logo
२०८१ बैशाख १५ शनिवार



भूकम्प पीडितले अनुदान पाएनन

खुला |
प्रदेश |


भूकम्प पीडितले अनुदान पाएनन


नरेन्द्र ढकाल
गोरखा, मंसिर २२ गते । जिल्लाका भूकम्प पीडितले साउन यता अनुदानको किस्ता रकम पाएका छैनन् । नयाँ आर्थिक वर्ष सुरु भएपछि रोकिएको किस्ता अहिलेसम्म प्राप्त हुन नसकेको पीडितको भनाई छ ।

‘घर बनेको त धेरै भयो, इन्जिनियरले सबै कागजपत्र पनि लगिसक्नु भएको छ,’ धार्चे ५ गुम्दाका असिम गुरुङले भन्नुभयो, ‘पैसा कहिले आउँछ भनेर सोध्दा आउँछ, भन्नुहुन्छ तर अहिलेसम्म आएको छैन ।’ घर बनाइसकेका धेरै भूकम्प पीडितको फाइल अहिले स्थानीय तहहरुमा थन्किएको छ ।

अनुदान वितरण गर्ने मुख्य जिम्मेवारी पाएको जिल्ला आयोजना कार्यान्वयन इकाई अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालय भदौ मसान्तपछि खारेज भएको थियो । जिल्लामा रहेको उक्त कार्यालय बन्द गर्ने निर्णय सरकारले गरेपछि साउनदेखि नै अनुदान वितरणका काम ठप्प रहेको भूकम्पपीडितको भनाई छ ।

अनुदान वितरणको काम पनि जिल्ला आयोजना कार्यान्वयन इकाई भवन तथा आवासलाई दिने निर्णय भयो । सो कार्यालयले पहिले किस्ता सिफारिसको काम मात्र गरेको थियो । नयाँ जिम्मेवारी समेत थप भएपछि सोहीअनुरुप कर्मचारीको व्यवस्थापन गरियो । तर अहिलेसम्म प्राधिरणले अख्तियारी नपठाउँदा भूकम्प पीडितले अनुदान रकम पाउन सकेका छैनन् ।

कर्मचारीको तलब भत्ता समेत उपलब्ध नहुँदा समस्या भएको छ । ‘काम दिइयो, कर्मचारी पनि थप गरियो तर बजेट दिइएन, अख्यियारी दिइएन,’ जिल्ला आयोजना कार्यान्वयन इकाई भवन तथा आवासका प्रमुख ई.बुद्धिराम चौधरीले भन्नुभयो, ‘भुकम्प पीडितले किस्ता रकम पाएका छैनन्, कर्मचारीले तलब पनि रोकिएको छ ।’

अहिले उक्त कार्यालय मातहत कार्यालय प्रमुख र लेखापालबाहेक करारतर्फ १० जना इन्जिनियर रहेको उहाँले बताउनुभयो । सात जना फिल्डमा छन् भने ३ जना कार्यालयमा रहेको उहाँले जानकारी दिनुभयो । यसैगरी १२ जना सवओभरसियर र आठ जना ओभरसियर कार्यरत छन् । सोमध्ये कसैले पनि तलब नपाएको कार्यालयले जनाएको छ ।्

भूकम्प गएको ६ वर्ष बितिसक्दा पनि पुनरनिर्माणको काम सकिएको छैन । झन अहिले घर बनाएका भूकम्प पीडितले समेत अनुदान नपाएपछि निराश भएका छन् । भूकम्पको केन्द्रबिन्दु गोरखामा कुल ७२ हजार ८४५ पुर्ण लाभग्राही कायम गरिएका थिए । तीमध्ये ७० हजार १४० जनाले पहिलो किस्ता बुझेका छन् ।

६६ हजार ८४७ दोस्रो किस्ता बुझ्दा ६४ हजार ४१३ जनाले मात्र तेस्रो किस्ता पाएका छन् । जिल्लामा २ हजार ७०५ जनाले सम्झौता गरेर पनि अनुदान नबुझेको जिल्ला आयोजना कार्यान्वयन इकाई भवनका इन्जिनियर सञ्जय नायकले जानकारी दिनुभयो ।

अहिलेसम्म पहिलो किस्ता बुझेर दोस्रो किस्ता नलिनेको संख्या ३ हजार २९३ रहेको छ । यसैगरी दोस्रो किस्ता लिएकामध्ये २ हजार ४३४ लाभग्राहीले तेस्रो किस्ता बुझेका छैनन् । प्रवलीकरणको सूचीमा परेकामध्ये ३ हजार ४२७ जना पूर्ण लाभाग्राहीमा परिणत भएका छन् । बाँकी २ हजार ३९४ मध्ये प्रवलीकरण लाभग्राहीले घर मर्मत गरेका छैनन् ।

प्रवलीकरण शीर्षकमा परेकामध्ये अहिलेसम्म ५१ जनाले मात्र पहिलो किस्ता लिएका छन् । तीमध्ये ३७ जनाले मात्र प्रवलीकरण सम्पन्न गरेर दोस्रो किस्ता लिएको नायकले बताउनुभयो । प्रवलीकरणको सूचीमा रहेका २ हजार ३५७ जनाले अहिलेसम्म उक्त अनुदान नपाएको उहाँको भनाई छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?