logo
२०८१ जेष्ठ ६ आईतवार



लमजुङमा सामाजिक विकास कार्यालय स्थापना

खुला |
प्रदेश |


लमजुङमा सामाजिक विकास कार्यालय स्थापना
सामाजिक विकास कार्यालय लमजुङ । तस्बिरः बेलिना थापा



बेलिना थापा
लमजुङ, मङ्सिर ९ गते । लमजुङमा सामाजिक विकास कार्यालय स्थापना भएको छ ।गण्डकी प्रदेशको शिक्षा, संस्कृति, विज्ञान, प्रविधि तथा सामाजिक विकास मन्त्रालय अन्तर्गत सामाजिक विकास कार्यालय स्थापना भएको हो । प्रदेशका ११ वटै जिल्लामा कार्यालय स्थापना गर्ने क्रममा लमजुङमा पनि कार्यालय स्थापना भएको हो । असोज १२ गतेबाट कार्यालय सञ्चालनमा आएको छ । कार्यालयले दैनिक प्रशासकीय काम र अन्य काम गर्दै आएको छ ।

शिक्षा विकास तथा समन्वय इकाई लमजुङको भवनको दुई कोठामा कार्यालय सञ्चालनमा रहेको छ । कार्यालयका प्रमुख दिनेश पौडेलका अनुसार कार्यालयले महिला, बालबालिका, जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिको सशक्तिकरण र सचेतना सम्बन्धी काम र विकास निर्माणको काम गर्दै आएको छ । जिल्लाका सरोकारवालासँग छलफल, अन्तरक्रिया, बहस र बैठक गरेर काम अघि बढाएको जनाएको छ । महिला, बालबालिका, अपांगता भएका व्यक्ति, जेष्ठ नागरिकमाथि हुने हिंसाको अन्त्य गर्ने, उनीहरुलाई सचेतीकरण गर्ने उद्देश्यका साथ कार्यालयले काम गरेको छ ।

यस्तै, विकास निर्माणतर्फ ऐतिहासिक, धार्मिक महत्व बोकेका स्थानको निर्माण, संरक्षण र सम्वद्र्धनको काम गर्ने प्रमुख पौडेलले बताउनुभयो । विभिन्न योजना हेरेर लागत स्टेमेट गर्ने काम भएको र उपभोक्ता समितिमार्फत् योजना सम्झौता भएर काम अघि बढेको सामाजिक विकास कार्यालका प्रमुख दिनेश पौडेलले बताउनुभयो ।

सामाजिक विकास कार्यालयमा नौ जनाको दरबन्दी छ । हाल स्थायी कर्मचारी भने एक जना कार्यालय प्रमुख मात्र छ । अन्य कर्मचारीमा करारका दुई जना कार्यालय सहयोगी छन् । पूर्वाधार विकास कार्यालयका एकजना ओभरसियर र जिल्ला आर्युवेद स्वास्थ्य केन्द्रका लेखापालले काममा सहजीकरण गर्दै आएको छ ।

कार्यालयमा कार्यालय प्रमुख एक जना, प्रशासन तथा अनुगमन शाखामा सहायक अधिकृत एक जना र सिभिल इन्जिनियर एक जना, आर्थिक प्रशासन शाखामा एक जना, शिक्षा शाखामा एक जना, सामाजिक शाखामा एक जना, सवारी चालक एक जना र श्रेणीविहीन कार्यालय सहयोगी दुई जनाको दरबन्दी छ । कार्यालयमा दरबन्दी अनुसारको कर्मचारी नहुँदा कामकाजमा समस्या भएको प्रमुख पौडेलको भनाइ छ ।

सामाजिक विकास कार्यालयले सडक मानवको आश्रयका लागि मानव सेवा आश्रम निर्माण, जातजातिको भवन निर्माण, आमा समूह भवन निर्माण, विद्यालय कम्पाण्डिङ सहयोग, बाल सञ्जाल गठन गरी परिचालनलगायतको काम गर्ने जनाएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?