logo
२०८१ बैशाख १५ शनिवार



नेपाली काँग्रेस प्रदेश २ को अधिवेशन स्थगित

खुला |
प्रदेश |


नेपाली काँग्रेस प्रदेश २ को अधिवेशन स्थगित


विजयकुमार साह
ढल्केवर, मङ्सिर २० गते । नेपाली काँग्रेस प्रदेश २ को अधिवेशन तत्कालका लागि स्थागित गरिएको छ । सोमबार प्रदेश २ का निर्वाचन समितिका संयोजक रमेश रिजालले अधिवेशन तत्कालका लागि स्थागित भएको जानकारी दिनुभयो ।

पार्टीको केन्द्रीय सदस्यसमेत रहनुभएका रिजालले धनुषाबाहेक केही जिल्लाबाट मतदाता नामावली नआएका कारण हाललाई अधिवेशन रोकिएको भन्नुभयो । काँग्रेसको १४ औं महाधिवेशनपछि मात्र प्रदेश अधिवेशन हुने उहाँले बताउनुभयो ।

प्रदेशका आठ जिल्लाका ३२ प्रदेश सभा निर्वाचन क्षेत्रमध्ये हालसम्म सात वटा निर्वाचन क्षेत्रमा अधिवेशन हुनसकेको छैन । सर्लाहीका चार निर्वाचन क्षेत्र, बाराका प्रदेश निर्वाचन क्षेत्र २ (ख), सप्तरीको निर्वाचन क्षेत्र नम्बर ४, र रौतहटको निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधि छनोट हुन बाँकी छ ।

त्यस्तै, महोत्तरी क्षेत्र नम्बर– ३ को सम्पूर्ण परिणाम रद्द गरी पुनः निर्वाचन गर्न केन्द्रीय निर्वाचन समितिले निर्देशन दिइसकेको छ । रौतहटको सबै निर्वाचन सम्पन्न भइसक्दासमेत नामावली आउन बाँकी छ । यसैगरी धनुषाको कमला नगरपालिका– ६ को वडा अधिवेशन हुन बाँकी छ ।

जनकपुरधाममा रामजानकी विवाह महोत्सव प्रारम्भ भइसकेको र मूल समारोह मङ्सिर २२ गते रहेकाले अब मतदान प्रक्रियामा गाह्रो हुनेहुँदा मतदानको प्रक्रिया महाधिवेशनपछि धकेलिएको निर्वाचन समिति संयोजक रिजालले बताउनुभयो ।

प्रदेश सभापतिका लागि प्रदेश २ काँग्रेसका संसदीय दलका नेता तथा प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायातमन्त्री रामसरोज यादव स्वतन्त्र उम्मेदवारी घोषणा गर्नुभएको छ । रौतहटका कृष्ण यादव काँंग्रेस सभापति शेरबहादुर देउवाको प्यानलबाट सभापतिमा उम्मेदवारी घोषणा गर्नुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?