइ छ । मान्छेको स्वास्थ्यमां प्रत्यक्ष सरोकार राख्ने भएको कारण स्वच्छ मासु बिक्री गर्ने व्यवस्थातर्फ सरोकारवाला पक्षले ध्यान दिनुपर्ने आबश्यक देखिएको उहाँको सुझाव छ । हुम्लामा कुखुरको मासु प्रतिकेजी ६ सय र खसीको मासु साढे आठ सय रुपियाँमा बिक्री हुने गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?