logo
२०८१ बैशाख १५ शनिवार



कर्णाली करिडोर निर्माण छिचलियो च्याछरा भीर

खुला |


कर्णाली करिडोर निर्माण छिचलियो च्याछरा भीर


राजन रावत

सिमकोट, जेठ १० गते । कर्णाली करिडोरको निकै असजिलो खण्डमा पर्ने च्याछरा भीरको प्रारम्भिक ट्रयाक खोल्ने कार्य चार वर्षमा पूरा भएको छ । निर्माण कम्पनीले तोकिएको अवधिमा काम सुरु गरे पनि पटक पटक प्राविधिक कठिनाइले काम रोकिएको थियो । अहिले बन्दाबन्दीमा काम नियमित गरिँदा कडा चट्टानी भागमा ट्रयाक खोल्ने कार्य पूरा गरिएको छ ।
निर्माण कम्पनी सपना धुलिखेल जेभीका प्रतिनिधि तेजबहादुर महतले असजिलो र चट्टानी भागमा विष्फोट गरेर सडकको प्रारम्भिक ट्रयाक खोल्ने कार्य सम्पन्न भएपछि अन्तिम छेउसम्म मेसिन ल्याई सम्याउने कार्य मात्र बाँकी रहेको बताउनुभयो । उक्त भीर चार सय मिटर लम्बाइको छ । हिल्सा–सिमकोट सडक आयोजनाका प्रमुख सशांक मिश्रले च्याछरा खण्डको भीर फुटाउने कार्य पूरा भएसँगै प्रारम्भिक ट्रयाक खोल्ने कार्य सम्पन्न भएको बताउनुभयो । अब आगामी असार मसान्तसम्म उक्त खण्डमा गाडी गुड्ने आयोजनाले जनाएको छ । चार वर्ष अगाडि निर्माण सुरु भए पनि विस्फोटक पदार्थको अभावले दुई वर्ष केही काम मात्र भएको थियो ।
यता धारापोरीदेखि च्याछरासम्मको चार किलोमिटर सडकको निर्माण कार्य पनि अन्तिम चरणमा पुगेको बताइएको छ । विस्फोटक पदार्थले साथ दिए आगामी असार मसान्तसम्म यो पनि सम्पन्न गर्ने तयारी आयोजनाले गरेको छ । यो कार्य पूरा भए हिल्सा–सिमकोट सडकले पूर्णता पाउने छ । हिस्ला–सिमकोट सडक ९५ किलोमिटरको छ । आयोजनाले गत २०६९ सालबाट निर्माण कार्य थालेको थियो भने आर्थिक वर्ष २०५५÷५६ बाट उक्त खण्डको सडक तत्कालीन जिल्ला विकास समितिको आन्तरिक स्रोतबाट निर्माण कार्य सुरु गरिएको थियो । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?