logo
२०८१ बैशाख १५ शनिवार



सवा चार हजार नेपालीलाई स्वदेश ल्याइयो

मुख्य समाचार |


सवा चार हजार नेपालीलाई स्वदेश ल्याइयो


सीता शर्मा

काठमाडौँ, असार ८ गते । कोरोनाका कारण विदेशमा अलपत्र परेका सात सयभन्दा बढी नेपाली नागरिक आइतबार स्वदेश आइपुगेका छन् । केही श्रम गन्तव्य देशको एयरलाइन्सबाट र केही नेपाल सरकारले व्यवस्था गरेको चार्टर्ड उडानमार्फत आइतबार स्वदेश आइपुगेका हुन् । कतारको दोहा, साउदी अरब, संयुक्त अरब इमिरेट्स (यूएई) र कुवेतबाट गरेर ७१२ नेपाली नागरिक स्वदेश आइपुगेका हुन् ।
साउदी अरब र कतारबाट हिमालय एयरलाइन्सको चार्टर्ड उडान र यूएईबाट नेपाल एयरलाइन्सको चार्टर्ड उडानले स्वदेश फिर्ती गरेको हो भने कुवेतबाट कुवेत सरकारले नै व्यवस्था गरेको जजिरा एयरलाइन्समार्फत नेपाली नागरिक स्वदेश आइपुगेका हुन् । कतारबाट १४९, कुवेतबाट १६६, यूएईबाट १५१ र साउदी अरबबाट २४७ जना स्वदेश फर्किएको नेपाल नागरिक उड्ययन प्राधिकरणले जनाएको छ ।
आजसम्म विभिन्न देशबाट चार हजार २१७ नेपाली फर्किए, सरकारले विदेशमा रहेका नेपालीलाई स्वदेश फर्किन अनुमति दिएपछि चार हजार २१७ जना फर्किसकेका छन् । कोरोना सङ्कट व्यवस्थापन समितिका अनुसार गएको जेठ २३ गतेदेखि असार ७ गतेसम्म विभिन्न १२ देशबाट भएका ३२ उडानमार्फत त्यो सङ्ख्याका नेपाली स्वदेश फर्किएका हुन् । हालसम्म कुवेत, साउदी अरब, कतार, संयुक्त अरब इमिरेट्स (यूएई) मलेसिया, कतार, मालदिभ्स, दक्षिण कोरिया, बङ्गलादेश, ओमान, थाइल्यान्ड, सिङ्गापुर, जापान, श्रीलङ्काबाट नेपाली फर्किएका छन् । नेपाल सरकाले कोरोनाका कारण विभिन्न ३० देशमा अलपत्र परेका २४ हजार १४८ नेपालीलाई पहिलो चरणमा स्वदेश ल्याउने सूची सार्वजनिक गरिरहेको छ ।

साउदीबाट चार सय फर्किए
कोरोना सङ्क्रमणको असहज परिस्थितिका कारण एवं साउदी अरबमा आफ्नो करार अवधि पूरा गरेका २४७ नेपाली दोस्रो चार्टर्ड उडानमार्फत आइतबार स्वदेश फर्किए । साउदीस्थित नेपाली दूतावासका अनुसार जसमा विगत छ महिनादेखि नेपाली दूतावासको सेल्टरमा रहेका चार महिलासहित १२ महिला पनि स्वदेश फर्किएका छन् । गत बिहीबार भएको पहिलो चार्टर्ड उडानबाट १५३ नेपाली स्वदेश फर्केका थिए । साउदीबाट तत्काल दुई हजार ५०० नेपालीलाई स्वदेश फर्काउनुपर्ने अवस्थामा रहेको दूतावासले जनाएको छ ।

यूएईबाट फर्किए ४८७ नेपाली
यूएईमा कोरोनाका कारण समस्यामा परेका १५१ जना नेपाली तेस्रो उडानमार्फत स्वदेश आइपुगेका छन् । हिमालय एयरलाइन्सको उडान नम्बर एच–९ (५६७२) मार्फत फर्कनेमा २५ महिला र १२६ पुरुष रहेको यूएईस्थित नेपाली दूतावासले जनाएको छ । यूएईबाट तीनवटा उडानमार्फत ४८८ जना स्वदेश फर्किसकेका छन् । यूएईबाट शनिबार एयर अरबियामार्फत १६८ र यसअघि पनि यूएईबाट १६९ नेपाली स्वदेश फर्किसकेका छन् । यूएईबाट नेपाल फर्किनेमा ज्येष्ठ नागरिक, महिला, आफन्त गुमाएका परिवारका सदस्य र भिजिट भिसामा आएर समस्यामा परेका रहेका दूतावासले जनाएको छ । त्यस्तै केही बिरामी तथा घाइते पनि आइतबारको उडानमा आएका छन् । यूएईबाट फर्किएका सबैको विमानस्थलमा कोरोना परीक्षण गरिएको छ ।

कतारबाट आइतबारसम्म २० शवसहित १९२ फर्किए
कतारको दोहाबाट १४९ जना नेपाली स्वदेश आइपुगेका छन् । नेपाल एयरलाइन्सको चार्टर्ड उडान नम्बर आर ए २३९२ मार्फत १४९ जना नेपाली स्वदेश फर्किएको त्यहाँ रहेको नेपाली दूतावासले जनाएको छ । जसमध्ये तीन नाबालक, २९ सुत्केरी गर्भवतीसहित ८२ महिला र ६४ पुरुष रहेको दूतावासले जनाएको छ । अर्को उडान सोमबार र बुधबार हिमालय एयरलाइन्समार्फत हुने दूतावासले जनाएको छ । दूतावासका अनुसार सरकारले निर्धारण गरेको प्राथमिकताका आधारमा पहिलो चरणमा नेपाल फर्किनैपर्ने नेपालीको सङ्ख्या पाँच हजार ११२ जनाको नाम सार्वजनिक गरेको छ । उक्त सूचीमध्ये प्राथमिकतामा पर्ने नागरिकलाई दूतावासले सूचनामार्फत वा प्रत्यक्ष रूपमा आफैँ सम्पर्क गर्ने गरेको छ । यसअघि आममाफी पाएका ४३ जना र २० वटा शव कतार सरकारले नेपाल पठाइसकेको छ ।

कुवेतबाट अहिलेसम्म एक हजार ६४ नेपाली फर्किए
कुवेतमा आममाफीमा सहभागी १६६ नेपाली स्वदेश आएका छन् । भिसाको अवधि सकिएर नवीकरण नगरेका र रोजगारदाता परिवर्तन गर्दा लागेको जरिवाना माफ गर्दै कुवेतले आममाफीको अवसर दिएर निःशुल्क काठमाडौँसम्म ल्याइदिएको हो । फर्कनेमा एक पुरुष, छ बालबालिका र १५९ महिला आएका छन् । आममाफीमा सहभागी सबैलाई आफैँले सेल्टरको व्यवस्था गरेको कुवेतले दिनहुँ नेपालीलाई काठमाडौँ ल्याइरहेको छ । आममाफी सहभागी भएका दुई हजार ९९१ छन् । आममाफीमा सहभागीमध्ये सातवटा उडानमार्फत एक हजार ६४ नेपाली स्वदेश फर्किएका छन् ।

कोरियाबाट फर्किए २२८ नेपाली
यसैगरी शनिबार नियमित अन्तर्राष्ट्रिय उडानमाथि लगाइएको प्रतिबन्धका कारण दक्षिण कोरियामा समस्यामा परेका २२८ नेपाली स्वदेश फिर्ती भएका छन् । सोही विमानले बिदामा आएका २३३ नेपाली श्रमिकलाई लिएर फर्किएको छ । यो उडानको संयोजन एनआरएन दक्षिण कोरियाले गरेको जनाइएको छ । कोरियामा कोरोनाका कारण समस्यामा परेर तत्काल स्वदेश ल्याउनुपर्नेको सङ्ख्या ९७२ रहेको दूतावासले जनाएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?