logo
२०८१ बैशाख १५ शनिवार



लोकसेवा तयारी सामग्री (विषयगत प्रश्नोत्तर)

खुला |
लोकसेवा |


लोकसेवा तयारी सामग्री (विषयगत प्रश्नोत्तर)


 आन्तरिक कार्यप्रणाली ः प्रश्नपत्र निर्माण र उत्तरपुस्तिका परीक्षण
लोकसेवा आयोग एक स्वतन्त्र एवम् स्वायत्त संवैधानिक निकाय हो । यसले निजामती सेवाका लागि आवश्यक पर्ने उपयुक्त कर्मचारी छनोट गर्न रिक्त पदको माग सङ्कलन गर्ने, विज्ञापन गर्ने, दरखास्त सङ्कलन गर्ने, छानबिन गर्ने, परीक्षा लिने, नतिजा प्रकाशन गर्ने, अन्तर्वार्ता लिने, सिफारिस गर्नेजस्ता कार्य गर्छ । लोकसेवा आयोगले यी कार्य नेपालको संविधान, लोकसेवा आयोग ऐन–२०६६, लोकसेवा आयोग नियमावली–२०६७, लोकसेवा आयोग (कार्यसञ्चालन) निर्देशिका २०६७ र लोकसेवा आयोगका पदाधिकारी एवम् दक्ष÷विज्ञ र कर्मचारीको आचारसंहिता–२०६९ अनुसार गर्छ ।
नेपालको पछिल्लो संविधानले सुरक्षा निकाय र सङ्गठित संस्था÷सार्वजनिक संस्थानका पदमा पदपूर्तिका लागि लिखित परीक्षा सञ्चालन गर्ने जिम्मेवारी लोकसेवा आयोगलाई थप गरेको छ । यसै व्यवस्थाअनुसार नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागजस्ता सुरक्षा निकाय र नेपाल टेलिकम, विद्युत् प्राधिकरण, वायुसेवा निगमलगायतका सार्वजनिक संस्थानमा लोकसेवा आयोगले परीक्षा लिँदै आएको छ । निजामती सेवा, सुरक्षा निकाय र सङ्गठित संस्था÷सार्वजनिक संस्थानका लागि आवश्यक पर्ने जनशक्ति निरन्तर आपूर्ति गर्दै आएको छ । यसले आफ्नो कार्य व्यवस्थित गर्न वार्षिक कार्यतालिका बनाएर सोहीअनुरूप कार्य गर्छ । आफूले गरेको दैनिक कार्यको सूचना प्रत्येक बुधबार साप्ताहिक रूपमा आफैँले प्रकाशन गर्ने बुलेटिनमार्फत र सोही सूचना प्रत्येक बुधबारको गोरखापत्रमार्फत जनसमक्ष ल्याउँदै आएको छ ।
लोकसेवा आयोगले गर्ने सबै कार्य अति निष्पक्ष तवरले गर्छ । यही भएर लोकसेवाप्रति सर्वसाधारण जनताको आकर्षण र विश्वास बढेको पाइन्छ । लोकसेवाले गर्ने कार्यमध्ये प्रश्नपत्र निर्माण गर्ने र उत्तरपुस्तिका परीक्षण गर्ने कार्य अत्यन्त गोप्य हुने गर्छन् । यी कार्य लोकसेवा आयोगले सम्बन्धित विषयका विशेषज्ञबाट अति गोप्य तवरबाट गराउँछ । लोकसेवा आयोगले गर्ने यस्ता कार्य तथा अवलम्बन गर्ने सिद्धान्त प्रदेश लोकसेवा आयोगका लागि पनि मार्गदर्शन हुने अपेक्षा गर्न सकिन्छ । लोकसेवा आयोगले गर्ने यस्ता आन्तरिक कार्यबारे सबैलाई जानकारी नहुन सक्छ, त्यसैले यहाँ यी र यीसँग सम्बन्धित व्यवस्थाको चर्चा गर्ने प्रयास गरिएको छ ।

 प्रश्नपत्रको निर्माण गर्ने
लोकसेवाले लिने परीक्षाका लागि प्रश्नपत्र निर्माण गर्दा सम्बन्धित विषयका विशेषज्ञबाट गराउने व्यवस्था छ । प्रश्नपत्र निर्माण गर्दा एक विषयको सामान्यतया पाँच सेट प्रश्न पाँचजना विशेषज्ञबाट निर्माण गर्नुपर्ने हुन्छ । लोकसेवाले लिखित परीक्षामा वस्तुगत प्रश्न र विषयगत प्रश्न सोध्ने गर्छ । वस्तुगत प्रश्न सोध्ने विषयमा ठीक बेठीक छुट्ट्याउने प्रश्न, जोडा मिलाउने प्रश्न र खाली ठाउँ भर्ने प्रश्न समावेश गर्छ ।
विषयगत प्रश्न सोध्ने विषयमा लोकसेवाले उम्मेदवारले आफ्ना मौलिक विचारहरू व्याख्यात्मक रूपमा व्यक्त गर्न पाउने वर्णनात्मक प्रश्न, उम्मेदवारले दुई धारणाको तुलना गर्दै जवाफ प्रस्तुत गर्नुपर्ने तुलनात्मक प्रश्न, कुनै कुराको पक्ष वा विपक्षमा आफ्नो विचार व्यक्त गरी कारण र पुष्ट्याइँ दिनुपर्ने प्रश्न, प्रश्नको जवाफमा उम्मेदवारले आफ्नो निजी धारणा प्रस्तुत गर्नुपर्ने अवसर दिई स्वतन्त्र विचार व्यक्त गर्नुपर्ने प्रश्न, कुनै घटना र वास्तविकतालाई पुष्टि गर्नका लागि कारण र असर उल्लेख गर्नुपर्ने प्रश्न, उम्मेदवारको बुझाइ एवम् प्रयोग गर्ने क्षमतालाई जाँच्न छोटो उत्तर आउने प्रश्न र समस्या समाधानसम्बन्धी प्रश्न सोध्ने गर्छ ।
लोकसेवाले विषयगत प्रश्न निर्माण गर्दा ध्यान दिनुपर्ने कुराको व्यव्स्था गरेको छ । जसअनुसार विषयगत प्रश्न निर्माण गर्दा संज्ञानात्मक तहअनुसार ज्ञान, बोध, प्रयोग, विश्लेषण, संश्लेषण र मूल्याङ्कन तहका उपलब्धि जाँच्नेगरी प्रश्न निर्माण गर्नुपर्ने, विवादास्पद, बहुअर्थ लाग्ने र अस्पष्ट प्रश्न सोध्नुहुँदैन, प्रश्नसँगै आउने पूरक प्रश्नहरू एक–अर्कोसँग पूर्ण रूपमा सम्बन्धित हुनुपर्छ, उम्मेदवारको सिर्जनात्मक प्रतिभा, मौलिकता जाँच्ने र निर्दिष्ट गरिएको सेवा समूहको पाठ्यक्रम र सोको उद्देश्यलाई आधार मानी निर्धारण गरिएको समयभित्र उत्तर दिन सकिने प्रश्न समावेश गर्नुपर्छ, पाठ्यक्रमको सबै खण्डबाट प्रश्न निर्माण गर्नुपर्छ, आन्तरिक परीक्षामा व्यावहारिक पक्ष र खुला परीक्षामा सैद्धान्तिक पक्षमा केन्द्रित भई प्रश्न निर्माण गर्नुपर्छ, एउटै प्रश्नमा टुक्रे प्रश्न भएमा प्रत्येक टुक्रे प्रश्नको अङ्कभार छुट्ट्याउनुपर्छ, ५ अङ्कको प्रश्न निर्माण गर्दा उत्तरसमेत तयार गरी संलग्न गर्नुपर्छ, १० अङ्क वा सोभन्दा बढीको प्रश्न निर्माण गर्दा प्रश्नले अपेक्षा गरेको सम्भावित बुँदागत उत्तरको सार सङ्क्षेप विषयवस्तु के–के हुन्, सो संलग्न गरी कुन–कुन विषयवस्तु समेट्दा कति–कति अङ्क प्रदान गर्ने भन्ने कुरासमेत प्रस्ट छुट्ट्याई प्रश्नसाथ मार्किङ स्किम संलग्न गरी पठाउनुपर्छ, उपसचिव र सहसचिवको समस्या समाधानको प्रश्न निर्माण गर्दा चारवटा विषयक्षेत्रमा केन्द्रित रहेर उत्तर लेख्नुपर्ने हुँदा उक्त प्रत्येक चार विषय क्षेत्रमा के–के विषयवस्तु (उत्तर) समेटिनुपर्छ, त्यसका सम्भावित बुँदाहरू उल्लेख गरी चारवटै विषय क्षेत्रको अङ्कभार विभाजनसमेत गर्नुपर्छ जस्तै ः २० अङ्कभार भएकोमा ४ वटामा ५+५+५+५ वा ४+६+४+६ आदि तरिकाले प्रश्नमै उल्लेख गरिदिनुपर्छ ।

 प्रश्नपत्रको परिमार्जन गर्ने
विषय विशेषज्ञबाट निर्माण भइआएका प्रश्नको परिमार्जन आवश्यकताअनुसार एक वा एकभन्दा बढी विशेषज्ञबाट गराउने व्यवस्था छ । प्रश्नपत्रको परिमार्जन गर्दा सबै पाठ्यांशबाट समावेश गर्नुपर्ने र तोकिएको समयभित्र उम्मेदवारले उत्तर लेख्न सक्ने किसिमको हुनुपर्छ । प्रश्न परिमार्जन गर्दा विवादास्पद तथा दुविधायुक्त प्रश्न नराख्ने, पाठ्यक्रमभन्दा बाहिरका प्रश्न नराख्ने, सम्बन्धित पदको स्तरसँग मिल्ने प्रश्न राख्ने, एक सेट प्रश्नभित्र प्रश्न नदोहोरिनेगरी तयार गर्ने, एक विषयको तीन सेट प्रश्न तयार गर्नेजस्ता कुरामा ध्यान दिनुपर्छ । प्रश्न परिमार्जन गर्दा प्रयोग गर्न अनुपयुक्त देखिएमा त्यस्ता प्रश्न धुलाउने व्यवस्था छ ।

 प्रश्नपत्रको भण्डारण गर्ने
परिमार्जन भएका प्रश्नपत्र भण्डारण गर्न लोकसेवा आयोगमा एउटा प्रश्नपत्र भण्डार हुन्छ । आयोगको सचिवको रेखदेख र नियन्त्रणमा सम्बन्धित महाशाखा प्रमुख सहसचिवको जिम्मामा रहन्छ । प्रश्नपत्र भण्डारमा भएका प्रश्नपत्र समय–समयमा परिमार्जन गरी पुनः प्रयोग गर्न सकिन्छ ।

 प्रश्नपत्रको छनोट र छपाइ गर्ने
एउटा विषयको समान स्तरका तीन सेट प्रश्नपत्रमध्येबाट लिखित परीक्षामा प्रयोग गरिने प्रश्नपत्रको एक सेट आयोगको अध्यक्षबाट छनोट हुने गर्छ । अध्यक्षबाट छनोट भएको प्रश्नपत्रको छपाइ आयोगको केन्द्रीय कार्यालयमा सचिवले तोकेको कर्मचारीले र आयोगको क्षेत्रीय तथा अञ्चल कार्यालयमा सम्बन्धित कार्यालय प्रमुखले आयोगको केन्द्रीय कार्यालयको प्रतिनिधिको रोहबरमा गर्नु गराउनुपर्ने व्यवस्था छ ।

 लिखित परीक्षा लिने
प्रश्नपत्रको छनोट एवम् छपाइपछि उम्मेदवार छनोट गर्न लोकसेवा आयोगले लिखित परीक्षा सञ्चालन गर्छ ।

उत्तरपुस्तिकामा पहिलो सङ्केत (कोड­) राख्ने
लिखित परीक्षा सम्पन्न भएपछि सबै परीक्षाकेन्द्रको उत्तरपुस्तिका सङ्कलन गरेर सबै उत्तरपुस्तिकालाई तल–माथि पारी छासमिस गरेर पहिलो कोड राख्ने व्यवस्था छ । उत्तरपुस्तिकामा पहिलो कोड केन्द्रीय कार्यालयमा सम्बधित महाशाखा प्रमुख सहसचिवले र अरू कार्यालयमा आयोगको केन्द्रीय कार्यालयको प्रतिनिधिको रोहबरमा सम्बन्धित कार्यालय प्रमुखले राख्ने व्यवस्था छ ।

 उत्तरपुस्तिकामा दोस्रो सङ्केत (कोड) राख्ने
पहिलो कोड राखेका उत्तरपुस्तिकालाई तल–माथि पारी छासमिस गरेर आयोगको सचिवले तोकेको अधिकृत कर्मचारीले दोस्रो कोड राख्ने व्यवस्था छ । उत्तरपुस्तिकामा पहिलो कोड राख्दा कालो मसी र दोस्रो कोड राख्दा रातो मसी प्रयोग गर्ने व्यवस्था छ । उत्तरपुस्तिकामा राखेको पहिलो कोडको अर्धकट्टीको सिलबन्दी पोका आयोगको सचिव वा निजले तोकेको कर्मचारीको जिम्मामा र दोस्रो कोडको अर्धकट्टीको सिलबन्दी पोका आयोगको अध्यक्ष वा निजले तोकेको कर्मचारीको जिम्मामा रहने गर्छ ।

 उत्तरपुस्तिका परीक्षण गर्ने
लोकसेवा आयोगले लिने परीक्षाको उत्तरपुस्तिकाको परीक्षण सम्बन्धित विषयको विशेषज्ञबाट गराउने व्यवस्था छ । उत्तरपुस्तिका परीक्षण गर्न एक पोकालाई सामान्यतया २० दिनको समय दिने र तोकिएको समयभित्र उत्तरपुस्तिका परीक्षण गरी पठाएमा पारिश्रमिकमा २० प्रतिशत थप गर्ने व्यवस्था छ । सम्बन्धित विषय विशेषज्ञलाई उत्तरपुस्तिका परीक्षण गर्न पठाउँदा सम्बन्धित विषयको प्रश्नपत्र, उत्तरतालिका फाराम, विशेषज्ञले पालना गर्नुपर्ने सर्त र राजपत्रअनङ्कित पदको गाइडलाइन संलग्न गरी गोप्य रूपमा बुझाउने व्यवस्था छ ।
उत्तरपुस्तिका परीक्षण गरेपछि परीक्षकले उत्तरतालिका फाराममा प्राप्ताङ्कलाई अङ्क र अक्षरमा उल्लेख गरी पठाउनुपर्छ । लोकसेवा आयोगले विषयगत प्रश्नका उत्तरपुस्तिका परीक्षण गर्दा परीक्षकले ध्यान दिनुपर्ने कुराको व्यवस्था गरेको छ । विषयगत प्रश्नका उत्तरपुस्तिका परीक्षण गर्दा परीक्षकले वस्तुनिष्ठ रूपमा उत्तरपुस्तिका परीक्षण गर्नका लागि उत्तरपुस्तिकाको स्तर निर्धारण गरी उत्तरपुस्तिका परीक्षण आधारतालिका अनुसार परीक्षण गर्नुपर्ने व्यवस्था छ ।
उत्तरपुस्तिकाको स्तर निर्धारण यसरी गर्ने व्यवस्था छ ः अनुपयुक्त ४० प्रतिशतभन्दा कम, साधारणस्तर ४० प्रतिशत वा सोभन्दा माथि ४५ प्रतिशतसम्म, मध्यमस्तर ४५ प्रतिशतदेखि माथि ५० प्रतिशतसम्म, उच्चस्तर ५० प्रतिशतदेखि माथि ६० प्रतिशतसम्म, अति उच्चस्तर ६० प्रतिशतदेखि माथि ।

 उत्तरपुस्तिका परीक्षण आधारतालिका
विषयगत उत्तरपुस्तिका परीक्षण गर्दा अपनाउनुपर्ने आधार
(क) विषयज्ञानको तथ्यपूर्ण र तर्कपूर्ण अभिव्यक्ति,
(ख) मौलिकता,
(ग) समालोचना तथा आलोचना,
(घ) प्रस्तुतीकरण,
(ङ) शुद्धाशुद्धि तथा सफाइ,
यसको अङ्क विभाजन देहायबमोजिम हुनेगरी उदाहरणसहित व्यवस्था गरिएको छ ः

विषयगत पत्रमा कुनै परीक्षार्थीले अति उच्चस्तरको अङ्क प्राप्त गर्ने देखिएमा त्यसको कारण खुलाउनुपर्छ । एउटै प्रश्नमा टुक्रे प्रश्न भए प्रत्येक टुक्रे प्रश्नका लागि छुट्ट्याइएको मार्किङ स्किमअनुुसार अङ्क दिई परीक्षण गर्नुपर्छ । परीक्षकले उत्तरपुस्तिका परीक्षण गर्दा उच्च अङ्क प्राप्त गर्ने १० प्रतिशत उत्तरपुस्तिकाको पुनःपरीक्षण गर्नुपर्छ । परीक्षणकर्ताको कुनै नातेदारले सो परीक्षा दिएको भए उत्तरपुस्तिका परीक्षण नगरी सिलबन्दी रूपमा नै फिर्ता गर्नुपर्छ । विषयगत उत्तरपुस्तिका परीक्षण गर्दा विषय ज्ञानको तथ्यपूर्ण र तर्कपूर्ण अभिव्यक्ति, मौलिकता, समालोचना तथा आलोचनात्मक शक्ति, प्रस्तुतीकरण, शुद्धाशुद्धि तथा सफाइलाई ध्यान दिई परीक्षण गर्नुपर्छ । उत्तरपुस्तिका परीक्षण गर्दा लोकसेवाले उपलब्ध गराएको अङ्क योजनाअनुसार परीक्षण गर्नुपर्छ ।
उत्तरले अपेक्षा गरेका बुँदालाई परीक्षण गर्नुपूर्व सूचीकृत गरी तिनीहरूको अङ्कभार सुनिश्चित गर्नुपर्छ । एक सिटिङमा कति उत्तरपुस्तिका परीक्षण गर्ने हो सोको पहिल्यै यकिन गर्ने र उत्तरपुस्तिका परीक्षण गर्दा रातो मसी प्रयोग गरी सकभर उत्तरपुस्तिकाको देब्रेपट्टि किनारामा अङ्क प्रदान गर्नुपर्छ ।

 उत्तरपुस्तिका रुजु गर्ने
विशेषज्ञबाट परीक्षण भई प्राप्त भएका उत्तरपुस्तिका आयोगमा रुजु गरी राख्ने व्यवस्था छ । उत्तरपुस्तिका रुजु गर्दा उम्मेदवारले लेखेको सबै उत्तर परीक्षण गरी अङ्क दिइएको छ छैन, परीक्षकले दिएका सबै अङ्क ठीकसँग जोडिएको छ छैन जस्ता कुरामा ध्यान दिनुपर्ने व्यवस्था छ ।

 उत्तरपुस्तिकाको संपरीक्षण गर्ने
लोकसेवाले आवश्यक देखेमा सम्बन्धित विषयको विशेषज्ञबाट परीक्षण भई प्राप्त भएका उत्तरपुस्तिकामध्ये सबै वा केही उत्तरपुस्तिका संपरीक्षण गराउन सक्छ ।

 उत्तरपुस्तिकाको पुनः परीक्षण गर्ने
उत्तरपुस्तिका संपरीक्षण गर्दा विशेषज्ञले पालना गर्नुपर्ने सर्त पालना नगरेको पाइएमा त्यस्ता उत्तरपुस्तिका लोकसेवाले पुनः परीक्षण गराउन सक्छ । तर, लिखित परीक्षाको नतिजा प्रकाशन भएपछि लोकसेवाले उत्तरपुस्तिकाको पुनः परीक्षण नगराउने व्यवस्था छ ।

 लिखित परीक्षाको नतिजा प्रकाशन गर्ने
उत्तरपुस्तिकाको परीक्षण, रुजु एवम् आवश्यकताअनुसार संपरीक्षण तथा पुनःपरीक्षणपश्चात् लोकसेवाले उम्मेदवारको वर्णानुक्रमअनुसार लिखित परीक्षाको नतिजा प्रकाशन गर्छ ।

पुनर्योगको व्यवस्था
लिखित परीक्षाको नतिजा प्रकाशन भएपछि कुनै उम्मेदवारले आफ्नो लिखित परीक्षाको कुनै वा सबै पत्रको पुनर्योग गर्न लिखित परीक्षामा तोकिएको परीक्षा दस्तुरको आधा दस्तुर तिरेर लिखित परीक्षाको नतिजा प्रकाशन भएको मितिले सात दिनभित्रमा लोकसेवा आयोगको सम्बन्धित कार्यालयमा निवेदन दिन सक्छ । पुनर्योगका लागि यसरी निवेदन आएमा लोकसेवा आयोगले पुनर्योग गरी निवेदकलाई सोको नतिजा सार्वजनिक सूचनामार्फत जानकारी गराउने
व्यवस्था छ ।
प्रस्तुतकर्ता : हेमचन्द्र शर्मा

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?