logo
२०८१ बैशाख १४ शुक्रवार

  सुदूरपश्चिम नाका अपडेट  



चार हजार २२५ नेपाली भित्रिए, ६८७ भारतीय बाहिरिए

खुला |
प्रदेश |


चार हजार २२५ नेपाली भित्रिए, ६८७ भारतीय बाहिरिए


चाँदनी आचार्य
लम्की, जेठ २२ गते । भारतबाट नेपाली नागरिक तीन सातादेखि सुदूरपश्चिमका मुख्य दुई नाकाबाट दैनिक हजारौँको सङ्ख्यामा नेपाल भित्रिएका छन् । बिहीबार कञ्चनपुरको गड्डाचौकी र कैलालीको गौरीफन्टा नाकाबाट चार हजार २२५ जना नेपाली नागरिक भित्रिएका छन् । यस्तै ६८७ भारतीय नागरिक आफ्नो देश फिर्ता गएका छन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब निरीक्षक रविन्द्रनाथ पौडेलले गड्डाचौकी नाकाबाट एक हजार २२२ नेपाली नागरिक भित्रिएको बताउनुभयो भने २४७ भारतीय नागरिक बाहिरिएको बताउनुभयो । उक्त नाकाबाट नेपाली आउने क्रम कम हुँदै गए पनि गौरीफन्टा नाकाबाट भने दैनिक हजारौँको सङ्ख्यामा नेपाली भित्रिने क्रम जारी छ ।

सशस्त्र प्रहरी बल ३४ नम्बर बाहिनी कैलालीका सशस्त्र प्रहरी उपरीक्षक कमल तिमिल्सेनाले बिहीबार साँझसम्म कैलालीको गौरीफन्टा नाकाबाट तीन हजार तीन नेपाली भित्रिएको बताउनुभयो । साथै, उहाँले उक्त नाका भएर ४४० भारतीय बाहिरिएको समेत जानकारी दिनुभयो । योसँगै सुदूरपश्चिम प्रदेशका विभिन्न नाका भएर जेठ २ गतेयता नेपाल भित्रिने नेपालीको सङ्ख्या करिब ७९ हजार पुगेको छ भने बाहिरिने करिब ११ हजार पुगेको छ ।

सीमा प्रवेश गरेका नेपालीलाई विभिन्न जिल्लाका स्थानीय तहले सीमामै गाडी व्यवस्था गरी उद्धार गरी क्वारेन्टाइनमा राखेका छन् । भारतबाट दैनिक मानिस थपिँदै गएपछि स्थानीय तहले क्वारेन्टाइन व्यवस्थापनमा समस्या भएको बताएका छन् ।

सुदूरपश्चिम प्रदेशमा भारतबाट आएका करिब ६० हजार क्वारेन्टाइनमा
स्वास्थ्य निर्देशनालय, डोटीका अनुसार सुदूरपश्चिम प्रदेशमा बुधबार साँझसम्म क्वारेन्टाइनमा बस्नेको सङ्ख्या करिब ६० हजार पुगेको छ । अछाममा पाँच हजार ९८८, बैतडी पाँच हजार ८६५, बझाङ दुई हजार ९९८, बाजुरा चार हजार २९०, डडेल्धुरा चार हजार ४९९, दार्चुला एक हजार ४५१, डोटी आठ हजार ५८९ र कञ्चनपुरमा सात हजार ९७९ मानिस क्वारेन्टाइनमा बसेका छन् । त्यसैगरी, सुदूरपश्चिम प्रदेशका नौ जिल्लामध्ये कैलाली जिल्लामा सबैभन्दा बढी १५ हजार ७६९ मानिस क्वारेन्टाइनमा बसेका छन् ।

कैलालीको १३ स्थानीय तहका ३३८ क्वारेन्टाइनमा उक्त सङ्ख्यामा भारतबाट आएका नेपाली नागरिक बसेका हुन् । जिल्लाका स्थानीय तहमध्ये सबैभन्दा बढी घोडाघोडी नगरपालिकामा ५२ क्वारेन्टाइनमा २७ सय बढी मानिस बसेका छन् । नगरप्रमुख ममताप्रसाद चौधरीले नगरपालिकाभित्रका विद्यालय, सामुदायिक भवन, चर्चसमेत भरिएपछि भारतबाट आउनेलाई त्रिपाल तथा टिनको अस्थायी टहरा बनाई राखिएको बताउनुभयो ।

जेठ २ गते आएका क्वारेन्टाइनमा बस्न थालेको तीन साता पुग्दासमेत परीक्षण नहुँदा उनीहरूलाई घर पठाउन समस्या भएको छ । स्वास्थ्य शाखा प्रमुुख कैलाश रावतले ५३ जनाको स्वाब परीक्षणका लागि पठाइएको एक साता बित्दासमेत रिपाेर्ट नआउँदा क्वारेन्टाइनमा बसेकाहरू घर जाने भन्दै आक्रोशित बनेको बताउनुभयो । आरडिटी परीक्षणका लागि किटको समेत अभाव भएपछि पहिला आएका मानिस तीन सातादेखि क्वारेन्टाइनमै छन् भने दैनिक दुई सयदेखि तीन सयसम्म थपिँदै गएको शाखा प्रमुख रावतले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?