logo
२०७७ माघ १४ बुधवार

वाद्ययन्त्र जगेर्नामा सक्रिय हरिलाल

खुला |


2020-01-19-7306


यलु जोशी

काठमाडौँ, माघ ५ गते । आधुनिक र परम्परागत वाद्ययन्त्र जगेर्ना गरिराख्नुभएका हरिलाल नेपाली कुलुले आफैमा नेपाली सङ्गीतको इतिहास बोक्नुभएको छ । सात पुस्तादेखि नेपाली प्राचीन वाद्ययन्त्र जगेर्ना गरिराख्नुभएको उहाँको पाटन, सौगल टोलमा रहेको ‘नेपाली सांस्कृतिक बाजा उद्योग’ सङ्गीत सङ्ग्रहालय छ ।
कुलुका पुस्ता बाजागाजा बनाउन सिपालु हुनुहुन्थ्यो । वि.सं. २०१७ फागुनमा उहाँका बुबा प्रेमलाल कुलुले बाजाले सजिएको स्वागतद्वार नै बनाउनुभएको थियो । शीतल निवास जाने बाटोमा बेलायती महारानी एलिजाबेथ नेपाल आउँदा उक्त द्वारको प्रयोग भएको थियो । मौलिक द्वार बनाउने प्रतियोगिता भएको थियो र वाद्यवादनको द्वारले तेस्रो पुरस्कारसमेत प्राप्त गरेको उहाँले जानकारी दिनुभयो ।
त्यतिबेला कुलु आमाको गर्भमै हुनुहुन्थ्यो । पछि उक्त द्वारलाई उहाँले ललितपुर महोत्सवमा सार्वजनिक गर्नुभयो । ‘अब त्यही नेपाली बाजाले भरिएको स्वागत द्वार अन्तर्राष्ट्रिय बाजाहरूले भर्न चाहन्छु,’ उहाँले भन्नुभयो । ललितपुर महोत्सवका लागि मादलको मिनी गेट निर्माण गर्नुभएको थियो, जुन अहिले फोटो खिचाउन आकर्षण बनेको छ । कुलुको सङ्ग्रहालयमा जाने जोकोही पनि त्यसमा फाटो खिचाउन रुचाउने बताउनुभयो ।
विभिन्न अन्तर्राष्ट्रिय वाद्यवादनसहित अर्को मिनी गेट पनि निर्माणमा जुट्नुभएको कुलुले एकै पटक ६५ थरीका बाजा बजाउन सिपालु हुनुहुन्छ । नेपाली सेनाको ब्यान्डमा ड्रमर रूपमा काम गर्नुभएका कुलुले विदेशी मात्र होइन, नेपाली ड्रम सेट पनि बजाउनुभएको थियो ।
उक्त ड्रममा ६५ वटा नेपाली बाजाहरू जोडिएका थिए, जसमा तबलादेखि मादल, नगरा थिए । उक्त ड्रम बजाएर उहाँले टुँडिखेलमा तत्कालीन राजा वीरेन्द्रलाई एक समारोहमा सुनाउनुभएका थियो । त्यो समयमा तत्कालीन रानी ऐश्वर्यासँग आँखा जुधेको सम्झनुहुन्छ । राजपरिवारको हत्यापछि भने उहाँले उक्त ड्रम औपचारिक रूपमा बजाउने मौका कहिल्यै पाउनुभएन ।
उहाँले वाद्ययन्त्र बनाउने पुख्र्यौली सीप बाबुबाट सिक्नुभएको जानकारी दिँदै कीरा र समुद्री लहरको जस्तो आवाज निकाल्ने केही वाद्ययन्त्रको सिर्जना गरेको पनि सुनाउनुभयो ।
डम्फु आकारका रङ्गीन बाजाहरू भित्ताभरि झुन्ड्याएर राख्नुभएका कुलुले समुद्रको छालजस्तै आवाज निकाल्नुभयो । उहाँ थप्नुहुन्छ, यो मेरो नै सिर्जना हो । यस्तै मादल आकारको बाजाबाट नदी किनारामा कराउने कीराहरूको आवाज होे, डमरुजस्ता देखिने बाजाबाट हावाको तरङ्ग निकलिन्छ ।
कुलु आफै सबै किसिमका बाजागाजा बनाउन माहिर हुनुहुन्छ । धुनको संरक्षण गर्नका लागि आफूले पनि निर्माण गर्न सक्नुपर्छ । यस्ता धुन साउन्डथेरापी, म्युजिक मेडिटेसनका लागि समेत प्रयोग गर्न सकिने उहाँ बताउनुहुन्छ । मैले बनाएका साना शैलीका बाजाहरूमा पनि यो थेरापीको प्रयोग गरेको छु ।’ यस्तो किसिमको बाजा पहिलो पटक उत्पादन गर्दा भारतीयहरूले प्रदर्शनीका लागि लग्नुभएको साथीले बाजाको नाम नभएकाले त्यहाँ उहाँकै नामबाट ‘हरितरङ्ग’ नाम राखिएको प्रसङ्ग हाँस्दै सुनाउनुभयो ।
फ्याल्न राखिएका सामान उठाएर उहाँले थरीथरी बाजा बनाइदिनुहुन्छ कुलुले, थप्नुभयो ‘म जस्तोसुकै चिजको बाजा बनाइदिन्छु ।’ उहाँसँग बाजा बनाएको अनुभवकै कारण चित्र हेरेकै भरमा जस्तोसुकै कठिन वाद्यसामग्री बनाउन सक्ने दाबी गर्दै उहाँले अन्त बनाउन नसकेको वाद्यवादन पनि आफूले बनाएको जानकारी दिनुभयो ।
सङ्ग्रहालय प्रवेश गर्ने बित्तिकै सितार, सरोड, तबला, हार्मोनियम, अर्बाज, सारङ्गी, मादल, बाँसुरी सबै एकसाथ बजिरहेको प्रतीत हुन्छ । नेपाली बाजा धिमे, नगाढा, कर्नाल, ढमरु, ढ्याङ्ग्रो, डम्फुजस्ता पचासौँ बाजा उनीसँग सङ्ग्रहित छन् । त्यस्तै, गुजरात सारङ्गी, इरान, टर्कीतिर बजाइने सारङ्गी, अफ्रिकन, भारतीयलगायत दर्जनौँ इन्स्टु«मेन्ट बनाउने काममा जुटिरहनुभएको छ ।
हरिलालको बाजागाजासम्बन्धी काम जिजु हजुरबुबादेखि नै चल्दै आएको छ । उहाँले त यसलाई निरन्तरता मात्र दिएका हुन् । अब आउने नयाँ पुस्ताले पुराना तथा मौलिक बाजागाजा पहिचान गर्न सकोस् भन्दै सबै बाजाको कलेक्सन राखेको बताउनुभयो ।
उहाँले अहिले हरिलाल विद्यार्थीलाई म्युजिकको नोटेसन सिकाउने गर्नुहुन्छ, म्युजिकको ज्ञान भएपछि यस्तो काम गर्न रमाइलो हुने बताउनुभयो । म्युजिकप्रति यति धेरै ज्ञान राख्ने हरिलाल आफैले कुनै म्युजिक कम्पोजिसन भने गर्नुभएको छैन । उहाँ भन्नुहुन्छ, ‘‘अहिले म्युजिक उत्पादन गर्ने एकै खालको समूह छन् तर नयाँ सङ्गीत सिर्जना हुने सम्भावना देख्दिनँ ।’’ स्थानीय मौलिक सङ्गीतलाई अगाडि बढाउने हो भने हामीसँग थुप्रै क्रिएसन छन्, ‘तर यसको प्रयोग हुनै सकेको छैन ।’ सरकारले स्थानीय सङ्गीतलाई विकास गर्न नसकेको उहाँको गुनासो छ ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?