logo
२०८१ बैशाख २० बिहीवार



बालिकाको बलात्कारपछि हत्या भएको भन्दै उजुरी

खुला |
प्रदेश |


बालिकाको बलात्कारपछि हत्या भएको भन्दै उजुरी



ज्ञानु पंगेनी
कावासोती, साउन २५ गते । पूर्वी नवलपरसीको विनयी त्रिवेणी गाउँपालिका–६, त्रिवेणीको एक होटलमा शंकास्पद अवस्थामा मृत भेटिएकी बालिकाको बलात्कारपछि हत्या भएको भन्दै पूर्वी नवलपरासी प्रहरीमा उजुरी परेको छ ।
पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाकी १७ वर्षीया मृतक बालिकालाई साउन २२ गते साँझ आरोपित बालकले पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–६, त्रिवेणीमा रहेको होटल शाही प्यालेसमा लगी बलात्कारपछि हत्या गरेको भन्दै मृतक बालिकाका बुबाले प्रहरीमा उजुरी दर्ता गराउनुभएको हो ।
आरोपित रामग्राम नगरपालिकाका १७ वर्षीय बालकले मृतक बालिकालाई त्रिवेणीमा रहेको होटल शाही प्यालेसमा लगेका थिए । आफ्नो परिवार भएको भन्दै कोठा भाडामा लिई बसेका बालकले होटलमा पुगेको केही समयमा नै मृतक बालिकामा स्वास्थ्य समस्या देखिएको भन्दै उपचारको लागि पश्चिम नवलपरासीको शहीद स्मृति सामुदायिक अस्पताल चौपत्ता लगिएकोमा अस्पतालले बालिकालाई मृत घोषणा गरेको थियो । बालिकाको मृत्युपछि आरोपित बालक फरार छन् ।
मृतक बालिकाका बुबाले पश्चिम नवलपरासी प्रहरीमा आरोपित बालकविरुद्ध उजुरी दर्ता गराउनुभएको थियो । बालिकाको मृत्यु भएको स्थान र उनको घर पश्चिम नवलपरासी जिल्लामा भएको कारण मृतक बालिकाका बुबाले जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीमा नै उजुरी दर्ता गराएकोमा घटना पूर्वी नवलपरासीमा भएको कारण प्रहरीले पूर्वी नवलपरासी प्रहरीमा सो घटनाको उजुरी पठाएको हो ।
प्रहरीले फरार आरोपितको खोजी कार्य गरिरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का डिएसपी दिलीपकुमार गिरीले बताउनुभयो । प्रहरीले घटनाको विषयमा यसअघि होटल सञ्चालक, फरार बालकले प्रयोग गरेको मोटरसाइकल धनी र फरार बालकका बुबालाई सोधपुछ गरेको गिरीले बताउनुभयो । घटनाको विषयमा अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।
उहाँ अनुसार मृतक बालिकाको रुपन्देहीको बुटवलमा रहेको लुम्बिनी प्रादेशिक अस्पतालमा साउन २४ गते पोष्टमार्टम भएको गरिएको छ । प्रहरी अनुसन्धान, पोष्टमार्टम रिपोर्ट आएपछि घटनाको कारणबारे थप जानकारी प्राप्त हुने उहाँले बताउनुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?