logo
२०८१ बैशाख १४ शुक्रवार



सडक बत्तीको सञ्चालन तथा व्यवस्थापन थालियो

खुला |


सडक बत्तीको सञ्चालन तथा व्यवस्थापन थालियो


भउचप्रसाद यादव

काठमाडौँ, माघ ३ गते । राजधानीका सडक व्यवस्थित र सुरक्षित बनाउन ट्राफिक बत्ती बाल्ने अभियान अगाडि बढाइएको छ । राजधानीलाई सुन्दर, सुरक्षित र ट्राफिक व्यवस्थापन र सडकका खाल्डाखुल्डी पुरिने कार्यसँगै बत्ती सञ्चालनमा ल्याउन लागिएको प्रधानमन्त्री केपी शर्मा ओलीका विकास व्यवस्थापन विज्ञ गजेन्द्र थपलियाले जानकारी दिनुभयो ।
राजधानीमा यातायातको उचित व्यवस्थापन गर्न सरकारले अभियान नै चलाउन लागेको बताउँदै उहाँले यसअन्तर्गत ट्राफिक बत्तीको व्यवस्थापन तथा सञ्चालन उपयुक्त ढङ्गबाट अभियान अगाडि बढाइएको जानकारी दिनुभयो ।
यस अभियानअन्तर्गत नयाँ बानेश्वर, पुरानो बानेश्वर, गौशाला, सिंहदरबार क्षेत्र, पुतलीसडक (पद्मोदय मोडमा दुईवटा, तीनकुनेमा तीनवटा, पुतली सडक चोक, ललितपुरको महापाल चोक गरी एघारवटा ठाउँमा ट्राफिक बत्तीलाई व्यवस्थित गरी पुनः सञ्चालनमा ल्याइएको जानकारी
उहाँले दिनुभयो ।
ट्राफिक बत्ती व्यवस्थापन तथा सञ्चालनको पहिलो चरणको कार्यक्रमअन्तर्गत एघार ठाउँमा बत्ती सञ्चालनमा ल्याइएको जानकारी दिँदै ट्राफिक बत्ती सञ्चालनमा आएसँगै सडक जाम न्यून भएको छ भने सडक दुर्घटनामा समेत कमी आउने विश्वास गरिएको उहाँले बताउनुभयो ।
त्यसैगरी, दोस्रो चरणअन्तर्गत एक महिनाभित्र कालीमाटीका दुईवटाका साथै जेब्रा क्रसिङका लागि पुतलीसडक, न्युरोड, सोल्टीमोड, महाराजगञ्ज शिक्षण अस्पताल अगाडि, नारायणगोपाल चोक, कालिमाटी टङ्केश्वर क्षेत्रमा, थापाथली चोक, माइतीघर चोक, कोटेश्वर चोकका ट्राफिक लाइट सञ्चालन गरिने जानकारी दिनुभयो ।
त्यसैगरी, कोटेश्वरदेखि सूर्यविनायकसम्मको रुटमा रहेका ट्राफिक लाइट छिट्टै सञ्चालनमा ल्याइने तयारी भइरहेको जनाउँदै उहाँले भक्तपुरको सूर्यविनायक, सल्लाघारी, गठ्ठाघर, कौशलटार र ठिमी क्षेत्रमा भएका ट्राफिक बत्तीमध्ये अहिले ठिमीमा रहेका बत्ती मात्र सञ्चालनमा रहेको उल्लेख गर्नुभयो । एउटा ट्राफिक बत्ती पुनः सञ्चालनमा ल्याउन छ लाख रुपियाँ खर्च भइरहेको जनाइएको छ ।

छ महिना पनि टिकेन
यसअघि २०७४ चैतमा राजधानीका आठ ठाउँमा ‘स्मार्ट ट्राफिक लाइट’ सञ्चालनमा ल्याइएको थियो । तर ती बत्ती उद्घाटन गरिएका ६ महिना नबित्दै बिग्रिएर सञ्चालन हुन सकेनन् । नेपाली प्रविधि र इन्जिनियरहरूको सहयोगमा सीसी क्यामेरासहित तयार पारिएको ट्राफिक बत्ती काठमाडौँको नयाँ बानेश्वर चोक, पुतलीसडकको पद्मोदय मोड र नारायण गोपाल चोकमा ‘इन्टरसेक्सन ट्राफिक लाइट्स’ (मुख्य चोकमा जडान गरिने ट्राफिक लाइट) सञ्चालनमा ल्याइएको थियो । नारायणगोपाल चोकमा पहिलो पटक नयाँ ट्राफिक लाइट जडान गरिएको थियो ।
त्यसैगरी, नयाँ सडक, सुन्धारास्थित काठमाडौँ महानगरपालिका कार्यालयको अगाडि, पुतलीसडक कुमारी बैङ्क अगाडि, सोल्टीमोड र दरबारमार्गस्थित नारायणहिटी सङ्ग्रहालय अगाडि पैदल यात्रुका लागि समेत बत्तीको व्यवस्थापन गरिने छ ।
उपत्यकाका चाबहिल, पुरानो बानेश्वर, मैतिदेवी, बबरमहल, त्रिपुरेश्वर, कृष्ण
पाउरोटी, मित्रपार्क, एयरपोर्ट, ग्वार्को, सातदोबाटो, जावलाखेल, एकान्त कुना, लैनचोर, हल्चोक, सोह्रखुट्टे, बल्खु, सामाखुसी चोक, महालक्ष्मी स्थान, टेकु, गैरीधारालगायतका ३४ स्थानमा ट्राफिक लाइटको आवश्यकता रहेकोे ट्राफिक महाशाखाले जनाएको छ ।
नेपालमा पहिलो पटक विक्रम संवत् २०२४ सालमा सुन्धारा, नयाँ सडक गेट, सिंहदरबार र राजदरबारको दक्षिणी गेटमा लाइट जडान गरिएको थियो, जुन विभिन्न कारणले लामो समयसम्म सञ्चालनमा
आउन सकेन ।
त्यसपछि जापान सरकारको सहयोगमा २०५८ सालमा थापाथलीसहित राजधानीका केशरमहल, दरबारमार्ग, पुतलीसडक, सिंहदरबार, पद्मोदय मोड, गौशाला, कालीमाटी, थापाथली, माइतीघर, नयाँ बानेश्वर, तीनकुने, कोटेश्वर, जडीबुटीलगायत विभिन्न स्थानमा ट्राफिक लाइट जडान गरिएको थियो, जुन २०६३ सालदेखि नै बन्द भएका थिए ।
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?