logo
२०८१ बैशाख १४ शुक्रवार



जनगणनाका लागि कञ्चनपुरमा गणक खटाइँदै

खुला |


जनगणनाका लागि कञ्चनपुरमा गणक खटाइँदै


कञ्चनपुर, कात्तिक १७ गते । राष्ट्रिय जनगणनाका लागि कञ्चनपुरमा गणक खटाउने तयारी अन्तिम चरणमा पुगेको छ । जिल्ला जनगणना कार्यालय कञ्चनपुरका प्रमुख गोविन्दप्रसाद न्यौपानेका अनुसार गणकलाई चारदिने तालिम प्रदान गरी खटाउने तयारी गरिएको छ । जनगणनाका लागि खटिने गणकलाई आवश्यकपर्ने सबै विषय वस्तुबारे तालिमका क्रममा सिकाइएको कार्यालय प्रमुख न्यौपानेले बताउनुभयो । “गणकका लागि कात्तिक १३ गते देखि १६ गतेसम्म तालिम दिएका छौं”, उहाँले भन्नुभयो, “तालिम पश्चात निर्धारित समयभित्रै जनगणनाको कार्य हुने छ ।”

जनगणनाको कार्यलाई प्रभावकारी रुपमा सञ्चालन गरी सम्पन्न गर्नका लागि नौ स्थानीय तहलाई मध्यनजर गर्दै शुक्लाफाँटा, बेलौरी, पुर्नवास, भीमदत्त र दोधारा चाँदनी नगरपालिकामा अस्थायी कार्यालय समेत सञ्चालन गरिएको छ । भीमदत्त नगरपालिकामा रहेको कार्यालयले बेदकोट नगरपालिकासम्म हेर्ने गरी, शुक्लाफाँटामा रहेको कार्यालयले कृष्णपुर नगरपालिकासम्म हेर्ने गरी, बेलौरी नगरपालिकाले लाझाडी गाउँपालिका र बेलडाँडी गाउँपालिकालाई हेर्ने गरी कार्यालय स्थापना गरिएका छन् ।

जनगणनाका लागि खोलिएका कार्यालयमै सेन्टर राखेर गणकलाई तालिमको व्यवस्था गरिएको छ । कात्तिक २५ गतेदेखि मङ्सिर ९ गतेसम्म हुने जनगणनाको कार्यका लागि कञ्चनपुरमा ४७७ गणक र ११७ सुपरिवेक्षकलाई खटाउने तयारी भइरहेको छ ।

पहिलो चरणमा घरधुरीको सङ्ख्या, महिला पुरुष र अन्यको सङ्ख्या, वित्तीय पहुँचको अवस्था, कृषिबारे समान्य विवरण सङ्कलन गर्ने र घर नम्बर राख्ने कार्य पूरा गरिएको छ । “पहिलो पटक बस्ने घर र खाली घरको गणना गर्ने समेत हुँदैछ”, कार्यालय प्रमुख न्यौपानेले भन्नुभयो, “पछिल्ला जनगणनामा घर गणनाको कार्यलाई समेटिएको थिएन । यस पटक घर गणनालाई समेत समावेश गरिएको छ ।” जन्मदार्ताको अवस्थाका बारे समेत जनगणनामा समावेश गरिएको उहाँले बताउनुभयो ।

गणकहरुले विस्तृत विवरणसहित जाति, धर्म, संस्कृति, शैक्षिक योग्यता र आर्थिक गतिविधिका बारेमा समेत प्रश्न सोध्ने र विवरण राख्ने कार्य गर्ने बताइएको छ । “जनगणनामा कोही पनि नछुटुन् भनेर सावधानीपूर्वक कार्य अगाडि बढाउने योजना अघि सारेका छौं”, उहाँले भन्नुभयो, “सुरक्षा निकाय र कैदीबन्दीको समेत गणना गर्छौ ।”

केन्द्रीय तथ्याङ्क विभागले हरेक दश वर्षमा राष्ट्रिय जनगणनाको कार्य गर्दै आएको छ । विसं १९६८ देखि जनगणनाको कार्य प्रत्येक दश वर्षमा हुँदै आएको छ । यस वर्षको जनगणनाको ‘नारा मेरो गणना, मेरो सहभागिता छ । जनगणनाका लागि घर घरमा गएर गणनाको कार्य गर्नका लागि देशभरिमा करिब ३९ हजार गणक र ८ हजार सुपरिवेक्षक खटाइने बताइएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?