logo
२०८१ बैशाख १४ शुक्रवार



दुबई उड्ने भनी काठमाडौं हिँडेका सुनार १६ दिनदेखि बेपत्ता

खुला |
प्रदेश |


दुबई उड्ने भनी काठमाडौं हिँडेका सुनार १६ दिनदेखि बेपत्ता


जानु पाण्डे
कपिलवस्तु, मङ्सिर २१ गते । कपिलवस्तुको बुद्धभूमि नगरपालिका ९ इमिलियाका ३८ वर्षीय गोविन्द सुनार १६ दिनदेखि बेपत्ता हुनुभएको छ । मङ्सिर ५ गते भ्रमण भिसामा दुबई जाने भन्दै घरबाट पैसा मगाएका सुनार बेपत्ता हुनुभएको उहाँको पत्नी गीता सुनारले बताउनुभयो ।

श्रीमती सुनारका अनुसार छ वर्षदेखि मलेसिया र कुवेत बस्दै आउनुभएका सुनार दुबई जाने भन्दै गत कात्तिक ३१ गते घरदेखि काठमाडौँ जानुभएको थियो । मङ्सिर ५ गते बिहान ११ बजे फोन गर्दै आजै उडान हुने जानकारी गराउनुभएको उहाँले बताउनुभयो ।

पिसीआर चेक गर्न लाइनमा बसेको जानकारी गराउँदै पैसा पठाउन पत्नीसँग आग्रह गर्नुभएको थियो । श्रीमती सुनारले डेढ लाख रुपियाँ गोविन्दलाई रेमिट गरेको बताउनुभयो । मासिक ५ प्रतिशत ब्याजदरमा ऋण खोजेर पैसा पठाएको उहाँले बताउनुभयो ।

गोविन्दले पशुपति सबमनि ट्रान्सफर ओम शान्तिचोक काठमाडाैंबाट २ बजेर १३ मिनेट जाँदा रकम निकालेको उहाँले बताउनुभयो । पछि सम्पर्क गर्न खोज्दा उहाँको मोबाइल स्वीचअफ देखिएको थियो । चिनजानका आफन्त सबैतिर सम्पर्क गर्दा सम्पर्क हुन नसकेपछि मंसिर ९ गते इलाका प्रहरी कार्यालय गोरुसिङ्गेमा खोजतलास गर्न जाहेरी दिएको गोविन्दको दिदी जालमाया सुनारले बताउनुभयो ।

दुबई आउने भन्दै गोविन्दले दाजु नाता पर्ने कृष्ण वि.क.लाई एयरपोर्ट लिन आउन आग्रह गर्नुभएको उहाँको श्रीमती सुनारको भनाई छ । कृष्णले अफिस बिदा लिई एयरपोर्टमा कुरेर बसे पनि गोविन्द नआएपछि कृष्ण फर्केको जानकारी आएको जालमायाले बताउनुभयो । सामान्य परिवारका गोविन्द बेपत्ता भएपछि परिवारमा चिन्ता बढेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?