logo
२०८१ बैशाख १४ शुक्रवार



दार्चुलामा ‘तपाईंको मास्क खै’ अभियान

खुला |
प्रदेश |


दार्चुलामा ‘तपाईंको मास्क खै’ अभियान


लोकेन्द्र जोशी
दार्चुला, पुस ३० गते । बढ्दो कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालय दार्चुलाले ‘तपाईको मास्क खै’ सचेतना अभियान फेरि शुरु गरेको छ । प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायको सहभागितामा दार्चुला सदरमुकाम खलंगा बजारमा प्रहरीले सो अभियान शुरु गरेको हो ।

अनिवार्य स्वास्थ्य मापदण्डको पालना गर्न र घर बाहिर निस्कँदा अनिवार्य मास्कको प्रयोग गर्न ‘तपाईको मास्क खै’ लेखिएको व्यानर र प्लेकार्डको प्रयोग गरी सचेतना अभियान शुरु गरेको प्रहरी नावय उपरीक्षक मनोहरप्रसाद भट्टले जानकारी दिनुभयो । सो अभियानको प्रमुख जिल्ला अधिकारी उपाध्यायले शुभारम्भ गर्नुभयो । अभियानले सम्पूर्ण सडक प्रयोगकर्ता आम सर्वसाधरणलाई मास्कको अनिबार्य प्रयोग गर्नुपर्छ भन्ने कुरालाई स्मरण गराउने र मास्कको प्रयोग नगरेकालाई लगाउन प्रेरित गर्ने उहाँले बताउनुभयो ।

कोरोना सङ्क्रमण बढ्न थालेपछि मास्कको अनिवार्य प्रयोग गर्नेलगायतका जनस्वास्थ्य सुरक्षाका मापदण्डको कडाइकासाथ पालना गर्न जिल्ला प्रशासन कार्यालयले आदेश समेत जारी गरेको छ । माघ ७ गतेदेखि सार्वजनिक स्थान र यातायातमा खोप कार्ड अनिवार्य गरिने, भिडभाड हुने गतिविधि नगर्ने, २५ जनाभन्दा बढी मानिसहरु भेला नहुने, सीमाबाट फर्किनेहरुको अनिवार्य एन्टिजेन परीक्षण गर्ने, स्थानीय तहमा आइसोलेसन व्यवस्थापन गर्ने, माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने लगायतका निर्णय तथा आदेशहरु जारी भएका छन् ।

स्वास्थ्य मापदण्डको कडाइकासाथ पालना गर्न अनुरोध गरिएको छ । दार्चुलामा भारतबाट फर्किनेहरुमा कोरोना पुष्टि हुन थालेपछि प्रशासनले स्वास्थ्य सुरक्षाका मापदण्डको कडाइका साथ पालना गर्न, खोप कार्ड अनिवार्य गर्न र सीमा नाकामा कोरोना परीक्षणको व्यवस्था मिलाउन निर्देशन जारी गरेको छ ।

दार्चुलामा कोरोना खोप अभाव
दार्चुलामा स्थानीय प्रशासनले सार्वजनिक स्थान र यातायातमा खोप कार्ड अनिवार्य हेर्न आदेश गरेपनि जिल्लामा कोरोनाविरुद्ध लगाइने खोपको अभाव छ । हालसम्म खोप लगाउने उमेर समुहका ३३ प्रतिषत नागरिकले खोप पाएका छैनन् । कोरोनाको खोप सकिएको छ, स्वास्थ्य कार्यालयका प्रमुख जयराज भट्टले भन्नुभयो, “अहिले खोप माग गरिएको छ, एक–दुई दिनभित्र खोप जिल्ला आइपुग्छ, अहिलेसम्म जिल्लामा ७७ प्रतिशत नागरिकले मात्रै खोप पाएका छन् ।”

दार्चुलामा पछिल्लो एक हप्ता यता १७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । भारतबाट रोजगारी गरेर फर्किने नेपालीमा कोरोना सङ्क्रमण देखिएको जनस्वास्थ्य अधिकृत जयराज भट्टले बताउनुभयो । भारतसँग सीमा जोडिएका दार्चुलाको पुलघाट र जौलजिवीमा अहिले कोरोना परीक्षणको व्यवस्था गरिएको छ । भारतमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको सङ्क्रमण तीव्ररूपमा फैलिरहेकाले नाकामा स्वास्थ्य जाँचमा कडाइ गर्नु आवश्यक रहेको प्रशासनको भनाई छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?