logo
२०८१ बैशाख १४ शुक्रवार



खोप लगाउनेहरुबाटै कोभिड सङ्क्रमणको डर

खुला |
प्रदेश |


खोप लगाउनेहरुबाटै कोभिड सङ्क्रमणको डर


जनार्जन खत्री
सर्लाही, मङ्सिर २१ गते । कोरोना भाइरसविरुद्धको खोप लगाइने यहाँका खोप केन्द्र अर्थात् स्वास्थ्य संस्थाहरुमा भीडभाड भएपछि त्यहीँबाटै कोभिड सङ्क्रमण हुने डर स्थानीयमा पलाएको छ ।

खोप लगाउन खोप केन्द्रसम्म पुगेकाहरु ठेलमठेल गरी भीडमा बस्नुपरेकाले संक्रमणको भय भएको उहाँहरुको भनाई छ । लाइन बस्दा अधिकांशले मास्क समेत नलगाउने गरेको उहाँहरुको प्रतिक्रिया छ । मास्क लगाएका एक दुई जनाले पनि नाक, मुख नछोपी चिउँडोमा मास्क लगाउने गरेको लाइनमा भएकाहरुको गुनासो छ ।

लालबन्दी नगरपालिका ४ हरिभवनका स्थानीय शेखर खड्काले खोप केन्द्रमा स्वास्थ्य मापदण्डको पालना हुन नसकेको बताउनुभयो । “कोरोना नलागोस् भनेर खोप लगाउन आउँछौं, तर यहाँ त उल्टै कोभिड संक्रमण हुने खतरा छ ।” खड्काले गोरखापत्रसँग भन्नुभयो, “यसरी त झन सङ्क्रमण हुने डर पो भयो ।” भीडभाडलाई खोप लगाउन जाने र खोप लगाउने स्वास्थ्य संस्था दुवैले बेवास्ता गरिरहेका उहाँको भनाई छ ।

सर्लाहीमा अहिले भेरोसेल खोपको पहिलो मात्रा लगाउनेक्रम शुरु भएको छ । यहाँका प्राथमिक स्वास्थ्य केन्द्र र प्रत्येक स्वास्थ्य चौकीलाई खोप केन्द्र बनाइएको छ । लालबन्दी नगरपालिकाको स्वास्थ्य शाखाका सह–संयोजक सुरेन्द्र खतिवडाले मानिसको व्यवहार परिवर्तन गराउनै गाह्रो परिरहेको बताउनुभयो ।

“हामीले त हाम्रोतर्फबाट भीड कम गर्ने प्रयास गरेकै हो, तर मानिसको व्यवहार परिवर्तन गराउन गाह्रो भइरहेको छ,” खतिवडाले भन्नुभयो, “मास्क लगाएर आइदिनुस्, भीडभाड नर्गनुस् भन्दा उहाँहरु नै मान्नुहुन्न ।”
स्वास्थ्य शाखाका सह–संयोजक खतिवडाले खोप लगाउन आउँदाबाहेक पनि अधिकांशले बाहिर हिँड्दा मास्क लगाउन छाडेका बताउनुभयो । बारम्बार सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दा पनि मास्कको प्रयोग गर्ने प्रवृत्ति विकास गर्न नसकिएको खतिवडाको भनाई छ ।

जिल्ला स्वास्थ्य कार्यालय सर्लाहीका खोप अधिकृत रामदुलार यादवले स्थानीय पालिकालाई खोप केन्द्रहरुमा जनस्वास्थ्य मापदण्ड पालना गराउन पटक–पटक पत्राचार गरिएको बताउनुभयो । “यी विषय पालिकाहरुकै जिम्मामा हुन्छन्, हामीले त्यही पनि पत्राचार गरेर स्मरण गराएकै छौँ,” खोप अधिकृत यादवले भन्नुभयो, “कोरोना सङ्क्रमण नहोस् भनेर खोप लगाउन जाने सर्वसाधारण पनि यसमा सचेत हुनुपर्छ ।”

खोप अधिकृत यादवकाअनुसार जिल्लाका २० वटै पालिकामा भेरोसेल खोपको ९० हजार डोज पठाइएको छ । सबैतिर धमाधम खोप लगाउनेक्रम चलिरहेकाले विवरण प्राप्त हुन बाँकी रहेको उहाँले जानकारी दिनुभयो । मङ्सिर ८ गतेसम्मको विवरणअनुसार सर्लाहीमा दुई लाख ४१ हजार १४२ जनाले पूर्णमात्रा खोप लगाइसकेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?