logo
२०८१ बैशाख १५ शनिवार



सहायक सामग्रीले फेरिएको जीवन

खुला |


सहायक सामग्रीले फेरिएको जीवन


शिवा तामाङ

काठमाडौँ, मङ्सिर २७ गते । सौरी चौधरी घरको छतबाट खसेर अचेत हुनुभयो । ढाडमा चोट (स्पाइनल कर्ड इन्जुरी) भएकाले उपचारपछि पनि उहाँको अवस्था सामान्य हुन सकेन । ओछ्यान पर्नुभएकी चौधरीले फिजियोथेरापी सेवा लिनुभएपछि स्वास्थ्यमा केही सुुधार भयो ।
अपाङ्गता भएकाले प्रयोग गर्ने सहयोगी सामग्री पाएमा उभिएर सामान्य काम गर्न सक्ने भइन्छ भनेर उहाँले थाहा पाउनुभयो । नित्य कर्मका लागि समेत आफैँ जान नसक्ने चौधरीलाई उभिएर फेरि हिँड्न सक्ने भइन्छ भन्दा त पत्यार नै लागेको थिएन तर हिँड्न सहयोग गर्ने साधन (एल्बो कर्चेज) पाएपछि उहाँ पुनः उभिएर हिँड्ने मात्र होइन घर–पसलको समेत काममा परिवारलाई सहयोग गर्ने हुनुभयो ।
दाङदेखि भृकुटीमण्डपस्थित राष्ट्रिय अपाङ्गता कोष तथा पुनस्र्थापना केन्द्रमा एल्बो कर्चेज फेर्न आउनुभएकी चौधरीले आफ्नो विगतको अनुभव सुनाउनुभयो । ‘‘घरमै लडेर मेरो अवस्था अपाङ्गता भएको व्यक्तिमा परिणत भयो । फेरि पहिलाको जस्तै जीवन मैले नपाए पनि सहायक सामग्रीको सहयोगमा म स्वावलम्बी भएर बाँचेको छु’’, उहाँले भन्नुभयो ।
त्यसैगरी नुवाकोट जिल्लाको विदुर नगरपालिका–१२ निवासी रत्नबहादुर मिजारको देव्रे खुट्टाको घुँडामुनिको भाग ग्याङ्रिङ रोगका कारण शल्यक्रिया गरी फ्याँकिएको छ । उहाँ पनि कोषको सम्पर्कमा पुगेर कृत्रिम खुट्टा लगाएर ठमठमी हिँड्नुहुन्छ । सात वर्षअघि खुट्टा काट्नुपर्दा जिन्दगी सकियो, बाँचुन्जेल परिवारको बोझ हुने सोच बनाउनुभएका मिजारलाई कृत्रिम खुट्टाको सहायताले काम गरी परिवार पालिरहनुभएको छ । शरीरका अन्य भाग जोगाउन खुट्टा काट्नुपरेको नमीठो अनुभव सुनाउनुहुने मिजारको बाँकी जीवन सहायक सामग्रीले केही सहज बनाएको छ ।

 सहायक सामग्री पाउन कठिन
चौधरी र मिजार दुई जना अपाङ्गता सहायता सामग्री पाउने भाग्यमानी व्यक्तिमध्ये पर्नुहुन्छ । नेपालमा अपाङ्गता सहायता सामग्री ज्यादै कम बन्ने भएकाले आवश्यकता अनुसार सबैले नपाउँदा पाउनेलाई भाग्यमानी नै ठान्नुपर्ने अवस्था छ ।
राष्ट्रिय अपाङ्गता कोषले मात्र यस्तो सहायक सामग्री बनाउने र निःशुल्क वितरणसमेत गर्दछ भने दातृ सङ्घसंस्थाले दिएको सहायक सामग्री बाँड्ने गर्दछ । केही निजी र संस्थागत रूपमा ती सामग्री उपलब्ध भए पनि ज्यादै खर्चिलो छ ।
अपाङ्गतासँग गरिबी र अभाव सँगसँगै जोडिने विषय हो, सहायक सामग्री ज्यादै महँगो हुन्छ । ती वर्गले किनेर प्रयोग गर्न सक्दैनन् । त्यसकारण दिन सक्नेसँग न्यूनतम रकम लिए पनि नसक्नेलाई निःशुल्क वितरण गर्दै आएको कोषका अध्यक्ष रमेश लामा बताउनुहुन्छ ।
त्यस्तो सहायक सामग्रीको माग अत्यधिक भए पनि कोषमा पर्याप्त रकम नहुँदा माग अनुसार सामग्री उत्पादन गर्न नसकेर यस वर्ष एक हजार पाँच सय जनालाई मात्र सामग्री दिने योजना रहेको अध्यक्ष लामाको भनाइ छ ।

 प्राविधिक जनशक्ति कम
अपाङ्गता सहायक सामग्री बनाउने कोषमा कार्यरत रामबहादुर थापासहित दक्ष जनशक्ति करिब ४० जना मात्रै नेपालमा छन् । थापाले छात्रवृत्तिमार्फत कम्बोडियामा चार वर्षे सहायक सामग्री बनाउने कोर्ष पूरा गर्नुभयो । स्वदेश फर्केर कोषमा सहायक सामग्री उत्पादन गरिरहनुभएको छ ।

 कोषका सेवा
कोषले विगत ३७ वर्षदेखि अपाङ्गता भएका व्यक्तिका लागि दैनिक आवश्यक पर्ने फिजियोथेरापी÷अकुपेसनल थेरापी, कृत्रिम हात, खुट्टा, क्यालिपर, हात खुट्टाका अर्थोसिस, अर्थोपेडिक जुत्ता, ह्विलचियर, वाकर, बैसाखी, एल्बो कर्चेज, सेतो छडी आदि सामग्री सेवा प्रदान गर्दै आएको छ । कोषले विगत चार वर्षमा तीन हजार ४५७ जनालाई सहायक सामग्री प्रदान गरेको छ । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?