logo
२०८१ बैशाख २१ शुक्रवार



नेपाल–भारत साहित्य उत्सव चितवनमा शुरु

खुला |
प्रदेश |


नेपाल–भारत साहित्य उत्सव चितवनमा शुरु


वसन्त पराजुली
भरतपुर कात्तिक २७ गते । चितवनको सौराहामा शनिवारदेखि ‘नेपाल–भारत साहित्य उत्सव’ शुरु भएको छ । कार्यक्रममा नेपाल र भारतका सयभन्दा बढी नेपाली भाषा लेख्ने लेखकहरुको सहभगिता छ ।

साहित्योत्सवको उद्घाटन गर्दै नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले विश्वको जुनकुनै ठाउँमा रहेका भएपनि नेपाली भाषा र संस्कृतिको आफ्नै पन र पहिचान भएको बताउनुभयो ।

“नेपाली पन र पहिचान बोकेका नेपाली भाषी विश्वभर नै छन्, तर जहाँ भए पनि हाम्रो आफ्नोपन र पहिचान समान छन्”, उहाँले भन्नुभयो । विशेषतः नेपाली भाषाको विकास र श्रीवृद्धिमा छिमेकी देश भारतमा रहेका नेपाली भाषीहरुको भूमिका उल्लेखनीय रहेको उहाँले चर्चा गर्नुभयो ।

नेपाल र भारत दुई देशवीचको राजनैतिक सिमानाका कारण प्रकाशित पुस्तक आयात निर्यातमा समस्या भएको उल्लेख गर्दै उहाँले समाधान दुई देशको सरकारी तहबाटै हुनुपर्ने बताउनुभयो ।

“प्रविधिको विकास भैसकेको अहिलेको जमानामा पुस्तकहरु एक देशवाट अक्रो देशमा आदान प्रदान गर्ने भनेकै अनलाईन प्रविधिवाट हो । प्रज्ञा प्रतिष्ठाले नेपाली कितावलाई अनलाइनमै राखेर विक्री गर्ने ब्यवस्था मिलाएको बताउनुभयो । प्रतिष्ठानले आइतवार एक कार्यक्रमवीच अनलाईन बुकको सेवा उद्घाटन गर्नुभयो ।

भाषाविद् एवं कवि मुकुन्दशरण उपाध्यायले भूगोल जहाँ भए पनि भाषा एउटै हुनुपर्नेमा जोड दिनुभयो ।
समिक्षक तथा लेखक महेश पौडेलले नेपाल र भारतको साहित्य साझा भएकाले क्षेत्रगत पहिचान, सास्कृतिक संक्रमण र हिमाली दर्शन र पहिचानमा साझा मुद्दा हुनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा कवि तथा साहित्यकार मुकुन्दशरण उपाध्याय, कथाकार एवं नियात्राकार इल्या भट्टराई, भारतका नेपालीभाषी कवि मनप्रसाद सुब्बा, साहित्यकार श्रवण मुकारुङ, आख्यानकार श्याम शाह, कथाकार गायत्री अधिकारी, शान्ति शर्मा, युवा सर्जक निर्दोष जीवन र समालोचक तथा निबन्धकार डी.आर. शर्मालाई विभिन्न विधावाट सम्मान गरिएको थियो ।
सो अवसरमा समाजले आयोजना गरेको राष्ट्रिय निबन्ध प्रतियोगिता २०७८ का विजेतलाई पनि पुरस्कृत गरेको छ । कविडाँडा साहित्य समाज चितवनको १९ औँ वार्षिकोत्सवका अवसरमा आयोजित सो साहित्योत्सव दुई दिनसम्म चल्नेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?