logo
२०८१ बैशाख २५ मंगलवार



बयलबास घटना छानबिन गर्न एसपीको नेतृत्वमा समिति गठन

खुला |
प्रदेश |


बयलबास घटना छानबिन गर्न एसपीको नेतृत्वमा समिति गठन


जनार्जन खत्री
सर्लाही, पुस १५ गते । सर्लाहीको ईश्वरपुरमा गत आइतवार प्रहरी भ्यानको ठक्करबाट एक युवकको मृत्यु भएको घटनाबारे छानबिन गर्न समिति गठन गरिएको छ । प्रदेश २ प्रहरी कार्यालय जनकपुरले बिहीबार प्रदेश २ दङ्गा नियन्त्रण प्रहरी गण ढल्केबर, धनुषाका प्रहरी उपरीक्षक (एसपी) ज्ञानेन्द्रप्रसाद फुँयालको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको हो ।

समितिमा प्रदेश २ ट्राफिक प्रहरी कार्यालय पथलैया, बाराका प्रहरी नायब उपरीक्षक (डीएसपी) सन्तुलालप्रसाद जैसवार, प्रहरी कार्यालय जनकपुरधाम, धनुषाका प्रहरी निरीक्षक (इन्सपेक्टर) गोविन्दलाल कर्ण, सोही कार्यालयमा कार्यरत प्रहरी नायब निरीक्षक (सइ) प्रेमकुमार साह र सङ्घीय प्रहरी इकाई कार्यालय जनकपुरधाम, धनुषामा कार्यरत प्रहरी हवल्दार प्रमोदकुमार साह सदस्य रहनुभएको छ ।

छानबिन समितिलाई सो दुर्घटनाको सम्वन्धमा सत्य–तथ्य बुझेर अविलम्ब प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ । गएको आइतवार राती ९ बजेतिर ईश्वरपुर नगरपालिका–७, स्थित नगरपालिका कार्यालय नजिकै गस्तीमा रहेको इलाका प्रहरी कार्यालय केशरगञ्ज, बयलबासको भ्यानले ठक्कर दिँदा ना ४३ प ५०१८ मोटरसाइकल चालक ईश्वरपुर नगरपालिका– ५, सखुबनी खुबलाल टोलका ३० वर्षीय रामकुमार महतोको मृत्यु भएको थियो ।

महतोले बयलवास बजारमा फेन्सी पसल सञ्चालन गर्दैआउनुभएको थियो । सो घटनापछि स्थानीयवासी आन्दोलित बनेका थिए । बुधबार लालबन्दीमा पीडित पक्ष, अन्य सरोकारवाला र सुरक्षा अधिकारीबीच भएको छलफलबाट घटनाको सम्वन्धमा अनुसन्धान गर्न समिति गठन गर्ने, मृतकको परिवारलाई राहतस्वरुप १० लाख रुपियाँ उपलब्ध गराउन गृह मन्त्रालयमा सिफारिस गर्ने लगायत छ बुँदे सहमति भएपछि आन्दोलन रोकिएको छ ।

सोमवार र मङ्गलवार तनावग्रस्त बनेको बयलबास बजारक्षेत्रको अवस्था बुधबारदेखि सामान्य छ । स्थानीय प्रशासनले बजार क्षेत्रको निषेधाज्ञा भने हटाएको छैन् । प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले बिहीबार बेलुका ७ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको जानकारी दिनुभयो ।

बयलबास बजार क्षेत्रमा अहिले पनि ठूलो सङ्ख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको सर्लाहीका प्रहरी उपरीक्षक कृष्ण प्रसाईले बताउनुभयो । मृतक रामकुमारको शव जिल्ला अस्पताल मलङ्गवामा राखिएको छ । कानुनी प्रक्रिया पूरा गरी मृतकको शव परिवारलाई बुझाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?