logo
२०८१ बैशाख १४ शुक्रवार



काठमाडौँ महानगर विशेष अस्पतालको योजना

मुख्य समाचार |


काठमाडौँ महानगर विशेष अस्पतालको योजना


नगेन्द्र सापकोटा

काठमाडौँ, असार ४ गते । काठमाडौँ महानगरपालिकाले ज्येष्ठ नागरिकको उपचारका लागि विशिष्टीकृत अस्पताल बनाउने भएको छ । आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम बिहीबार सार्वजनिक गर्दै महानगरपालिकाले ज्येष्ठ नागरिकको उपचारका लागि एक सय शøयाको विशिष्टीकृत ‘काठमाडौँ महानगर विशेष अस्पताल’ निर्माण गर्ने जनाएको हो । अस्पतालको सञ्चालन तथा व्यवस्थापन स्वायत्त संरचना वा सहकार्यबाट गरिने महानगरपालिकाको नीति तथा कार्यक्रममा उल्लेख छ ।
महानगर प्रमुख विद्यासुन्दर शाक्यले सार्वजनिक गर्नुभएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा नेपाल सरकारको स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत महानगरवासीको बीमा शुुल्कको ५० प्रतिशत अनुदान दिने उल्लेख छ । विशेषज्ञ चिकित्सकद्वारा महानगरवासीको निःशुल्क स्वास्थ्य परीक्षण, निःशुल्क एम्बुलेन्स सेवा तथा स्वास्थ्य सेवा सहज र पहुँचयोग्य बनाउने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

विद्युतीय सवारीमा कर छुट
महानगरपालिकाले विद्युतीय सवारीसाधन प्रयोगलाई प्रोत्साहन गर्न सवारी करमा शतप्रतिशत छुट दिने भएको छ । नेपाल विद्युत् प्राधिकरणसँगको सहकार्यमा महानगरपालिका क्षेत्रमा चार्जिङ स्टेसन निर्माण गरी विद्युतीय सवारीसाधनलाई करमा छुट दिने नीति लिइएको छ ।
अन्य स्थानीय तहसँग समन्वय गरी काठमाडौँ उपत्यका भित्रिने नाकामा आधुनिक भेहिकल क्लिनिङ सेन्टर निर्माण गर्ने महानगरपालिकाले जनाएको छ । ४० माइक्रोनभन्दा पातला प्लास्टिक झोलाको प्रयोगलाई प्रतिस्थापन गर्न कपडा, जुट वा कागजको झोला उत्पादन, बिक्री वितरण र प्रयोगलाई प्रोत्साहन गरिने पनि महानगरले नीति बनाएको छ ।

सम्पदा संरक्षण प्राथमिकतामा
काठमाडौँ महानगरपालिकाको आफ्नो सांस्कृतिक पहिचानलाई जीवन्त राख्न महìवपूर्ण योगदान गर्दै आइरहेका गुठी, बाजा खलः, भजन खलः, जात्रा, परम्परागत नाचसँग सम्बन्धित सङ्घ, संस्थालाई आर्थिक सहयोग उपलब्ध गराइने, काष्ठमण्डप पुनर्निर्माण कार्य सम्पन्न गर्ने, हनुमानढोका दरबार क्षेत्रमा अवस्थित महादेव पार्वती मन्दिर तथा कुमारी घरको जीर्णोद्वार कार्य सुरु गर्ने, थापाथली पुलदेखि शङ्खमूलसम्मको नदी किनारलाई हरियाली तथा खुला क्षेत्रका रूपमा विकास गर्ने कार्यलाई आगामी आर्थिक वर्षमा पनि निरन्तरता दिने महानगरपालिकाले नीति
बनाएको छ ।

कोरोना प्रभावितलाई कर छुट
महानगरपालिकालाई बुझाउनुपर्ने कर, सेवा शुल्क तथा जरिवाना बैङ्किङ वा विद्युतीय प्रणालीबाट भुक्तानी गर्ने सेवाग्राहीलाई सहुलियत दिइने, कोभिड–१९ को महामारीबाट प्रभावित करदाता तथा सार्वजनिक निजी साझेदारीअन्तर्गत सञ्चालित कार्यक्रमलाई कर छुट दिने नीति महानगरपालिकाले बनाएको छ ।
त्यस्तै कोरोनाबाट प्रभावित होटल, पर्यटनलगायतका क्षेत्रलाई करमा छुट दिने महानगरपालिकाको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
महानगरपालिका क्षेत्रभित्र बहालमा बस्ने व्यक्तिको लगत र सम्झौता वडा कार्यालयमा पेस गरी घरधनीलाई घर बहाल रकममा १० प्रतिशत वा २५ हजार रुपियाँमध्ये जुन कम हुन्छ सोही रकम बराबर छुट दिइने भएको छ ।

मेलम्ची नपालाई दुई करोड
काठमाडौँ महानगरपालिकाले सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकालाई दुई करोड रुपियाँ सहयोग गर्ने भएको छ । बाढी र पहिरोले जनजीवन नै अस्तव्यस्त भएको मेलम्ची नगरपालिकालाई राहत र उद्धार गर्न महानगरपालिकाले दुई करोड रुपियाँ सहयोग गर्ने भएको हो । मेलम्ची नदीमा आएको बाढीले गरेको धनजनको क्षतिपछिको राहत तथा उद्धारका लागि सो रकम सहयोग गर्ने महानगर प्रमुख शाक्यले नगर सभामा बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?