logo
२०८१ बैशाख २७ बिहीवार



पुनर्निर्माण हुँदैछन् थिमिका सम्पदा

खुला |


पुनर्निर्माण हुँदैछन् थिमिका सम्पदा


शिवा तामाङ

भक्तपुर, फागुन १८ गते । मध्यपुर थिमि नगरपालिकाले पुराना, ऐतिहासिक स्थल, पाटी र पोखरीको पुनर्निर्माण र संरक्षण कार्यलाई अगाडि बढाएको छ । आगामी वैशाखमा पर्ने बिस्का जात्रा (बिस्का नखः) अघि नै सम्पन्न गर्नेगरी मध्यपुर थिमि नगरपालिका–४, मा निगु पुखु (दुई पोखरी)को निर्माण भइरहेको छ ।
थिमिस्थित लायकु परिसरबाट एक सय मिटर उत्तर मूल सडकको पूर्वपट्टि रहेको ऐतिहासिक पोखरीमध्ये एउटाको निर्माण सकिएको छ भने अर्को पोखरी बनाउने काम तीव्र गतिमा भइरहेको छ । निगुपुखुमा २०५४ सालसम्म पानी देखिन्थ्यो । त्यसपछि संरक्षण र सम्वद्र्धनको अभावमा सुक्खा मैदानमा परिणत भएको थियो ।
निगु पुखु पुनर्निर्माण गुरुयोजना कार्यान्वयन उपभोक्ता समितिका कोषाध्यक्ष सरु श्रेष्ठले इन्जिनियर प्रेमलाल भासिमाको डिजाइनमा बनिरहेका यी पोखरीमध्ये निर्माण भइसकेको पोखरीको लागत एक करोड ३० लाख रुपियाँ रहेको जानकारी दिनुभयो । सो समितिका अध्यक्ष निरञ्जन श्रेष्ठले ती दुई पोखरीमा पानीको दीर्घकालीन स्रोतका रूपमा आकाशे पानी पुनर्भरणको व्यवस्था मिलाइने बत(ाउनुभयो । तत्कालका लागि थिमिमा रहेको कोरिया नेपाल मैत्री अस्पतालको डिप बोरिङको पानीले पोखरीमा पानी भर्ने काम भइरहेको छ ।
मध्यपुर थिमि नगरपालिकाकै वडा नं. ४ मा रहेको बालकुमारी मन्दिरको भित्री बाटोमा ढुङ्गा बिछ्याएर सम्पदा मार्ग बनाउने कार्य सञ्चालन भइरहेको छ । उपभोक्ता समितिका अध्यक्ष सुमन जोशीले यो बाटोमा चार फिट चौडाइको ३७ हजार वर्ग फिट बाटो निर्माणको कामलाई तीव्रता दिइरहेको बताउनुभयो ।
“थिमि नगरपालिका क्षेत्रकै विशेष र महìवपूर्ण बिस्का जात्रा बालकुमारी मन्दिर परिसरमा वैशाख २ गते भव्यताका साथ मनाइन्छ । सो जात्रा चैतको अन्तिम सातादेखि सुरु हुन्छ भने त्यस मन्दिर परिसरमा जात्राको खट पु¥याउन भित्री बाटो नै प्रयोग हुने भएकाले त्यसबेलासम्म बाटोलाई सम्पदा पदमार्गका रूपमा तयार गर्ने छौँ,” अध्यक्ष जोशीले भन्नुभयो । नगरपालिकाबाट प्राप्त बजेट दुई करोड रुपियाँमा सम्पन्न गर्नुपर्ने यस योजनाका लागि बाटोमा यसअघि गरिएको कालोपत्रे निकाल्ने काम सकिएको उहाँले बताउनुभयो ।
नगरपालिकाको वडा नं. ८, बोडे क्षेत्रको पश्चिमी मूलढोकासँगै २५ रोपनी क्षेत्रफलमा फैलिएको ‘कुमारी द्यो स्क्वायर’ क्षेत्रको काम पनि जात्रासम्म सक्ने लक्ष्यसहित काम चलिरहेको छ ।
गत वर्षको फागुन महिनादेखि सो क्षेत्रमा निर्माणको काम थालिएको थियो । मध्यपुरको पहिचान विशेष जात्रा बिस्कामा त्यहाँको कुमारी मन्दिरमा पनि खट घुमाएर जात्रा गरिने परम्परा भएकाले जात्रालाई लक्षित गरी काम भइरहेको कुमारी परिसर सुधार उपभोक्ता समितिका अध्यक्ष विजय प्रजापतिले जानकारी दिनुभयो ।
बस्तीको नजिकको खुला सार्वजनिक क्षेत्र भएकाले सो स्थानमा फोहोर थुपारिएको थियो । त्यस क्षेत्रलाई हरियाली दुबोको ल्यान्डस्कोपसहितको पार्क बनाउने सोचसहित काम भइरहेको हो ।
त्यस क्षेत्रमा ने.सं. ७६३ मै नरेश मल्लको शासन कालमा कालिका (कुमारी) मन्दिरको स्थापना गरिएको र राजा भूपतिन्द्र मल्लले हालको मन्दिरका रूपमा परिणत गरेको ऐतिहासिक प्रमाण पाइन्छ । विगतमा यस क्षेत्रमा मन्दिर र सानो पोखरीको संरचनाबाहेक केही थिएन ।

पाटी बनाइँदै
सार्वजनिक जग्गा अतिक्रमणमा पर्नबाट र डम्पिङ साइट बन्(नबाट जोगाउन गत वर्षदेखि थालेको कुमारी द्यो स्क्वायर निर्माणको अन्तिम चरणमा पाटीको काम तीव्र गतिमा चलिरहेको अध्यक्ष प्रजापतिले जानकारी दिनुभयो ।
बिस्का जात्राको बेला जिब्रो छेडिसकेपछि सातवटा खटसहित यहाँको कुमारी मन्दिर घुम्ने परम्परा छ । वैशाखमा आउने जात्रासम्ममा सबै काम सक्ने योजनासहित काम भइरहेको उहाँले बताउनुभयो ।
पच्चीस रोपनी क्षेत्रफलमा फैलिएको कुमारी मन्दिरसहितको कुमारी द्यो स्क्वायरमा भिरालो क्षेत्रका रुख बिरुवाको संरक्षणसहित हरियो दुवो लगाउने, सिँढी बनाउने, पोखरीमा फोहोरासहित र ढुङ्गेधारा, मन्दिर परिसर, पाटीलगायत स्थानीय कच्चापदार्थ काठ, कलात्मक इँटा, ढुङ्गाको प्रयोग गरी बनाइएका छन् ।
कुमारी द्यो स्क्वायरको निर्माणका लागि मध्यपुर थिमि नगरपालिकाबाट गत वर्ष एक करोड ६० लाख रुपियाँ र यस वर्ष एक करोड ४० लाख रुपियाँ विनियोजन भएको छ । सो बजेटभित्र मौलिकता झल्कने मनोरम पार्क निर्माण सम्पन्न हुने अध्यक्ष प्रजापति बताउनुभयो ।
मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले यस नगरपालिकामा मन्दिर, पाटी, पोखरी र बहाल, लायकु, पार्कलगायत सम्पदाको पुनर्निर्माण र व्यवस्थापनका लागि ठेक्कामा दिने प्रवृत्तिलाई निरुत्साहित गर्दै स्थानीयको अगुवाइमा उपभोक्ता समिति बनाएर काम गर्दै आएको जानकारी दिनुभयो ।
“ठेक्का प्रक्रियामा जाँदा स्थानीयले विकासलाई स्वीकार्न कठिन हुन्छ, लागत पनि धेरै पर्न जान्छ, आफ्नो टोलको हरेक विकास निर्माण गतिविधिमा स्थानीयलाई नै सहभागी गराउन उपभोक्ता समिति बनाएर काम गर्दा थोरै लागतमा धेरै काम छोटो समयमा भएको मेरो अनुभव छ,” उहाँले भन्नुभयो । स्थानीय सहभागी हुँदा मध्यपुरका हरेक टोलमा सम्पदा संरक्षणको काम बिनाअवरोध, पारदर्शी ढङ्गबाट भइरहेको उहाँले बताउनुभयो । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?