logo
२०८१ बैशाख १४ शुक्रवार



समय अगावै सयपत्री फुल्दा फूल किसान मर्कामा

खुला |
प्रदेश |


समय अगावै सयपत्री फुल्दा फूल किसान मर्कामा


अमरराज नहर्की
तनहुँ, कात्तिक ७ गते । समयभन्दा अघि सयपत्री फूल फक्रिएपछि तनहुँका कृषकहरु मर्कामा परेका छन् । तिहारका लागि लक्षित गर्दै लगाइएको फूल दशैँदेखि नै फक्रिन थालेपछि हाल फूल ओइलाउन थालेका छन् । तिहारमा विक्री गर्न लगाइएका फूल तिहारअघि नै ओइलाउन थालेपछि कृषक चिन्तित बनेका छन् ।

आवश्यकताभन्दा बढी बर्षा र चिसो हुनुपर्ने मौसममा गर्मी कायमै रहेपछि फूल फक्रिएको कृषकले जानकारी गराएका छन् । व्यfवसायिक रुपमा फूलखेती गर्दै आउनुभएका भिमाद नगरपालिका– ८ अरौदीका गोविन्द अधिकारीले तिहारमा फुल्नुपर्ने फूल दशैँअघि फूलेपछि समस्या भएको बताउनुभयो ।
गतवर्ष परीक्षणका लागि थोरै जमिनमा सयपत्री फूल लगाए पनि अपेक्षाभन्दा राम्रो आम्दानी भएपछि यसवर्ष झण्डै पाँच रोपनी क्षेत्रफलमा कृषक अधिकारीले फूलखेती गरेको बताउनुभयो । खेतमा ढकमक्क फूल फुले पनि तिहारअघि ओइलाउन लाग्दा चिन्तामा पर्नुभएको हो ।

सयपत्री फूल विक्रीबाट राम्रो आम्दानी हुने भएपछि पछिल्ला बर्षमा कृषकहरु आकर्षित भएका छन् । कृषि ज्ञान केन्द्र तनहुँले जिल्लामा फूलखेती गर्नेहरुका लागि कुनै राहतका कार्यक्रम नभएको जनाएको छ । जिल्लामा व्यावसायिक फूलखेती गर्नेहरुको तथ्याङ्क नै नहुँदा फूलखेती गर्ने किसानलाई लाभान्वित गर्ने कार्यक्रमहरु नभएको कृषि प्रसार अधिकृत राजेश्वर सिलवालले बताउनुभयो ।

कृषि ज्ञान केन्द्रमार्फत किसानको मागअनुसार कार्यक्रम तय हुने भएकाले फुल खेतीतर्फ योजनाको माग नभएको उहाँले बताउनुभयो । सानो मात्रामा फूलखेती गरेर बजार खोज्नेहरु सम्पर्कमा आउने गरेको जानकारी दिदै सिलवालले समस्या लिएर भने ज्ञान केन्द्रमा अहिलेसम्म कोही नआएको बताउनुभयो ।

कोरोना भाइरसको असरले मेला महोत्सव तथा अन्य कार्यक्रमहरु नहुँदा फक्रिएका फूल विक्री गर्न समस्या भएको कृषकहरुको भनाइ छ । ‘‘कोरोनाको असर नभएको भए चाँडै फुले पनि सभा, सम्मेलनमा फूल खपत हुनेगर्थ्याे ।

कतिपयले रहरले खेति गर्ने र ज्ञानको अभावले गर्दा कृषकहरुलाई मर्का परेको फ्लोरिकल्चर एशोसियशन नेपालले जनाएको छ । एशोसियशनका अध्यक्ष मिनबहादुर तामाङले फूल खेती गर्ने किसानलाई एशोसियशनसँग सल्लाह लिएर मात्र खेती गर्न उपयुक्त हुने बताउनुभयो ।

एसोसियसनकाअनुसार देशभर ४३ जिल्लाका ७ सय बढी किसानले फुल खेतीलाई व्यवसायिक रुपमा अघि बढाएका छन् । करिव ३ अर्व रुपियाँको फुलको बार्षिक कारोबार हुनेगरेको अध्यक्ष तामाङले जानकारी दिनुभयो । नेपाली बजारको मागलाई ८५ प्रतिशत स्वदेशी उत्पादनले धान्नेगरेको उहाँको भनाई छ । हरेक बर्ष तिहारमा तीन दिन १० देखि ११ करोड बराबरको सयपत्रीको कारोबार हुनेगरेको एशोसियसनले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?