logo
२०८१ बैशाख १४ शुक्रवार



बागमती प्रदेशका सबै पालिकामा प्रहरीको गुनासो पेटिका

खुला |


बागमती प्रदेशका सबै पालिकामा प्रहरीको गुनासो पेटिका
तस्विर–फाइल


केशवराज पौडेल
काठमाडौं, असोज १ गते । नागरिकले प्रहरीलाई केही गुनासो भए अब पालिकामै रहेको गुनासो पेटिकामा राख्न पाइने भएको छ । प्रहरी कर्मचारीहरुसंग सम्बन्धित गुनासो तथा सुझाव संकलन गरी प्रहरी सेवालाई थप प्रभावकारी बनाउन बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले प्रदेश स्थानीय तहमा गुनासो तथा सुझाव संकलन पेटिका राखेको हो । बिहीबार एक महानगरपालिका,एक उपमहानगरपालिका ,२५ नगरपालिका तथा एक गाउँपालिकामा सुझाव पेटिका राखिएको प्रहरी निरीक्षक बागमती प्रहरी कार्यालयका प्रहरी निरीक्षक एंव सूचना समन्वय अधिकारी रोसन थापाले जानकारी दिनुभयो ।

प्रहरीको गुनासो प्र्रहरी कार्यालयमा गएर भन्दा स्थानीय तहका कार्यालयमा गएर गर्न सक्ने भएकाले गुनासो पेटिका राखिएको थापाले बताउनुभयो ।  उहाँका अनुसार प्रहरी कार्यालयका प्रहरी कर्मचारीहरुबाट सम्पादन भएका कामकारवाहीको सम्बन्धमा आम नागरिकबाट प्राप्त हुने सल्लाह, सुझावका साथै गुनासोलाई उचित सम्बोधन गरि प्राप्त सल्लाह सुझाव अनुरुप प्रहरी सेवालाई परिमार्जन गर्ने उद्देश्यले गुनासो तथा सुझाव पेटिका संचालन सम्बन्धि कार्ययोजना समेत बनाएको छ । कार्ययोजना अनुसार तीन वटा चरणमा गरी सबै स्थानीय तहको केन्द्र रहेको कार्यालय र वडा स्तरसम्म गुनासो तथा सुझाव संकलन पेटिका राखिने उहाँले बताउनुभयो ।

प्रथम चरणमा महानगरपालिका, उपमहानगरपालिका र सदरमुकाममा रहेको पालिकामा, दोस्रो चरणमा सबै गाउँपालिका र तेस्रो चरणमा सबै वडा कार्यालयहरुमा गुनासो तथा सुझाव संकलन पेटिका राख्न लागेको प्रहरी निरीक्षक थापाले स्पष्ट पार्नुभयो ।

उहाँका अनुसार प्रथम चरण अन्तर्गत मिति २०७७ असोज १ गतेबाट प्रदेश भरीका २५ नगरपालिकका, एक वटा महानगरपालिका एक वटा उप–महानगरपालीका र एक वटा गाँउपालिका गरी २८ वटा स्थानीय तहमा गुनासो तथा सुझाव संकलन पेटिका राखिएको र त्यो क्रम निरन्तर रुपमा चल्ने उहाँले बताउनुभयो ।
पेटिका हरेक महिनाको १ गते सम्बन्धित पालीकाका प्रतिनिधी तथा जिल्ला प्रहरी कार्यालय वा नजिकको युनिटका प्रहरीको संयुक्त रोहबरमा पेटिकामा रहेका पत्रहरु निकाली दस्तखत सहित खामबन्दी गरी संकलन गरिने उहाँले जानकारी दिनुभयो ।

पत्रहरु प्रदेश प्रहरी कार्यालयको लागि संकलन गरिने भएकोले उजुरीकर्ताको गोप्यता समेतलाई ध्यानमा राखी पेटिकामा भएको पत्र नखोली, नपढी सुरक्षित साथ जिल्ला प्रहरी कार्यालयहरुले विभिन्न पालिकाहरुबाट एकमुष्ठ संकलित पत्रहरु बागमती प्रदेश प्रहरी कार्यालयले प्राप्त गर्ने गरी पठाउने व्यवस्था मिलाइएको उहाँले बताउनुभयो ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?