logo
२०८१ बैशाख १५ शनिवार



बलेवामा प्याराग्लाइडिङको पूर्वाधार तयार, उडान अनिश्चित

खुला |
प्रदेश |


बलेवामा प्याराग्लाइडिङको पूर्वाधार तयार, उडान अनिश्चित


नवीन शिशिर विक
बागलुङ, मंसिर २२ गते । गण्डकी प्रदेश सरकारले प्याराग्लाइडिङको वैकल्पिक गन्तव्यको रुपमा विकास गर्ने लक्ष्यकासाथ बागलुङको बलेवामा प्याराग्लाइडिङ संरचना तयार भएको छ । तर उडान गर्ने कार्यक्रम अझै अनिश्चितझैं छ ।

संरचना तयार भएको एक बर्षसम्म पनि प्याराग्लाइडिङ हुनसकेको छैन । गण्डकी प्रदेश सरकारले गत बर्ष २२ लाख रुपियाँ लागतमा बागलुङ नगरपालिका– १४ मा प्याराग्लाइडिङका लागि मैदान, भवन, शौचालयजस्ता संरचना तयार गरेको उपभोक्ता समितिका सचिव भरत पौडेलले जानकारी दिनुभयो ।

पूर्वाधार प्रयोगविहीन अवस्थामा छन् । स्थानीय तह तथा प्रदेश सरकारले संरचनाको जिम्मेवारी नलिँदा समस्या भएको सचिव पौडेलले बताउनुभयो । पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि त्यहाँ सञ्चालित प्याराग्लाइडिङ बलेवामा सञ्चालन गर्ने प्रदेश सरकारले लक्ष्य राखेको थियो ।

पोखरामा विमानस्थल सञ्चालनमा आउने र प्याराग्लाइडिङ विस्थापन हुने वा नहुने विषय विचाराधीन हुँदा तत्काल व्यावसायिक उडानको सम्भावना नभएको बागलुङ नगरपालिकाका मेयर जनकराज पौडेलले बताउनुभयो । भौतिक संरचना निजी कम्पनीले अनुमति लिएर उडान सुरु गर्न चाहेमा काम गर्नसक्ने उहाँले बताउनुभयो ।

बलेवामा प्याराग्लाइडिङको परीक्षण उडान सफल भएपछि व्यावसायिक उडानका लागि संरचना तयार गरिएको छ । बलेवामा निर्माण गरिएको संरचना एक हजार ८५४ मिटरको उचाइमा छ । धौलागिरि हिमालको काख, कालीगण्डकीले बनाएका खोँचको विचरण, बागलुङ, पर्वत र म्याग्दी जिल्ला सदरमुकाम माथि प्याराग्लाइडिङ सयर गर्न सकिने र साहसिक पर्यटनका लागि पूर्वाधार बलेवा क्षेत्रमा तयार गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?