logo
२०८१ बैशाख १५ शनिवार



ट्राफिक व्यवस्थापनमा कडाई, जैमिनीका सडकमा भाडादर कायम

खुला |


ट्राफिक व्यवस्थापनमा कडाई, जैमिनीका सडकमा भाडादर कायम



नवीन शिशिर विक
बागलुङ, कात्तिक १ गते । बागलुङकाे जैमिनी नगरपालिकाले नगरका १८ वटा मुख्य सडकमा संचालन हुने सार्वजनिक सवारी साधनको भाडादर तोकेको छ ।
सार्वजनिक सवारी साधनको भाडादर कायम समितिको बैठकले नगरभित्रका १८ कच्चि सडकलाई अस्थायी रुट उपलब्ध गराउने र दर कायम गर्न जिल्ला यातायात व्यवस्थापन समितिलाई अनुरोध गर्दै सवारी भाडादर तोकेको हो ।
सदरमुकाम बागलुङ बजारबाट नगरपालिकाको मुकाम रहेको कुश्मीशेरा पुग्ने सडकमा प्रति किलोमिटर बसका लागि ६ सय र जिप तथा पिकअप भ्यानका लागि ७ सात सय रूपियाँ भाडा तोकिएको छ । २१ किलोमिटर उक्त सडकमा पछिल्लो समय सवारी साधनहरुले २५० देखि ४५० सम्म लिँदै आएका छन् । नयाँ भाडादर कार्यान्वयनमा आउँदा बसले १२६ रुपियाँ र पिकअप भ्यान तथा जीपले १ सय ४७ रुपैयाँ मात्रै लिन पाउने छन् । उक्त सडकमा गुड्ने सवारीले मनलाग्दी भाडा असुलेको भन्दै सर्वसाधारणले गुनासो गरेपछि नगरपालिकाले भाडादर कायम गर्न समिति बनाएको थियो । चाड पर्व नजिकिएकाले नगरले बनाएको समितिले तत्कालै बैठक बसेर भाडादर कायम गरिएको समितिका अध्यक्ष तथा वडा नं. ८ का अध्यक्ष बिजय अधिकारीले जानकारी दिनुभयाे ।
त्यस्तै नगरको मुकाम कुश्मीशेरा बजारदेखि वडा कार्यालयसम्म पुग्ने सडकहरुको भने फरक फरक भाडादर तोकिएको छ । कच्चि भएर पनि केही सुधार भएका सडकहरुमा प्रति किलोमिटर बसका लागि ९ रुपैयाँ र जिप तथा पिकअप भ्यानका लागि १९ रुपियाँ भाडा तोकिएको छ । त्यस्तै कच्चि र अफ्ठेरा सडकहरुमा गुड्ने सवारीले बस भए प्रति किलोमिटर १० रुपैया र जिप तथा पिकअप भए प्रतिकिलोमिटर ११ रुपैयाँ लिन पाउने व्यवस्था गरिएको समितिका सदस्य एवं इञ्जिनियर बिबेक सापकोटाले बताउनुभयाे । जिल्ला यातायात व्यवस्थापन समितिले सदर गरेपछि भाडादर कार्यान्वयनमा आउने छ । शुक्रबार व्यवसायी, उद्योग बाणिज्य संघ, यातायात व्यवस्था कार्यालय, प्रहरी, ट्राफिक प्रहरी लगायतको उपस्थितीमा बसेको बैठकले भाडा दर निर्धाण गरेको हो । नगर भित्रै लामो दुरी रहेका सडकहरुको पनि ठाउँ अनुसारको भाडा तोकिएको छ ।
बागलुङ कुश्मीशेरा सडक कालोपत्रेको चरणमा छ । यो सडक कालोपत्रे भएपछि भने पुनः भाडा समायोजन हुने नगरपालिकाले जनाएको छ । कालिगण्डकी करिडोर हुँदै गुड्ने सवारी १८ किलोमिटर भन्दा कम गुड्दानै कुश्मीशेरा पुग्छन् भने एसियाली बिकास बैंकले बनाएको कृषि सडकको दुरी २१ किलोमिटर हो । उक्त सडकको कुश्मीशेरा तर्फको झण्डै साडे दुईकिलोमिटर र बागलुङ बजार तर्फको चार किलोमिटर सडक पक्कि छ ।

संक्रमण र सुरक्षालाई ध्यान दिएर ट्राफिक व्यवस्थापन

चाडपर्वमा हुने सवारी दुर्घटना न्युनिकरण तथा कोरोना संक्रमण रोकनाथमको लागि जिल्ला ट्राफिक कार्यालय बागलुङले ‘चाडपर्व विशेष ट्राफिक योजना’ सुरु गरेको छ ।
सवारी आवागमनलाई सहज, सडक प्रयोगकर्ताको सुरक्षा, सवारी दुर्घटना न्युनिकरण र चाडपर्वको समयमा हुनसक्ने ठगी नियन्त्रणका लागि सुरक्षा योजना लागु गरेको हो ।
यात्रुहरुको सहजता र कोरोना जोखिम न्युनिकरण गर्न जिल्ला प्रवेश गर्ने प्रमुख पाँच नाकामा मालढुङ्गा, चिप्लेटी बसपार्क, हटिया, खर्वाङ्ग र बुर्तिवाङ्गमा नागरिक सहायकता कक्ष स्थापना गरेको जिल्ला ट्राफिक कार्यालय बागलुङका प्रमुख प्रहरी नायव निरीक्षक शिवप्रसाद पाठकले जानकारी दिनुभयो ।
सहायकता कक्षमा रहने ट्राफिक तथा प्रहरीले मास्क तथा सेनिटाईजरको प्रयोग, सामाजिक दुरी कायमको अवस्था पनि हेर्ने र आवश्यक सुझाव प्रदान र समन्वय गर्ने छन् ।
चाडपर्वको मौका छोपेर यात्रुसँग बढी भाडा असुल गर्ने, बाटोमै ओराली दिने, स्वास्थ्य मापदण्ड पालना नगर्ने जस्ता समस्यालाई ध्यानमा राखेर जिल्ला प्रहरी कार्यालयसँगको समन्वयमा विशेष योजना तयार गरेको उहाँले बताउनुभयो ।
नागरिक सहायता कक्षबाट बढी भाडा, स्वास्थ्य सुरक्षा मापदण्डको कार्यान्वयन जस्ता छिटो छरितो हुने सेवा प्रवाह गर्ने तथा अन्य कारवाहीको लागि जिल्लामा सिफारिस गर्ने ट्राफिक प्रमुख पाठकको भनाइ छ ।
चाडपर्वमा कच्ची सडकको दुर्घटना, क्षमता भन्दा बढी यात्रु राख्ने, सिकारु दुर्घटना, कोरोना त्रासकोबीच सवारी चेकजाँचमा जोखिम भएको उहाँले बताउनुभयो । ट्राफिक व्यवस्थापनको लागि प्रत्येक पोष्टमा दुई जना प्रहरी थप गरिएको छ ।
विगतमा यात्रु ठगिने क्रम बढी भएको हुँदा दक्षिण भेगमा कालीगण्डकी करिडोरमा हप्ताको तीन दिन र पश्चिम क्षेत्रमा पर्ने मध्यपहाडी लोकमार्गमा हप्ताको तीन दिन नियमित गस्ती गर्ने पाठको भनाई छ ।
सादा पोषाकमा प्रहरी परिचालन गरी मध्यपहाडी लोकमार्ग, कालीगण्डकी करिडोर तथा मुख्य सडक आसपास र टिकट काउन्टरमा निगरानी हुनेछ । 

 
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?