logo
२०८१ जेष्ठ ६ आईतवार



भूकम्पपीडितले किस्ता पाएनन्

खुला |


भूकम्पपीडितले किस्ता पाएनन्


बाबुराम देवकोटा

सिन्धुलीमाढी, पुस २ गते । सिन्धुली जिल्लामा निजी आवास निर्माण गरेका भूकम्पपीडितले सरकारी अनुदानको किस्ता पाएका छैनन् । निजी आवास निर्माण गर्ने लाभग्राही सूचीमा परेका भूकम्पपीडितले पाउने अनुदानबापतको रकम गत साउनदेखि नै नआएकाले जिल्ला आयोजना कार्यान्वयन एकाइ (भवन तथा आवास) सिन्धुलीले जनाएको छ । नयाँ आर्थिक वर्ष सुरु भएपछि केन्द्रबाट अनुदानबापतको रकम जिल्लामा आएको छैन ।

एकाइका लेखापाल तिलक कार्कीले कर्मचारीले समेत साउनदेखि हालसम्म तलब खान नपाएको उल्लेख गर्नुभयो । अनुदान रकमका लागि जिल्लाबाट ताकेता भइरहेको उहाँले बताउनुभयो । उहाँले भन्नुहुन्छ, “साउनयता करारमा काम लगाएका २३ जना प्राविधिक र छ जना अन्य कर्मचारी गरी २९ जनाको म्याद थप नभई पदावधि सकिएर बुधबारदेखि तलब नै नपाई बिदा भएका छन् ।”

उहाँका अनुसार आठ जना कर्मचारीलाई सिन्धुली जिल्लामा भूकम्पको काम हेर्ने गरी राखिएको छ । तीमध्ये छ जनालाई सघन सहरी विकास रामेछापबाट तलब पाउने गरी खटाएको छ । एक जना नासु र लेखापाललाई सिन्धुलीकै कार्यालयको कर्मचारीको रूपमा खटाएको छ ।

‘हामीले घर बनाइसकेर इन्जिनियरलाई सबै कागजपत्रसहित किस्ता माग गरी बुझाइसकेका छौँ,’ कमलामाई नगरपालिका–४ का भूकम्पपीडित केशव तामाङले भन्नुभयो । ‘किस्ता आए नआएको बुझ्न आयोजनाको कार्यालयमा धेरै धाइसकेँ । पैसा कहिले आउँछ भनेर सोद्धा आउँछ भन्नुहुन्छ, तर अहिलेसम्म आएको छैन’, उहाँको गुनासो छ ।

अनुदान रकम दिने जिम्मेवारी पाएको जिल्ला आयोजना कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालय भदौ मसान्तपछि खारेज हुँदा आफूहरूले दुःख पाएको भूकम्पपीडित लाभग्राहीहरूको गुनासो छ । कार्यालय खारेजीसँगै सिन्धुली जिल्लामा भूकम्पको काम हेर्ने जिम्मेवारी सहरी विकास तथा भवन डिभिजन कार्यालयले पाएको छ ।

भूकम्प गएको छ वर्ष बितिसक्दा पनि सिन्धुलीमा निजी आवास पुनर्निर्माणको काम सकिएको छैन । एकाइका अनुसार ४० हजार ३१० जना लाभग्राहीमध्ये गत असार मसान्तसम्म ३३ हजार ६७४ जनाले निजी आवास निर्माण गरी अनुदानबापतको तेस्रो किस्ता बुझेर लगेका छन् । सरकारले भूकम्पबाट भत्केका निजी आवास पुनर्निर्माण र मर्मतका लागि यही पुस महिनासम्म समय सीमा तोकेको छ । तोकिएको समय सीमाभित्र निजी आवास पुनर्निर्माणका लागि सम्झौता गरी पहिलो किस्ता रकम ३८ हजार ८१५ जना र दोस्रो किस्ता रकम ३६ हजार ५६९ जना लाभग्राहीले बुझेका छन् ।

लाभग्राहीलाई सरकारले निजी आवास पुनर्निर्माण गर्न तीन किस्तामा गरी तीन लाख रुपियाँ अनुदान दिँदै आएको छ । समय सीमाभित्र सम्झौता नगर्ने एक हजार ३२१ जना लाभग्राही सूचीबाट हटेका छन् ।
त्यस्तै प्रबलीकरण (घर मर्मत) तर्फका कुल १२ हजार ७५८ लाभग्राहीमध्ये १० हजार ७३४ जनाले सम्झौता गरी पहिलो किस्ताबापतको ५० हजार रुपियाँ बुझेका छन् । प्रबलीकरणका कुल लाभग्राहीमध्ये ६५६ जनाले मात्रै अन्तिम किस्ता रकम बुझेका छन् । प्रबलीकरणका लाभग्राहीलाई सरकारले पहिलो र दोस्रो गरी दुई किस्तामा एक लाख रुपियाँ अनुदान दिँदै आएको छ । तोकिएको समय सीमाभित्र निजी आवास मर्मत गर्न सम्झौता नगर्ने एक हजार ९८७ जनालाई प्रबलीकरणको लाभग्राही सूचीबाट हटाइएको एकाइले आयोजनाले जनाएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?