logo
२०८१ बैशाख १४ शुक्रवार



मोबाइल ट्याब प्रयोग गर्दै जनगणना गरिने

खुला |


मोबाइल ट्याब प्रयोग गर्दै जनगणना गरिने
तथ्याङ्क कार्यालय दाङले सल्यान सदरमुकाममा आयोजना गरेकाे राष्ट्रिय जनगणना सम्बन्धी अन्र्तक्रिया कार्यक्रम ।


प्रतीक इच्छुक शर्मा
सल्यान, मङ्सिर ६ गते । राष्ट्रिय जनगणना गर्दा मोबाईल ट्याब र कागजी दुबै प्रक्रिया अवलम्बन गरिने भएको छ । यहाँ राष्ट्रिय जणगणना २०७८ को तयारी विषयमा सल्यानमा भएको एक अन्र्तक्रियामा यस्तो जानकारी दिइएको हो ।

जनगणनालाई प्रभावकारी बनाउन सरोकारवालाका भूमिका महत्वपूर्ण हुने भएकाले जिल्लास्तर हुँदै स्थानीय तहमा पनि जनगणनाको औचित्य विषयमा जानकारी गराउन छलफल सुरु गरिएको तथ्याङ्क कार्यालय दाङका तथ्याङ्क अधिकृत तुल्सीराम पोखरलले बताउनुभयो । उहाँका अनुसार शारदा नगरपालिका , कपुरकोट गाउँपालिका कपुरकोट, वनगाड कुपिण्डे नगरपालिका सल्लीबजार र बाघचौर नगगरपालिका बाघचौरमा स्थानीय तहका केन्द्र कार्यालय स्थापना गरी काम गरिनेछ ।

जिल्लास्तरमा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जनगणना समन्वय समिति गठन गरिने छ भने स्थानीय तहको हकमा भने प्रमुख प्रशासकीय अधिकृतको संयोकत्वमा गणना क्षेत्र तोकेर गणक खटाउने तथ्याङ्क अधिकृत पोखरलको भनाई छ ।

यसैबीच, जिल्ला समन्वय समिति सल्यानका प्रमुख केशबहादुर बिष्टले तथ्याङ्क संकलनले आगामी दिनहरुमा जनसंख्यालाई हेरेर योजना छनोटमा सहयोग पुग्ने बताउनुभयो ।
राष्ट्रिय जनगणना को कार्यतालिका अनुसार ०७८ वैशाख २५ गतेदेखि जेठ १५ गतेसम्म २० दिनको लागि घरपरिवार सूचिरकरण गरिनेछ ।

त्यसैगरी जेठ २५ गतेदेखि असार ८ गतेसम्म १५ दिनको लागि मूल गणना र सामुदायिक प्रश्नावली तोकिएको छ भने असार ८ गते जनगणना दिवस मनाइने छ । यो जनगणनाको मूल नारा “मेरो गणना, मेरो सहभागिता” राखिएको छ भने लोगो पनि सार्वजनिक गरिएको छ ।

वि.सं. १९६८ देखि सुरु गरिएको नेपालको जनगणना २०२८ देखि कम्प्युटरमा अपडेट गरिन लागिएको हो भने आउँदो ०७८ बाट सफ्टवेयरमार्फत् गाउँबाटै मोबाइल ट्याबमा अपडेट गरिनेछ । नेपालमा प्रत्येक १० वर्षमा जनगणना गरिन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?