logo
२०८१ जेष्ठ ६ आईतवार



नेता लेखीसहित पचपन्न जना नेता कार्यकर्ता एमालेमा प्रवेश

खुला |


नेता लेखीसहित पचपन्न जना नेता कार्यकर्ता एमालेमा प्रवेश


गोरखापत्र अनलाइन
काठमाडौं, असोज १७ गते । नेकपा (एमाले) मा थारु नेता राजकुमार लेखीसहित ५५ जना नेता तथा कार्यकर्ताहरु प्रवेश गरेका छन् । सो अवसरमा काँग्रेस, जसपा, लोसपा तथा नेत्रविक्रम चन्द नेतृत्वको नेकपा (माओवादी) पार्टी परित्याग गरी कार्यकर्ताहरु एमाले प्रवेश गर्नुभएको एमाले प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिनुभयो ।

ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा उहाँहरु एमालेमा प्रवेश गर्नुभएको हो । विधान महाधिवेशनको अन्तिम दिन आज आइतबार सो समूह एमाले प्रवेश गरेको र सबैलाई पार्टी नीतिअनुसार उपयुक्त जिम्मेवारी दिइने प्रवक्ता ज्ञवालीले बताउनुभयो । नेता लेखी यसअघि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मा रहनुभएको थियो । तीन दिनअघिमात्र उहाँले सो पार्टीबाट राजिनामा दिनुभएको थियो ।

नेता लेखीसहितका नेता तथा नवप्रवेशी कार्यकर्तालाई अध्यक्ष केपी शर्मा अ‍ोली, महासचिव ईश्वर पोखरेल, स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङलगायतले टीका लगाएर स्वागत गर्नुभएको थियो । सो अवसरमा विप्लब चन्द नेतृत्व दलको पोलिटव्यूरो सदस्य अमर धमला पनि एमालेमा प्रवेश गर्नुभएको एमालेले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?