logo
२०८१ जेष्ठ ७ सोमवार



प्रदेशसभा बैठक नेताहरुको शुभकामनापछि स्थगित

खुला |


प्रदेशसभा बैठक नेताहरुको शुभकामनापछि स्थगित


राममणि दाहाल
हेटौँडा, माघ ७ गते । बागमती प्रदेशको प्रदेश सभाका सातौँ आधिवशेन सुरु भएको छ । बागमती प्रदेश सरकार गठन भएको तीन वर्ष पुग्नै लाग्दा मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएसँगै प्रदेश सभाको अधिवेशन बुधबारबाट सुरु भएको हो । अविश्वास प्रस्ताव छिटो टुङ्गो लाग्ने विश्वाससहित प्रदेश सभाका सदस्यहरुले अधिवेशनको शुभकामनाको साथै अन्यौल नलम्ब्याउन र लोकतान्त्रिक विधिबाट निर्णयमा पुग्न माग गरेका थिए ।
तर सभामुख सानुकुमार श्रेष्ठले अर्को सूचना नभएसममका लागि प्रदेश सभाको बैठक स्थगित गरिएको जानकारी दिनुभयो । प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलका नेताहरुले असंवैधानिक ढङ्गले गरिएको प्रतिनिधि सभा विघटनले अस्थिरता सिर्जना गरेको भन्दै सच्चिनुपर्ने बताउनुभयो ।
प्रदेश सभाको बैठकमा शुभकामना दिँदै मुख्यमन्त्री पौडेलले प्रदेश सभामा देखिएको फरक मत र असन्तुष्टिहरुलाई सम्मान गरिने बताउनुभयो । पाँच वर्षका लागि जनताबाट अख्तियारी पाएको सरकारका प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटन गरी निर्वाचनको मिति घोषणा गरेपछि फरक अवस्था सिर्जना भएको बताउँदै उहाँले केन्द्रमा विवादले केही अन्यौल र तीब्र ध्रुवीकरणको प्रतिबिम्ब प्रदेश सरकारमा परेको छ भन्नुभयो ।
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका नेता इन्द्रबहादुर बानियाँले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको मर्म र भावना विपरीत प्रतिनिधि सभा विघटन गरेको बताउँदै जनताले दिएको स्थिर सरकारलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र उसको नेतृत्वको सरकारले अस्थिरता सिर्जना गरेको बताउनुभयो ।
नेकपा फुटोस् भन्ने पक्षमा काँग्रेस छैन, तपाईहरु मिल्नुहोस्, भन्दै नेता बानियाँले भन्नुभयो, संविधान बनाउने समयको मनसाय र परिकल्पना विपरीत प्रतिनिधि सभ विघटन गरेर नेकपा र प्रधानमन्त्री ओलीले जनताको अपहेलना र लोकतन्त्रप्रति वितृष्णा फैलाउने काम गरेको छ ।
नेकपाका नेता अष्टलक्ष्मी शाक्यलेले प्रधानमन्त्रीलाई अहिलेको अवस्थामा प्रतिनिधि सभा विघटन गर्ने अधिकार नभएको बताउँदै प्रधानमन्त्री ओलीबाट संविधान कुल्चिने र गणतन्त्रमाति धावा बोल्ने काम भएकाे बताउनुभयो ।
उहाँले भन्नुभयो, प्रतिगमन नसच्चिए नेपालको भविष्य अन्धकारमय हुनेछ ।
विवेकशील साझा पार्टी रमेश पौड्यालले प्रधानमन्त्री राजनीतिक उपलब्धिलाई उल्ट्याउनेतर्फ अग्रसर भएको आरोप लगाउँदै प्रधानमन्त्रीको असंवैधानिक निर्णयले मुलुकलाई अन्धकारतर्फ धकेलेको बताउनुभयो ।
नेपाल मजदूर किसान पार्टीका प्रदेश सभाका सदस्य सुरेन्द्रराज गोसाइले राजनीतिक दलहरु विवादमा फस्न नहुने गर्दै बताउँदै उहाँले अवसरवादले लोकतन्त्रलाई बलियो नबनाउने बताउनुभयो ।
यस्तै प्रदेश सभाका सदस्य रीता माझीले अहिलेको नेकपाभित्रको विवाद कोरोना भाइरसपीडितको पक्षमा नभएर पद र प्रतिष्ठाको लागि भएको बताउनुभयो । प्रदेश सभाका सदस्य रीना गुरुङले नेकपालाई जनताले दुई तिहाइ बहुमत दिँदासमेत नेपाल विदेशीको चलखेल गर्ने स्थलमा परिणत भएको बताउनुभयो ।
यसअघि प्रदेश सभा बैठकमा सभामुखले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त अधिवेशन आव्हानसम्बन्धी पत्र, विधेयक प्रमाणिकरणको पत्र, प्रदेश प्रमुखले कार्यभार तोकेको पत्र पढेर सुनाउनुभएको थियो ।
बागमती प्रदेशमा दुई तिहाई बहुमत भएको नेकपाकै ४५ प्रदेश सभाका सदस्यहरुले मुख्यमन्त्री विरुद्ध गत पुस १० गते तीन जना मन्त्रीहरुको राजीनामासहित अविश्वासको प्रस्ताव दर्ता गराएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?