logo
२०८१ बैशाख १४ शुक्रवार



सुर्खेतमा प्रादेशिक शहीद स्मृति पार्कको निर्माण कार्य सुरु

खुला |


सुर्खेतमा प्रादेशिक शहीद स्मृति पार्कको निर्माण कार्य सुरु


ललित बसेल
सुर्खेत, कात्तिक २६ गते । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आठ करोड भन्दा बढी लागतमा शहीद स्मृति पार्क निर्माण कार्य थालिएको छ । प्रदेश प्राप्तिका लागि ज्यान गुमाएका कर्णालीका चार शहीदको स्मृतिमा कर्णाली प्रदेशको वन तथा वातावरण निर्देशनालयले वीरेन्द्रनगर ४ खोर्के भंगेरीचौरस्थित भैरम सामुदायिक वनको हाताभित्र शहीद स्मृति पार्कको निर्माण कार्य थालेको हो ।

कर्णाली प्रदेशसभा सदस्य एवं पूर्वमन्त्री यामलाल कँडेल र वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले मंगलवार सो पार्कको शिलान्याससमेत गर्नुभएको छ । यो पार्क आठ करोड बढीको लागतमा निर्माण हुनेछ । निर्देशनालयका भू तथा जलाधार व्यवस्थापन अधिकृत शिखर चपाईंले यो बर्ष पार्कका लागि दुई करोड ५० लाख बजेट बिनियोजन भएको र त्यसबाट एक करोड २८ लाखको टेण्डर भई काम थालिएको बताउनुभयो ।

पार्कमा शहीद स्तम्भ, वाल उद्यान, वनस्पति उद्यान, वनभोज पार्कलगायतका संरचनाहरु निर्माण गरिनेछन् । पार्क निर्माणको जिम्मा अभियान निर्माण सेवाले लिएको छ । यसैवर्षदेखि काम सुरु भएपछि प्रदेश सरकारले यसलाई क्रमागत योजनामा राख्ने अधिकृत चपाईंले बताउनुभयो । पार्क करिव तीन हेक्टर क्षेत्रफलमा निर्माण हुनेछ ।

पार्कको शिलान्यास गर्दै कर्णाली प्रदेसशभा सदस्य एवं पूर्वमन्त्री यामलाल कँडेलले पार्कले शहीदहरुको योगदानलाई स्मरण गराउँदै प्रदेश राजधानीमा अर्को पर्यटकीय क्षेत्रको विकास हुने बताउनुभयो । उहाँले काँक्रेविहार, बुलबुलेपछि अव शहीद स्मृति पार्कलाई पर्यटकीय क्षेत्रको रुपमा लैजानका लागि प्रदेश सरकारले बजेट बिनियोजन गरेको र यसबाट शहीदहरुको सम्झनाका साथै पर्यटनको विकास हुने अपेक्षा पनि गर्नुभयो ।

पार्कको कामलाई कुनैपनि बहानामा वीचमा नरोक्न, अलपत्र नपार्न निर्माण कम्पनीलाई सुझाव दिदैं नेता कँडेलले वरिपरिका समुदायहरुले पनि अपनत्व महसुस गरेर समयमै सक्नका लागि पहल, दवाव र निगरानी गर्न आव्हान गर्नुभयो ।

वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले नगरपालिकाभित्र निर्माण हुने शहीद स्मृति पार्कले नगरको मात्र नभइ समग्र जिल्ला र प्रदेशको गरिमा बढाउने बताउनुभयो । साथै, स्थानीय सरकारबाट हुने सबै सहयोग गर्ने प्रतिबद्धता पनि उहाँले जनाउनुभयो ।

वन तथा वातावरण निर्देशनालय कर्णाली प्रदेशका निर्देशक शिवराम अधिकारीले पार्क निर्माणको काम गतवर्षदेखि नै सुरु हुनुपर्ने भए पनि कर्मचारी समायोजना, कार्यालय खारेजका कारण एक वर्ष ढिलाई भएको बताउनुभयो । उहाँले अव पार्क निर्माणको काम द्रुत गतिमा बढ्ने र कुनै पनि बहानामा नरोकिने उल्लेख गर्नुभयो ।

वीरेन्द्रनगर नगरपालिका वडा नं. ४ का वडाध्यक्ष निलकण्ठ खनालले वडाभित्र निर्माण हुने प्रदेशको गौरवको योजना भएकोले यसमा चासो राख्न वडाबासीहरुसँग आग्रह गर्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?