logo
२०८१ बैशाख १४ शुक्रवार



नेपाल भारत सीमामा तुइन तर्ने क्रममा एकजना महाकालीमा बेपत्ता

खुला |
प्रदेश |


नेपाल भारत सीमामा तुइन तर्ने क्रममा एकजना महाकालीमा बेपत्ता


लोकेन्द्र जोशी
दार्चुला, साउन १५ गते । दार्चुलाको व्यास गाउँपालिका–२ मालमा तुईन तर्ने क्रममा एक जना पुरुष महाकाली नदीमा बगेर बेपत्ता हुनुभएको छ । शुक्रबार विहान गाउँबाट भारतको बाटो हुदै तुईन तरेर दार्चुला सदरमुकाम आउन लागेका व्यास गाउँपालिका–२ का ३० वर्षीय जयसिह धामी महाकालीमा बेपत्ता हुनुभएको हो ।
स्थानीय जनक धामीका अनुसार, बेपत्ता भएका धामी तुईन तरेर भारतीय क्षेत्रमा पुगेका थिए । तुईनबाट तरेको भन्दै भारतीय एसएसबीले धम्क्याएर तुईन खोल्न लगाउँदा तुइनको तारले तानेपछि नदीमा हुत्तिएर बेपत्ता भएका हुन् ।
तुइन तरेर व्यासका केहि मानिस भारतीय बजार गएका थिए, नदीमा बगेका धामी तुइन तर्दा भारतीय प्रहरी एसएसबीले तुइन हटाएपछि तुइनको तारसंगै तानिएर महाकालीमा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एबं सूचना अधिकारी नरेन्द्र चन्दले बताउनुभयो । स्थानीय र प्रहरीले वेपत्ता धामीको खोजिकार्य गरिरहेका छन् । दुम्लिङ र सुन्सेराबाट प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
नेपाल तर्फ सडक नहुदाँ व्यास क्षेत्रका स्थानीयहरु दार्चुला सदरमुकाम खलंगा आवतजावत गर्नका लागि भारतको बाटो भएर महाकाली नदीमा तुईन तरेर आउनुपर्ने बाध्यता छ । महाकालीमा अबैध रुपमा राखिएका तुइनहरु बेलाबेला भारतीय प्रहरीले हटाउने गरेको छ । तुईनबाट खस्दा बेला बेला यस्ता घटना हुने गरेका छन् । महाकालीमा तुइनको प्रयोग गर्दै दैनिक सयौँ जनासम्म स्थानीयहरु जोखिमपूर्ण तरिकाले आवतजावत गर्ने गरेका छन् । विगतमा पनि भारतीय प्रहरीले तुइन हटाउने र धम्क्याउने जस्ता गतिविधि गरेपनि मानविय दुर्घटना भने तुइन हटाएका कारण पहिलो पटक भएको बताइएको छ । महाकालीमा पुल नहुदा तुइन तर्ने क्रममा धेरैले अकालमै ज्यान गुमाएका छन् ।
सरकारले तुईन मुक्त कार्यक्रम अन्र्तगत तुईन भएको ठाउँमा पुल बनाउने योजना सञ्चालन गरेको भएपनि पुल निर्माणको काम अलपत्र छ । तीन वर्ष पहिले पुलको ठेक्का भएपनि हालसम्म निर्माण सम्पन्न नहुदा स्थानीयले महाकालीमा ज्यानको बाजी लगाएर आवतजावत गर्नुपर्ने बाध्यता कायमै रहेको छ । कोरोनाको प्रभावका कारण समयमै पुल निर्माणको काम गर्न नसकिएको निर्माण व्यवसायी धनबहादुर कुवँरको प्रतिक्रिया छ । स्वदेशतर्फ उपयुक्त बाटो नहुनु र महाकालीमा पुल नहुदा खाद्यान्न, निर्माण सामाग्रीदेखि औषधी समेत ज्यानमारा तुइनबाटै गाउँसम्म पुर्याउने गरिएको व्यासका स्थानीय दिपक बडूले बताउनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?