logo
२०८१ बैशाख २२ शनिवार



जलपक्षी गणना सम्बन्धी गोष्ठी रुपन्देहीमा  

खुला |


जलपक्षी गणना सम्बन्धी गोष्ठी रुपन्देहीमा  
फाईल तस्विर


काठमाडौँ, चैत २ गते । जलपक्षी गणनाका बारेमा नयाँनयाँ तरिका, प्रविधि र योजनाबारे जानकारी दिने ध्येयले रुपन्देहीमा आजदेखि तेस्रो राष्ट्रिय गोष्ठी शुरु भएको छ । दुईदिने गोष्ठीमा स्थानीय चरा गणनाका संयोजक, चराविद् तथा चरा संरक्षणसम्बन्धी संस्थाका प्रतिनिधिको सहभागिता छ ।    
    
 यसअघि सन् २००७ मा पहिलो गोष्ठी लुम्बिनीमै र सन् २०१२ मा दोस्रो गोष्ठी चितवनमा भएको थियो । नेपालमा प्रत्येक वर्ष मध्य हिउँदमा हुने जलपक्षी गणना राष्ट्रियरुपमा संयोजन गर्दै आएको हिमाली प्रकृति संस्थाको आयोजित कार्यक्रममा चरा गणनाको तथ्याङ्क सङ्कलन, गणना र शुद्धताबारे पनि निष्कर्ष निकालिने जनाइएको छ ।    
    
 गोष्ठीमा कोशीटप्पु, हेटौँडा, चितवन, जनकपुर, काठमाडौँ, नवलपरासी, पोखरा, रुपन्देही, कपिलवस्तु, दाङ, बर्दिया, कैलाली र कञ्चनपुरलगायत ठाउँबाट ३५ भन्दा बढी चराविद्को सहभागिता रहेको आयोजक संस्थाका कार्यक्रम निर्देशक डा तुल्सी सुवेदीले जानकारी दिनुभयो । सिमसार क्षेत्रको खस्कँदो अवस्था र संरक्षणका लागि गर्नुपर्ने स्थान विशेष कामबारे अन्तरक्रिया हुने उहाँले बताउनुभयो ।    
    
 त्यस्तै पानी चराको अवस्था, चरा आवागमन सहजता र संरक्षणमा गर्नुपर्ने काम, जलपक्षी संरक्षण र सिमसार क्षेत्रको दिगो व्यवस्थापनका लागि आवश्यक प्रभावकारी कदम चाल्ने विषयमा समेत जानकारी दिइनेछ ।    
    
 कार्यक्रममा चरा गणनाका राष्ट्रिय संयोजक वरिष्ठ चराविद् डा हेमसागर बराल र वेटल्यान्ड इन्टरनेशनलका वरिष्ठ वैज्ञानिक डा तेज मुण्दकरले नेपाल, दक्षिण एसिया र विश्वमा पानी चराको अवस्था र संरक्षणका लागि गर्नुपर्ने कामबारे विशेष सम्बोधन गर्नुहुने आयोजकले जनाएको छ ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?