logo
२०८१ बैशाख १५ शनिवार



अवैध असुली गर्ने ४ जना पक्राउ

खुला |


अवैध असुली गर्ने ४ जना पक्राउ


शिवशंङ्कर मिश्र
बारा, मङ्सिर २६ गते ।  पथलैया वीरगंज औद्योगिक करिडोर अन्र्तगतका उद्योगहरुमा बम विष्फोट गर्ने, डर धम्की देखाई अवैध रकम असुली गर्ने चार जनालाई बारा प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय बारामा बिहीबार आयोजित पत्रकार सम्मेलनमा सो कुरा बताइएको छ ।
पक्राउ पर्नेमा बारा जिल्ला परवानीपुर गाउँपालिका वडा नम्बर–४ निवासी ३१ वर्षीय प्रमोद साह गोढ, २० वर्षीय देवशंकर राम, जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर–२० बस्ने २० वर्षीय अच्छेलाल गोसार्इं र फेटा गाउँपालिका वडा नम्बर–३ बस्ने ३९ वर्षीय दिपेन्द्रकुमार धानुकलाई प्रहरीले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक विकाशराज खनालले बताउनुभयो ।
बाराको परवानीपुरमा रहेको एम. एस. इट्टा उद्योगका संचालक बारा जिल्ला कलैया उपमहानगरपालिका वडा नम्बर–२५ बस्ने मनोज प्रसाद साह तेलीलाई उद्योगमा विष्फोट गराउने धम्की दिएर १५ लाख रुपियाँ रकम फिरौती माग गरेका थिए ।
उद्योगी मनोज साहसँग फिरौती बापत ३ लाख रुपियाँ बुझ्न बाराको चैनपुर पुगेका अभियुक्तहरुलाई प्रहरीले रंगेहात पक्राउ गरेको थियो । एता, पर्सा प्रहरीले प्रमोद साह गोढलाई २०७३ चैत्र २८ गते वीरगंज महानगरपालिका वडा नम्बर–८ स्थित सडक खण्डमा चेकजाँचको क्रममा एक थान पेस्तोल र ३ राउण्ड गोली सहित पक्राउ गरी कारवाही गरेको थियो ।
अभियुक्तहरुले बाराको प्रसौनी गाउँपालिका–४ बस्ने नन्दकिशोर प्रसाद कुम्हाललाई मोबाईलबाट ५० लाख रुपियाँ फिरौती माग गरेको र रकम नदिएपछि गत असोज १० गते निजको घरमा बम विष्फोट समेत गराएका थिए ।
त्यसैगरी, बाराको परवानीपुरस्थित नारायणी आयल रिफाईनरीमा समेत अभियुक्तहरुले रकम माग गरी नदिएपछि गत असोज २ गते उद्योगमा बम विस्फोट गराउँदै व्यवसायीसँग फिरौती रकम समेत बुझेको प्रहरीले पत्रकार सम्मेलनमा जारी गरेको प्रेस नोटमा उल्लेख गरिएको छ ।
अभियुक्तहरुलाई  आजै ५ दिनको थप अनुसन्धानका लागि बारा जिल्ला अदालतबाट म्याद थप गरिएको र मुुलुकी अपराध संहिता २०७४ परिच्छेद २१ को दफा २५३ बमोजिम अपराधिक लाभ कसुर मुद्दा चलाईएको प्रहरी उपरीक्षक खनालले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?