logo
२०८१ बैशाख २५ मंगलवार



निजी आवास निर्माण गरेका भूकम्पपीडितले किस्ता पाएनन्

खुला |
समाज |


निजी आवास निर्माण गरेका भूकम्पपीडितले किस्ता पाएनन्
कमलामाई नगरपालिका–४ मा निजी आवास निर्माण गर्दै एक भुकम्पपीडित लाभग्राही । तस्बिर - बाबुराम देवकोटा, सिधुली



बाबुराम देवकोटा
सिन्धुलीमाढी, पुस १ गते । सिन्धुली जिल्लामा निजी आवास निर्माण गरेका भुकम्पपीडित लाभग्राहीले किस्ता रकम पाउन सकि रहेका छैनन् ।
नयाँ आर्थिक वर्ष सुरुसँगै साउनदेखि नै निजी आवास बनाउने भुकम्पपीडित लाभग्राहीलाई वितरण गर्ने किस्ताको रकम नआएकाले उनीहरुले पाउन नसकेको जिल्ला आयोजना कार्यान्वयन ईकाई (भवन तथा आवास) सिन्धुलीले जनाएको छ ।
उक्त आयोजनाका अनुसार जिल्लाका भूकम्पपीडितले साउन यता अनुदानको किस्ता रकम प्राप्त गर्न सकेका छैनन् । नयाँ आर्थिक वर्ष सुरु भएपछि रोकिएको किस्ता अहिलेसम्म प्राप्त हुन सकेको छैन । केन्द्रबाट किस्ता स्वरुप बितरण गर्न अहिलेसम्म जिल्लामा आएको छैन ।
आयोजनाका लेखापाल तिलक कार्कीले कर्मचारीले समेत साउनदेखि हालसम्म तलब खान नपाएको चर्चा गर्दै किस्ता रकमका लागि जिल्लाबाट ताकेता भई रहे पनि नआएको सुनाउनुभयो । उहाँले भन्नुभयो, ‘साउन यता करारमा काम लगाएका २३ जना प्राविधिक र छ जना अन्य कर्मचारी गरी २९ जनाको म्याद थप नभई पदावधि सकिएर बुधबार (हिजो)देखि तलब नै नपाई विदा भएका छन् ।’
उहाँका अनुसार अब आठ जना कर्मचारीलाई सिन्धुली जिल्लामा भुकम्पको काम हेर्ने गरी राखेको छ । ती मध्ये छ जनालाई सघन सहरी विकास रामेछापबाट तलब पाउने गरी खटाएको छ । एक जना नासु र लेखापाललाई सिन्धुलीकै कार्यालयको कर्मचारी कर्मचारीको रुपमा खटाएको छ ।
‘हामीले घर बनाई सकेर इन्जिनियरलाई सबै कागजपत्र किस्ता माग गरी बुझाई सकेका छौं,’ कमलामाई नगरपालिका–४ का भुकम्प पीडित केशब तामाङले भन्नुभयो, ‘किस्ता आए नआएको बुझ्न आयोजनाको कार्यालयमा धेरै धाई सके । पैसा कहिले आउँछ भनेर सोध्दा आउँछ भन्नुहुन्छ, तर अहिलेसम्म आएको छैन ।’
अनुदान वितरण गर्ने मुख्य जिम्मेवारी पाएको जिल्ला आयोजना कार्यान्वयन इकाई अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालय भदौ मसान्तपछि खारेज हुदा आफूहरुले दुःख पाएको भुकम्पपीडित लाभग्राहीको गुनासो छ । उक्त कार्यालय खारेजीसँगै सिन्धुली जिल्लामा भुकम्पको काम हेर्ने जिम्मेवारी शहरी विकास तथा भवन डिभिजन कार्यालयले पाएको छ । साउनदेखि नै अनुदान वितरणका काम ठप्प रहेको भूकम्पपीडितको भनाइ छ ।
बिनासकारी भूकम्प गएको छ वर्ष बितिसक्दा पनि सिन्धुली जिल्लामा निजी आवस पुनःनिर्माणको काम सकिएको छैन । झन अहिले घर बनाएका भूकम्पपीडितले समेत अनुदान नपाएपछि निराश भएका छन् । सिन्धुली जिल्लामा गत असारसम्म भुकम्पपीडित लाभग्राहीमध्ये ८७ प्रतिशतले निजी आवास निर्माण गरेका उक्त आयोजनाले जनाएको छ ।
आयोजनाका अनुसार २०७२ सालमा गएको भुकम्पबाट पीडित पुनःनिर्माणतर्फ पहिचान भएका कुल ४० हजार ३१० जना लाभग्राहीमध्ये गत असार मसान्तसम्म ८७ प्रतिशत अर्थात ३३ हजार ६७४ जनाले तेस्रो किस्ता बुझेर निजी आवास निर्माण गरेका छन् । सरकारले भुकम्पबाट भत्केका निजी आबास पुनःनिर्माण र मर्मतका लागि २०७८ साल पुस महिनासम्म पाँच वर्षको समयसिमा तोकेको छ । तोकिएको समयसिमाभित्र आएर निजी आवास पुननिर्माणका लागि सम्झौता गरि पहिलो किस्ता रकम ३८ हजार ८१५ जना, दोस्रो किस्ता रकम ३६ हजार ५६९ जना र तेस्रो किस्ता रकम ३३ हजार ६७४ जना लाभग्राहीले बुझेका छन् ।
सरकारले निजी आवस पुनःनिर्माणका लागि पहिलो किस्ता बापत ५० हजार रुपियाँ, दोस्रो किस्ता बापत एक लाख ५० हजार रुपिया र तेस्रो किस्ता बापत एक लाख रुपियाँ गरी कुल तीन लाख रुपिया अनुदान दिँदै आएको छ । जिल्लामा तोकिएको समयसिमा भित्र आएर निजी आवास पुनःनिर्माणका लागि सम्झौता नगर्ने एक हजार तीन सय २१ जनालाई लाभग्राही सूचिबाट हटेका छन् ।
त्यस्तै, प्रवलीकरण (घर मर्मत)तर्फका कुल १२ हजार ७५८ लाभग्राही मध्ये १० हजार ७३४ जनाले सम्झौता गरी पहिलो किस्ता बापतको ५० हजार रुपिया बुझेका छन् । प्रवलीकरणका कुल लाभग्राही मध्ये हालसम्म छ प्रतिशत अर्थात ६५६ जनाले मात्रै अन्तिम किस्ता रकम बुझेका छन् । प्रवलीकरण का लाभग्राहीलाई सरकारले पहिलो र दोस्रो गरी दुई किस्तामा एक लाख रुपिया अनुदान दिँदै आएको छ ।
तोकिएको समयसिमाभित्र निजी आवास मर्मत गर्न सम्झौता नगर्ने एक हजार ९८७ जनालाई प्रवलिकरणको लाभग्राही सूचिबाट हटाइएको पनि आयोजनाले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?