logo
२०८१ बैशाख २४ सोमवार



गोरखा जोगाएका राना मगर

विचार/दृष्टिकोण |


गोरखा जोगाएका राना मगर


राजकुमार दिक्पाल

नेपालमा मगरहरूको इतिहास पुरानो छ । मध्यकालको एक ताम्रपत्रमा मगर र त्यसमा पनि राना मगर खुल्ने लिखत पाइएको हुँदा उनीहरूको सन्दर्भमा गतिलो ऐतिहासिक आधार स्पष्ट देखिन्छ । तर नेपाली इतिहासकारहरू भने नेपाली वीरहरूको चर्चा गर्दा थापा, पाँडे, बस्न्यात तथा कुँवरको मात्र सौर्यगाथा गाएर थाक्दैनन् ।
धनबज्र बज्राचार्य र महेशराज पन्तहरूलाई पाद टिप्पणीमा राख्दै इतिहासकार ज्ञानमणि नेपालले उल्लेख गरेअनुसार वि.सं. ११५७ मा पश्चिम नेपालमा पाइएको झान्टेश्वर महादेव स्थानमा ‘सोहव राने’ भन्ने नाम र थर पाइएको छ । उक्त ताम्रपत्रमा‘मग्वरविषय’ शब्द परेको र त्यहाँ उल्लेख भएमध्ये एक सोहव राने पनि भएकोले ती सोहव राने एक जना महìवपूर्ण मगर व्यक्तित्व थिए भन्ने प्रमाण मिल्छ । ताम्रपत्रमा ‘इदा भावो धक्नप र सोहव राने’ उल्लेख भएकोले पाञ्चाली गुठियारमध्ये पहिलो भावो वा भाओ उपनाम भएका धनीमानी व्यक्ति थिए । दोस्रा स्थानीय व्यक्ति र तेस्रा राना मगर देखिन्छन् । नेपालले यो ताम्रपत्रमा ‘मग्वरविषय’ भन्ने उल्लेख भएबाट पश्चिम नेपालको गण्डकी प्रदेशको मगरातमा झण्टेश्वर स्थान थियो भन्न सकिने आधार स्पष्ट हुन आउँछ । (नेपाल ज्ञानमणि नेपाल, नेपाल निरुपण –२०५५, काठमाडौँ, पृ .१२५–१२६)पृथ्वीनारायण शाहले आफूलाई ‘मगरातको राजा हुँ’ भनेका छन् । उनले आफ्नो उपदेशमा ‘नेपालको किताप हेर्दा तुर्काना मंग्रात मुग्लाना हुन्या रहेछ र तुरकाना अघि भैगयेछ. मगरात्को राजा मै हुं’ भनेका छन् । ( बाबुराम आचार्य, योगी नरहरिनाथ, वडामहाराजाधिराज श्री ५ पृथ्वीनारायण शाहको ‘दिव्य–उपदेश’–२०६१, काठमाडौँ, पृ.५९)
पृथ्वीनारायण शाहले मगरहरूलाई निकै विश्वासमा लिएका थिए । उनी बनारस भ्रमणमा जाँदा जसिवन्त राना, देवु रानाजस्ता मगर भारदारहरू पनि सहभागी गराएका थिए । (आचार्य, उही, पृ. १२६) नेपालको पूर्वराजवंशका पुर्खा जैन खानका सन्तान पाँच ठकुराईमा बाँडिदा उनीहरू मगरहरूको बस्तीमा बसे । त्यसमा पनि द्रव्य शाहले वि.सं. १६१६ तिर गोर्खामा राज्य बसाले । (आचार्य, उही, पृ. ६)
राम शाहको पालादेखि गोर्खाका मगरहरू प्रगतिमा चढ्न थाले । यिनैका समयमा सिद्ध लखन थापा मगरले मनकामनालाई पुण्यस्थल बनाइदिए । (आचार्य, उही पृ. १२) गोरखामा शाह राजवंशको जग बसाउने राजा द्रव्य शाहले वि.सं. १६१६ मा भारदारहरूको सङ्गठन बनाएर अभिषेकसमेत गराएका थिए । उनले भारदारीमा नारायणदाश अज्र्याललाई राजगुरु, सर्वेश्वर खनाललाई राजपुरोहित, गणेश पाँडेलाई मन्त्री वा काजी, भगीरथ पन्थलाई सेनापति वा सरदार, केशव बोहरालाई भूमि विभागका र गङ्गाराम रानालाई न्याय विभागको अधिकारी बनाएका थिए । (आचार्य, उही, पृ. ७)इतिहासमा उल्लेख गरिने गोरखाली ६ थरघर प्रभृतिभित्र उनै अज्र्याल, खनाल, पाँडे, पन्थ, बोहरा र राना मगर पर्छन् । गोरखाली शासकले उनीहरूलाई पछिसम्म राम्रै जिम्मेवारी दिँदै आएका थिए ।

आक्रमण प्रत्याक्रमणमा रानामगर

नरभूपाल शाह कमजोर प्रकृतिका थिए । रानी चन्द्रप्रभावति शाहले गृह व्यवस्था सम्हालेका कारण घर थामिँदै थियो । उनी देवीदेवताको भक्तिभावमा प्रायः दत्तचित्त थिए । त्यसैबीचमा तनहुँका सेन र कान्तिपुर, भक्तपुर र ललितपुरका राजाहरू आआफ्नो राजनीतिक अभियानमा सलबलाइरहेका थिए । नरभूपाल शाहले पनि कान्तिपुर अधिनस्थ नुवाकोटमा आफ्नो कब्जा जमाई आक्रमण गर्ने योजना बनाउँदा मन्त्री महेश्वर पन्थले समर्थन जनाए । त्यतिखेर सिन्धुपाल्चोक र नुवाकोटमा मगरहरूको आवादी बढेको थियो । उनीहरूले कान्तिपुरका प्रमानहरूलाई अटेर गर्ने हुनाले बदलामा पलान्चोकमा आवाद रहेका बगाले थापाहरूलाई कान्तिपुरका राजा जगज्जय मल्लले त्यस क्षेत्रमा उमराव नियुक्त गरेका थिए । बगाले थापा काशिराम नुवाकोटका उमराव थिए । नुवाकोट आक्रमणका लागि काजी महेश्वर पन्थ र जयन्त राना खटिए । तर उनीहरू नुवाकोट कब्जाका लागि असफल भई गोरखा फर्किए । त्यतिबेला नरभूपाल शाह पूजाआजामा व्यस्त थिए । महेश्वर पन्थ पहिल्यै गोरखा दरबार पुगी हारको सम्पूर्ण कारण मगरहरूको ढिलासुस्ती भएको पोल लगाउन भ्याए । जयन्त राना गोरखा दरबार पुग्दानपुग्दै उनको जागिर खोसिइसकेको थियो । त्यसपछि उनी आफ्ना साथीहरूसहित ‘हामी कुमाउँदा रहेछौँ यहाँ’ भनी गोरखा छाडेर हिँडे । कान्तिपुर अधिनस्थ नुवाकोटको उमराव भई रहे । (आचार्य, उही, पु. १६३–१६८)
पछि अनेक जुक्तिबुद्धि लगाएर पृथ्वीनारायाण शाहले नुवाकोट कब्जा गरेरै छाडे । खेत बिराउने बहानामा उनले खिन्च्यातमा आफ्ना सेनाहरू घुसाए । रसद पानी र हतियारहरू घुसाए । गोरखालीहरूको आक्रमणको तयारी देखेर जयन्त राना कान्तिपुरमा आवश्यक सहयोगका लागि गुहार माग्न जाँदा त्यहाँका तत्कालीन राजा जयप्रकाश मल्ल इन्द्रजात्राको अवसरमा कुमारी पूजामा व्यस्त थिए । जयन्तका छोरा शङ्खमणिको नेतृत्वमा दुई सय ५० सैनिक नुवाकोटको रक्षार्थ खटिएका थिए । तर त्यहाँ आक्रमण गरी शङ्खमणिलाई मारी पृथ्वीनारायण शाहले सन् १७४४ सेप्टेम्बर २६ (वि.सं. १८०१ असोज १५ गते) मा नुवाकोट कब्जा गरे । (आचार्य, उही, पृ. १६६–१६७)
जयन्त रानाचाहिँ पुत्रशोक र नुवाकोट गुमाउनुको पीडाका साथ बेलकोटमा बसिरहेका थिए । पृथ्वीनारायण शाह भने नुवाकोटगढीमा बसेर बेलकोटतिर हेरिरहेका थिए । उनले दिल थाम्न सकेनन् । उनी तत्कालै डोली चढेर तत्कालै जयन्तलाई पक्रने योजनासाथ हतारिएर बेलकोट पुगे । जयन्तका सेनाहरूको प्रहारले गोरखाली सेनाहरू ढलिरहेका थिए । पृथ्वीनारायण शाह युद्ध हारेर फर्कने तयारी गरिरहेको बेला कालु पाँडे थप सहयोगी सैन्यकासाथ त्यहाँ आइपुगे । जयन्त रानाका सैनिकहरूको संहार गरेर उनलाई पक्राउ गरियो र ज्यूँदै छाला काढेर मारियो । (आचार्य, उही, पृ. १६५)
पृथ्वीनारायण शाहको नुवाकोट आक्रमण गर्न जाने अभियानमा कृष्णमणि राना, जस राना, देवु राना, जसवन्त राना, लक्ष्मी राना, जसु राना, माधव राना, इन्द्रमणि राना, रामसिंह राना, प्रतिमन राना, दलजित राना, लोहर राना, यसमन राना, सुगेत राना, साने राना, चन्द्रमणि राना, चामु राना उमापति राना थिए । तीमध्ये मुख्य देवु राना, प्रतिमन राना र बलभद्र राना थिए । यो युद्धमा गोरखा दरबारको रक्षार्थ काजी रुद्र शाहका साथ काजी महेश्वर पन्थ र कालु राना ग्याङ्मी थिए ।
पृथ्वीनारायाण शाह आक्रमणका लागि अघि लागेको तीनधारेको बाटोमा युद्धका लागि अघि बढ्ने राना मगरहरूमा कणिमणि राना, बसु राना, दलजित राना, जसवन्त राना, सुगे राना, सानु राना, चन्द्रमणि राना, रत्नमणि राना, परशुराम राना, जगन्मणि राना, पति राम राना, चामु राना, उमापति राना, वहावल राना तथा भिकरी राना सक्रिय योद्धाका रूपमा सहभागी थिए । (प्राचीन नेपाल), सङ्ख्या २१ (२०२९ कात्तिक) । काठमाडौँ, पृ. २७–२८)वि.सं. १७९६ जेठ बदी रोज १ को नरभूपाल शाहकालीन एक तामपत्रमा लोहरी राना र जसबु रानाको पनि उल्लेख छ । यो ताम्रपत्रको फोटो गोरखा मान्वुकी सिर्जना घलेले यो लेखकलाई उपलब्ध गरे हो । नुवाकोटमा आक्रमण गर्न जाने गोरखाली योद्धाहरूमा लोहर राना र जस राना सम्भवतः नरभूपाल शाहकै समयमा सक्रिय लोहरी राना र जसवु राना हुन सक्छन् ।

देवु राना ः एक विश्वसनीय भारदार

पृथ्वीनारायण शाहले आफ्नो राज्यविस्तार अभियानका क्रममा पश्चिमतिर बढ्ने प्रयास गरेका थिए । तर चार वर्षको प्रयत्नमा पनि उनलाई यस अभियानमा सफलता भने मिल्न सकेन । वि.सं. १८२७ मा तनहुँका राजा कामारिदत्त सेनले आत्महत्या गरेपछि उनको ठाउँमा उनका भाइ हरकुमारदत्त सेन तनहँुको सिंहासनमा बसे । तनहुँ र लमजुङबीच मिलेमतो भई उनीहरूले गोरखालीलाई हाँक दिएपछि उनीहरूबीच बेलाबेलामा आक्रमण प्रत्याक्रमण हुँदै रह्यो । यसक्रममा लमजुङतिरको अभियानमा देवु राना नामका भारदार सक्रियताका साथ युद्धमा खटिएको देखापर्छ । उनी नुवाकोटको युद्धमा खटिएको र पृथ्वीनारायण शाहसँग बनारस भ्रमणमा गएको प्रसङ्ग माथि परिसकेको छ । देवु रानालाई लमजुङको युद्धमा निक्कै विश्वासका साथ जिम्मेवारी दिइएको देखिन्छ । पृथ्वीनारायण शाहले देवु राना, धान्या खड्का र अभिमानसिंह बस्न्यातलाई फागुन शुदी ११ रोज १ मा मुकाम नुवाकोटबाट लेखेको पत्रमा बली गुरुङको छोरालाई त्यतातिर पठाइएको र लमजुङतिर नभई रागिनासतिर जागिर दिनू भन्ने आदेश दिएका छन् । (प्राचीन नेपाल) सङ्ख्या ५८ (२०३७ साउन), काठमाडौँ, पृ. ३२)लमजुङको काजमा रहेको बेला देवु रानालाई पृथ्वीनारायण शाहले लेखेको अरू पत्रहरू प्राप्त भएका छन् । ती दुईमध्ये एउटा वि.सं. १८३१ को असारमा र अर्को असोज महिनामा लेखिएको हुँदा माथिको पत्र वि.सं. १८३० को फागुनमा लेखिएको हुन सक्छ । पृथ्वीनारायण शाहले देवु रानालाई वि.सं. १८३१ असार वदि १० रोज १ मा काठमाडौँबाट लेखेको पत्रमा गोरखाली सेनालाई तयार अवस्थामा राख्न भनिएको छ । त्यसका लागि सजग भएर लमजुङे फौजको अवस्था हेरेर उनीहरूले कस्तो गतिविधि गर्छन्, सोहीअनुसार लमजुङमा आफ्नो फौज उतार्ने या नउतार्ने निर्णय गर्न पनि भनिएको छ । पत्रमा ‘साउन्या संक्रान्तिका भोलिबेर लमजुंग जान्या फौज सामेल गरि तिमिहरू तयार भई रहउ. पारि लञ्जुंले कि काज गर्ला र तव तरौंला कि पर्वत लञ्जुंका भला मानिस तर्लन् र अव तरौंला तर विचमा तर्नु छैन तहां तयार भन्या भै रहउ’ भन्ने परेको छ । (प्राचीन नेपाल, सङ्ख्या ६१–६४ (२०३७ पुस–२०३८ साउन), काठमाडौँ, पृ. २८)पश्चिमको अभियानमा लमजुङका भालु भण्डारीहरूको साथ रागिनास गढीसमेत दखल गरेपछि पृथ्वीनारायण शाहले त्यहाँको रक्षा र आवश्यक व्यवस्थाको काम देवु रानालाई सुम्पेका थिए । उनी त्यसपछि वंशराज पाँडेलाई लिएर उपत्यका घेर्ने अभियान चालू गर्नका लागि कीर्तिपुर दाखिल भएका थिए । (आचार्य, उही, पृ. ३४८)यताबाट हेर्दा देवु रानाले लमजुङको काजमा पृथ्वीनारायण शाहको एक विश्वसनीय भारदारका रूपमा सेवा गरेको देखिन्छ ।

काटिएका राना मगर काजीहरू

हनुमानढोका राजदरबारमा देवर बहादुर शाह र राजमाता राजेन्द्रलक्ष्मी शाहबीच मनमुटाव हुन पुग्यो । बहादुर शाह पश्चिमको अभियानलाई गति दिन चाहन्थे भने राजेन्द्रलक्ष्मी आरामले दिन बिताउन चाहन्थिन् । नाबालक छोराको सिंहासन सुरक्षित राख्ने सन्दर्भमा राजेन्द्रलक्ष्मी आफ्ना देवरप्रति शङ्काको दृष्टि राख्थिन् । आफ्ना पति प्रतापसिंह शाहले नियुक्त गरेका मुख्तियार ब्रजनाथ पौडेल र मुख्य सेनापति स्वरूपसिंह कार्की निर्वासित अवस्थामा थिए । त्यसैले उनले सीधासाधा मगर काजीकै भरमा परेर शासन चलाउन थालेकी थिइन् । पतिको पालादेखिकै विश्वसनीय भारदार सर्वजीत रानालाई उनले मूलकाजी बनाइन् । वंशराज पाँडे दोस्रा काजी बनेर गोरखामा रहन लागे । यसैबीच राजेन्द्रलक्ष्मी र सर्वजीतबारे करणी बिराएको बातको हल्ला चल्यो । बहादुर शाहले चौतारिया दलजित शाहले श्रीहर्ष पन्थको सहयोग लिएर आठपहरियाहरूद्वारा दरबार घेर्न लगाई राजेन्द्रलक्ष्मीलाई चाँदीको नेल ठोकी दरबारभित्रै थुनेर मूलकाजी सर्वजीत राना र उनको अनुयायीलाई पक्री कुमारी घरको छिँडीको कोठामा लगेर रातको समय कटाइदिए । (ज्ञानमणि नेपाल, नेपालको महाभारत–२०५२), ललितपुर, पृ. १८–२०) छोटो समय मूलकाजी चलाएका सर्वजीत रानाको हैसियत देख्दा उनी त्यतिखेरका प्रधानमन्त्री तहमा रहेको देखिन्छ । बहादुर शाहले आफ्ना बुबा पृथ्वीनारायण शाहको मरवट नीतिविरुद्ध रहेर भारदार हत्या गरेको देखिन्छ । भारदारहरूलाई मार्नुहुन्न भन्ने मान्यता पृथ्वीनारायण शाहको थियो । उनको उपदेशमा ‘पांडे बस्न्यात् पंथ भैयाद मग्र लाई माराताप दिँदा आलोपालो गरिन षान दिनु. ई मेरा नुन् गुन्का स्वझा सेवक हुन्. ईनीहरूको जीव ज्याना बिराम ग¥याको भया पनि आफूले नमार्नु. बरु मारातप् दिएर लडाँञीमा झोसिदिनु. र जिव जोगाई आयो भन्या बढिया भयो. मरि गयो भन्या आफूले मार्नु (भन्दा) अर्कैबाटा मारिदियाको बढिया हुन्छ. तब राजाले सेवकलाई घरमा नमार्नु’ भन्ने छ । ( आचार्य, र योगी नरहरिनाथ, उही, पृ. ५१) तर उनकै छोरा बहादुर शाहले दरबारका एक सोझासीधा भारदार सर्वजीत रानालाई उनका अनुयायीसहित काटेर मारिदिए ।
राजदरबारभित्रको खेलचुक्ली र षडयन्त्रहरूमा मारिनेमध्येका प्रतिमन राना पनि अर्का सरदार हुन् । रणबहादुर शाह काशीबास भएपछि उनकी सुवर्णप्रभाले नायवी लिएर शासनसत्ता हातमा लिएकी थिइन् । उनले कीर्तिमानसिंह बस्नेतलाई मूलकाजी बनाइन् । उनले दरबारमा रानी साथ बसेर दैनिक शासन सम्हाल्न थाले । वि.सं. १८५७ मा पजनी हुँदा पुराना भारदारहरूको मनमा चिसो पस्यो । रानी र मूलकाजीबीच घनिष्ठता बढ्दा यी दुईबीच करणी विराएको हल्ला चल्यो । चौतारिया कृष्ण शाह, काजी दामोदर पाँडे, प्रबल राना, देवदत्त थापा, प्रतिमन राना, इन्द्रजीत खत्री, रणजीत पाँडे मिली चौतारिया विदुर शाहीसमेतलाई मिलाई निरकञ्चन खवास र सामदत्त साहीसमेतलाई प्रयोग गरेर कीर्तिमानसिंह बस्न्यात हात्तीसारको बाटो हिँड्दै गर्दा वि.सं. १८५८ असोज बदी ६ मा उनको हत्या गरियो । यसबारे छानबिन हुँदा चौतारिया विदुर शाही तथा दामोदर पाँडेहरू बाँचे तर सरदार प्रतिमन राना, खजाञ्ची गर्भु खवास, इन्द्रजीत खवास काटिए । देवदत्त थापा मगरको आँखा भिकियो । प्रबल राना फलामको पिँजडामा कैद भए । (नेपाल, उही, पृ. ४८–४९)
यसरी काटिनेमध्येका प्रतिमन रानाले गोरखाली राज्य विस्तार अभियानमा राम्रैसँग पसिना बगाएका थिए । चीन र तिब्बतसँगको युद्धमा पनि उनले भाग लिएका थिए । युद्धपछि भएको सन्धिपछि चीनको राजधानीमा हरेक वर्ष सौगातसहित नेपाली दूतमण्डल पठाउँदा देवदत्त थापा मगरका साथ प्रतिमन रानाले पनि सहभागिता जनाएका थिए । (प्राचीन नेपाल, सङ्ख्या २४ (२०३० साउन), काठमाडौँ, पृ. ३)
नेपालको इतिहासमा कोतपर्व एउटा कुख्यात घटनाको रूपमा चर्चित छ । गोरखाली परम्पराअनुसार ६ थरघर प्रवृत्तिअनुसार मगरहरूलाई यथोचित स्थानमा अवसर दिइने गरिएको थियो । कोतपर्वअघि तीन पल्टनसहित अभिमानसिंह रानालाई मन्त्रिमण्डलमा समावेश गरिएको थियो । कोतपर्वमा अभिमानसिंह रानालाई तत्कालीन महारानी राज्यलक्ष्मीदेवीले गगनसिंहको हत्यारा वीरकेशर पाँडे भएकोले उनलाई तत्काल काट्न भनी आदेश दिँदा उनले भने राजाको आदेश नभई कसैलाई काट्न नसकिने भन्दै रानीको आदेशलाई इन्कार गरेका थिए । कोतको भेलाको अवस्था अराजकतातिर जान लागेको देखेर आत्मरक्षाका लागि उनी आफ्नो पल्टनमा मिसिन खोज्दा जङ्गबहादुर राणाको आदेशमा युद्धवीर अधिकारी नामका सिपाहीले सङ्गीनले उनको छातीमा प्रहार गरे । (नेपाल, उही, पृ. २३४–२३५) कोतपर्वमा ज्यान गुमाउने उनी पहिलो भारदार थिए । उनले आफू मर्नुअघि ‘गगनसिंहको हत्यारा जंगे हो’ भनी चिच्याएका थिए । अझ जंगबहादुरका साहिंला छोरा पद्मजङ्ग राणाले त अभिमानसिंह रानाले ‘गगनसिंहको हत्यारा जंगबहादुर हो’ भनी रगतले भित्तामा लेखेको उल्लेख गरेका छन् । (राणा, पद्मजङ्ग । जङ्गबहादुरको ‘जीवनयात्रा’ (२०७४),काठमाडौँ, पृ. ६९)गगनसिंहको हत्यारा पत्ता लगाउने निहुँमा आयोजित कोतपर्वमा अभिमानसिंह रानाको प्रथम प्रणान्तसँगै मगरहरूले कायम गर्दै आएको राजनीतिक विरासतको पनि अन्त्य भयो भने कुँवर खलकका अहिराम कुँवरका सन्तति जङ्गबहादुर राणाको तानाशाही जहानियाँ शासनको सुरुआत भयो । जुन शासन १०४ वर्षसम्म टिक्यो ।

जसले भागेर ज्यान बचाए

यहाँनेर राना मगरहरूकै प्रसङ्ग कोट्याउँदा प्रबल राना पनि छुटाउनै नहुने नाम हो । चीन र तिब्बतसँग नेपालको युद्धमा शत्रु सैनिक बेत्रावति आइपुग्दा उनीहरूलाई रोक्न र हराउन तीन मुख गरी नेपाली सैनिक तैनाथ हुँदा दामोदर पाँडेका साथ चोक्देमा प्रवल राना तैनाथ थिए । (बाबुराम आचार्य, पूर्णिमा) पूर्णाङ्क ६३ (२०४१ चैत) । काठमाडौँ, पृ. १५–१७)
उनी वि.सं. १८४६ साउनको दोस्रो साता जुम्ला कब्जा गर्नका लागि शिवनारायण खत्रीका साथ विकट हिमाली बाटो हुँदै सैन्य अभियानमा सरिक भएका थिए । उनीहरूले सोही सालको महानवमीको दिन जुम्ला कब्जा गरी त्यहाँका राजा चक्रसुर्दशन शाही र उनका काका शोभन शाहीलाई त्यहाँबाट भगाएका थिए । (बाबुराम आचार्य । पूर्णिमा) पूर्णाङ्क ६१ (२०४१ फागुन) काठमाडौँ, पृ. २५) यस्ता पराक्रमहरू देखाए पनि प्रवल राना तत्कालीन राजा रणबहादुर शाहबाट बेला बेलामा अपमानित भएका थिए । नावालक राजा गीर्वाणयुद्धविक्रम शाहलाई तत्कालीन महारानी सुवर्णप्रभा र काजी दामोदर पाँडेहरूले नुवाकोट लगेर सुरक्षित राखेको बेला रणबहादुर शाह घरिघरि नुवाकोट पुगेर उत्पात मच्चाउँथे । उनी स्वामी भइसकेका थिए । आफ्नी प्रिय रानी कान्तवतिको देहान्तपछि उनी विक्षिप्त अवस्थामा त छँदै थिए, उनी पुनः राजकाजमा पनि सक्रिय हुन खोजिरहेका थिए । उनी नुवाकोट दरबारमा पुगी आफूसँग छोरा अलग्याएको भनेर धामीजस्तो काम्दै भारदारहरूलाई विभिन्न प्रकारका यातना दिन्थे । त्यसक्रममा रणबम पाँडे र अमरसिंह थापालाई खुट्टामा बाँधेर झुन्ड्याउन लगाए । प्रबल रानालाई चाहिँ छालामा बसाएर बजार घुमाउन लगाइयो । (नेपाल, उही, पृ.४२)
स्वामी महाराज रणबहादुर शाह काशीबासबाट वि.सं. १८६० फागुन २० गते नेपाल फर्के । उनले आफ्ना विपक्षी जोजसलाई सम्झे, उनीहरूप्रतिको बदला भावले अनेक दण्ड र यातनाहरू दिन थाले । त्यसक्रममा उनले आफूलाई थानकोटमा स्वागत गर्न गएका काजी दामोदर पाँडे तथा प्रबल रानाहरूलाई पक्राउ गरी मृत्यु पर्खाएर भद्रकालीमा थुनामा राखे । यसरी थुनामा राखिँदा एक रात प्रबल रानाले दामोदर पाँडेसँग भाग्ने सल्लाह गरे । तर दामोदर पाँडे मानेनन् । प्रबल राना भने झाडापिसाब गर्ने निहुँमा निस्किएर भागे । उनी भारतको गोरखपुर पुगेर ज्यान बचाए । उनको कुरुवा बसेका एक जना जमदार र सिपाहीलाई भोलिपल्टै प्राणदण्ड दिइयो । दामोदर पाँडेलाई चाहिँ केही दिनपछि वि.सं. १८६० अधिक चैत्र शुदि २ मा लुमडीनेर लगेर काटियो । ( नेपाल, उही, पृ. ५७)

बलिदानको निरन्तरता

नेपालको इतिहासमा राना मगरहरूको चर्चा गर्दा उनीहरूको रगत र पसिनाको बयानले निरन्तरता पाउँछ । राज्यविस्तार अभियानमा पछिल्लो समय पश्चिमी सैन्य नेतृत्व गरेका बडाकाजी अमरसिंह थापा काँगडा क्षेत्रमा सक्रिय थिए । नेपाली सेनाले पश्चिम हान्दा मन्दाकिनी गढमा सिसराम र दलबीर राना खटिएका थिए । खेडाघाटमा ठूलो आड गरी दलवीर राना बसेका थिए । पछि नेपाली फौज गुरुद्वार फिर्ता भयो । धामागढीको युद्धमा नेपाली पक्षको जीत भए पनि प्रितम शाह र दलवीर राना पक्रिइए । पक्राउ परेको अवस्थामै दलवीर रानालाई शत्रु सेनाले मारिदिए । मालकाँगडामा युद्ध हुँदा सहयोगका लागि दलभञ्जन पाँडे र अमृतसिंह थापाका साथ सरदार शमशेर राना पनि सहभागी थिए । त्यहाँ बाह्र ठकुराईले विद्रोह गर्दा शमशेर राना पाँच सात कम्पनी लिएर गुहारका लागि पुग्दा हजार बाह्र सय शत्रुपक्षको क्षति गराएका थिए । (प्राचीन नेपाल) सङ्ख्या २४ (२०३० साउन) । काठमाडौँ, पृ. ११–१४)
यताबाट हेर्दा नेपालको इतिहासमा राना मगरहरूको पसिना र रगतको ठूलो महìव रहेको देखिन्छ । यो नेपाली इतिहासको महìवपूर्ण पक्ष रहँदा रहँदै पनि नेपालका इतिहासकारहरूबाट राना मगरहरूको कमै चर्चा हुने गरेको छ ।
(लेखक पत्रकार हुनुहुन्छ ।)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?