logo
२०८१ बैशाख १५ शनिवार



विदेशमा रगत पसिना बगाएर फर्किएपछि स्वदेशमै सुन फलाउनेहरु

खुला |
प्रदेश |


विदेशमा रगत पसिना बगाएर फर्किएपछि स्वदेशमै सुन फलाउनेहरु



सिराज खान
नेपालगञ्ज, कात्तिक १ गते । पछिल्लो समयमा विदेशमा बसेर फर्केका बाँके बर्दियाका युवाले स्वदेशमा लगानी गरी लोभलाग्दो आम्दानी र स्थानीयस्तरमा रोजगारीसमेत सिर्जना गरिरहेका छन् ।
पाँच वर्षसम्म बहराइनमा बसेर रगत पसिना बगाई स्वदेश फर्किएपछि बाँकेको डुडुवा गाउँपालिका–५ का विरेन्द्र खड्काले शुरु गरेको गाई भैंसी पालनले अहिले उहाँलाई सन्तुष्ट बनाएको छ ।
खड्काले दुईवटा भैंसीबाट सुरु गरेको जय माधुरी कृषि फार्म प्रालिमा हाल साना ठूला गरी २० वटा गाई र भैंसी रहेका छन् । घरनजिकै व्यावसायिक रूपमा भैंसी पालन गरिरहनुभएका उहाँले मासिक एक लाख रुपियाँसम्मको दूध विक्री गर्दै आउनुभएको छ ।
विदेशमा पाएको दुःख सम्झिँदा अहिले गरेको काममा राम्रो आम्दानी र निकै सन्तुष्टि मिलेको खड्काले बताउनुभयो ।
‘विदेश बस्दा धेरै दुःख पाएँ, परिवारको चिन्ता अर्कोतिर थियो,’ उहाँले भन्नुभयो, ‘अहिले म निकै खुसी छु । दुई जनालाई आफ्नो फार्ममा रोजगारी दिन सकेको छु ।’ घरमै फार्म खोलेर मासिक एक लाख रुपियाँसम्मको दूध विक्री गरेर राम्रो बचत गर्न सफल भएको उहाँको भनाइ छ ।
हाल उहाँले विदेश जान चाहने युवालाई स्वदेशमै मिहिनेत गरेर विदेशभन्दा बढी आम्दानी गर्न सकिने कुरा सम्झाउँदै आउनुभएको छ ।
खड्का जस्तै पाँच वर्षसम्म दक्षिण कोरिया बसेर फर्कनुभएका बर्दियाका कमल वलीले बाँकेको गनापुरमा व्यावसायिक रूपमा कडकनाथ जातका कुखुराका साथै एकीकृत कृषि फार्म सञ्चालन गर्नु भएको छ ।
१० कट्ठा जमिन भाडामा लिएर वलीले कडकनाथ कुखुरा, लोकल कुखुरा र बाख्रापालन गरिरहेको उहाँले बताउनुभयो । ६० लाख रुपियाँ लगानीमा फार्म सञ्चालन गर्नुभएको उहाँले अहिलेसम्म सरकारी अनुदान नपाएको बताउनुभयो ।
विदेशबाट फर्केको १५ दिनमै व्यवसाय सुरु गर्नुभएका वलीले हाल सात जनालाई रोजगारी दिइरहेको सुनाउनुभयो । कोरियाको जस्तै मासिक तीन लाख रुपियाँसम्म आम्दानी भइरहेको उहाँको भनाइ छ ।
कोरिया बस्दा श्रमलाई इज्जत गर्न सिकेको बताउने उहाँले त्यहाँ गर्ने दुःखको ५० प्रतिशत मात्रै मिहिनेत स्वदेशमा गरे राम्रो आम्दानी गर्न सकिने अनुभव भएको बताउनुभयो ।
‘विदेशमा धेरै दुःख पाइन्छ, अरुको गाली खानुपर्छ,’ उहाँले भन्नुभयो, ‘त्यहाँ गर्ने मिहिनेतको आधा मात्रै परिश्रम यहाँ गर्ने हो भने यहीं प्रशस्त सम्भावना छ ।’ हाल उहाँले उत्पादन गरेका कडकनाथ जातका कुखुराको चल्लाको अत्याधिक माग बढेपछि आपूर्ति गर्न भ्याइनभ्याइ छ ।
यस्तै, स्नातक तहको पढाइ बीचमै छाडेर तीन वर्ष साउदी अरबमा बिताएर फर्किनुभएका बाँकेको कोहलपुर–१४ का २७ वर्षीय दिनेश थापाले अहिले गाउँमै होमस्टे व्यवसाय सञ्चालन गरेर बस्नुभएको छ ।
‘मरुभूमिमा हरियो तरकारी फलेको देखेँ,’ उहाँले भन्नुभयो, ‘बालुवामा हरियो देखेपछि नेपालमा माटोमै केही गर्नुपर्छ भन्ने लाग्यो ।’ त्यसैले मुलुकमै व्यवसाय गर्ने सोचका साथ आफ्नै भूमिमा फर्किएको उहाँले बताउनुभयो ।
स्वदेश फर्किएपछि थापाले अर्गानिक होमस्टे सञ्चालन गर्ने निर्णय गरेर अगाडि बढ्नुभयो । अहिले उहाँको अर्गानिक होमस्टे सम्पूर्ण समुदाय र विभिन्न परिकारको साझा थलो समेत बनेको छ ।
त्यहाँ अर्गानिक वस्तुदेखि तराईमा पाइने परिकार र थारू तथा अन्य समुदायका विशेष परिकार पाइने हुँदा होमस्टेमा आउनेहरु दिनप्रतिदिन बढ्दै गएका छन् ।
होमस्टेमा आउनेहरु बढ्न थालेपछि आम्दानी पनि राम्रै गरि बढिरहेको थापाले बताउनुभयो ।
विदेशबाट फर्किएर आफ्नै गाउँमा होमस्टे र बाख्रापालनमा लाग्नुभएका थापा ।
तस्विर ः सिराज खान । नेपालगञ्ज

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?