logo
२०८१ बैशाख १४ शुक्रवार



महानगरद्वारा विभिन्न अस्पताललाई सहयोग

खुला |


महानगरद्वारा विभिन्न अस्पताललाई सहयोग


नगेन्द्र सापकोटा

काठमाडौँ, जेठ २३ गते । काठमाडौँ महानगरपालिकाले कोरोनाविरुद्ध सञ्चालित अस्पताललाई सहयोग विस्तार गर्दै लगेको छ । कोरोना रोकथाम र नियन्त्रणका लागि उपत्यकाका विभिन्न अस्पतालको स्वास्थ्य पूर्वाधार निर्माणमा आर्थिक र भौतिक सहयोग गरिरहेको हो ।
टोलटोलमा ससाना आइसोलेसन निर्माण गर्दा पर्याप्त स्वास्थ्य पूर्वाधार र चिकित्सा सेवा पु-याउन कठिन हुने र त्यसले बिरामीको ज्यान झनै जोखिममा पर्ने भएकाले महानगरपालिकाले विभिन्न अस्पतालको स्वास्थ्य पूर्वाधार निर्माणमा आर्थिक र भौतिक सहयोग गरिरहेको छ ।
महानगरले सरकारी र सामुदायिक अस्पतालका प्रमुख तथा प्रतिनिधिहरूसँग कोरोनाको सङ्क्रमणविरुद्ध लड्न आवश्यक स्वास्थ्य पूर्वाधारका बारेमा छलफल गरी अस्पतालको माग अनुसारका स्वास्थ्य पूर्वाधारका सामग्री अनुदानमा दिएको हो ।
कोरोनाको दोस्रो लहर समुदाय स्तरमै फैलिन थालेपछि महानगरपालिकाले तीन साताको बीचमा करिब एक दर्जन अस्पताललाई स्वास्थ्य पूर्वाधारका सामग्री प्रदान गरेको काठमाडौँ महानगरपालिकाले जनाएको छ ।
काठमाडौँ महानगरपालिकाले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताललाई १० थान भेन्टिलेटर, छत्रपाटी निःशुल्क चिकित्सालयलाई ३५ बेडको कोभिड विशेष अस्पताल सञ्चालन खर्च र तीनवटा भेन्टिलेटर, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताललाई १५ थान भेन्टिलेटर र ५० थान मनिटर, निजामती कर्मचारी अस्पताललाई कन्टिन्युअस पोजेटिभ एअर प्रेसर थेरापी मेसिन (सी प्याप) र बाइलेवल पोजेटिभ एअरवे प्रेसर मेसिन (बी–प्याप) १०/१० थान प्रदान गरेको छ ।
शहीद गङ्गालाल राष्ट्रिय हृदय रोग केन्द्रलाई पाँच थान भेन्टिलेटर, नेपाल कोरियामैत्री नगरपालिका अस्पताललाई तीन थान भेन्टिलेटर, महेन्द्रनारायण निधि मेमोरियल अस्पताल, हेल्पिङ ह्यान्ड्स सामुदायिक अस्पताल, जनस्वास्थ्य सरोकार ट्रस्ट काठमाडौँ मोडल अस्पताललाई दुई/दुई थान भेन्टिलेटर, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई अट्राक्सन किट १० हजार टेस्ट, स्टाप फर अब्जरवेसन १० बेड उपलब्ध गराएको महानगरपालिका सूचना अधिकारी वसन्त आचार्यले जानकारी दिनुभयो ।
काठमाडौँ महानगरपालिकाले शहीद गङ्गालाल राष्ट्रिय हृदय रोग केन्द्र अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गरी अक्सिजन उत्पादन गर्दै आएको छ । काठमाडौँ महानगरपालिकाको दुई करोड ७५ लाख रुपियाँ लागतमा अक्सिजन प्लान्टको स्थापना गरिएको हो ।
महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले कोरोनाको उपचारलाई प्रभावकारी बनाई छिटोभन्दा छिटो स्वच्छ समाज निर्माण गर्न महानगरपालिकाले विभिन्न अस्पताललाई स्वास्थ्य सामग्री प्रदान गरेको बताउनुभयो ।
शाक्यले भन्नुभयो, “महामारीको जोखिम घटाउन सरकार, अस्पताल र नागरिक सबैको समान दायित्व हो, सबैले आआफ्ना दायित्व पूरा गर्ने हो भने खतरालाई चाँडै नियन्त्रणमा लिन सकिन्छ ।” स्वास्थ्यकर्मीले अहिले गरेको काम अतुलनीय भएको भन्दै उहाँले स्वास्थ्यकर्मीको हौसला बढाउनु अहिलेको अर्को मुख्य जिम्मेवारी भएको बताउनुभयो । महानगरबाट अनुदानमा प्रदान गरिएका स्वास्थ्य सामग्रीलाई अस्पतालहरूले आफूले दैनिक दिएको सेवाको विवरण महानगरलाई हरेक दिन पठाउनुपर्नेछ ।
यस्तै खर्च र लेखा परीक्षण प्रचलित कानुनले दिएको अधिकारबमोजिम गरी लेखा परीक्षणको प्रतिवेदन महानगरलाई बुझाउनु पर्नेछ । महानगरको सहयोगमा खरिद गरिएका उपकरणमा ‘काठमाडौँ महानगरको सहयोगमा’ लेख्नुपर्नेछ । महानगरपालिकाको साधन र स्रोतले भ्याएसम्म परिस्थिति र आवश्यकताका आधारमा सम्झौता थप गरेर साझेदारिता निरन्तर हुन सक्ने महानगरपालिका र अस्पतालबीच गरिएको सम्झौतामा उल्लेख छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?