logo
२०८१ बैशाख १४ शुक्रवार



विश्वसम्पदा क्षेत्र बन्यो निःशुल्क पार्किङ

खुला |


विश्वसम्पदा क्षेत्र बन्यो निःशुल्क पार्किङ


देवबहादुर कुँवर

काठमाडौँ, कात्तिक २६ गते । विश्वसम्पदा सूचीमा रहेको ऐतिहासिक तथा पुरातात्विक वसन्तपुर–हनुमानढोका दरबार क्षेत्र सर्वसाधारणका लागि पार्किङस्थल बन्नुका साथै सवारी आवागमनले कोलाहल बढेको । प्रत्येक साँझ ५ बजे कार्यालय समयपछि सवारी साधनको बाक्लो पार्किङ हुने गरेको छ भने वसन्तपुर वरपर आवागमन पनि बाक्लै हुने गरेको छ ।
काठमाडौँ महानगरपालिका हनुमानढोका दरबार क्षेत्र कार्यालयले यसअघि दरबार क्षेत्र परिसरमा सञ्चालित विभिन्न कार्यालय, पसल तथा रेस्टुराँ मालिक र सरकारी नम्बर प्लेटको गाडीलाई पार्किङको सुविधा उपलब्ध गराउँदै आएपछि समस्या अझ जटिल बनेको हो । सवारीकै कारण विश्व सम्पदा क्षेत्र खतरामा पर्दै गएको छ ।
उक्त सवारी साधनलाई पार्किङ सुविधा उपलब्ध गराएसँगै स्थानीयवासी आक्रोशित भएका छन् । स्थानीयले पनि सरकारी मात्र नभई निजी तथा आफ्ना सवारी साधनलाई पार्किङ सुविधाका अतिरिक्त निर्विवाद रूपमा आवागमनको व्यवस्था हुनुपर्ने माग गरेका छन् ।
काठमाडौँ महानगरपालिका हनुमानढोका कार्यालयका निमित्त प्रमुख टिना बज्राचार्य वसन्तपुर–हनुमानढोका दरबार क्षेत्रको पार्किङ हटाउन नसकिएको स्वीकार्नुहुन्छ । कार्यालय समयमा नियन्त्रण भएकै छ तर साँझ समस्या हुन्छ उहाँले भन्नुुभयो ।
सवारी साधन रोक्न खोज्दा चालकले महानगरपालिकाको सुरक्षाकर्मीमाथि नै हातपात गर्ने गरेको बताइन्छ । यतिसम्म कि किनमेल तथा ब्यापारका क्रममा नयाँ सडक घुम्न आउने सरकारी कर्मचारीका सवारीसमेत घण्टौँसम्म पार्किङ हुने गरेका छन् ।
उहाँले भन्नुभयो, ‘‘न्युरोडबाट वसन्तपुर जाने सवारी रोक्न र दरबार क्षेत्रको पार्किङ हटाउन खोज्दा दुई पटक कुटाकुट नै भइसक्यो, दिउँसो कार्यालय सयममा सरकारी गाडी र परिसरभित्रका कार्यालय तथा व्यापारीको बाहेक अन्य सवारी साधनलाई पार्किङको सुविधा छैन । साँझ समस्या छ ।’’
तर दरबार क्षेत्र कार्यालयका पूर्वप्रमुख उदय पसखल ‘‘हनुमानढोका क्षेत्रको पार्किङप्रति कसको किन टाउको दुखाइ भयो,’’ भन्नुहुन्छ । ‘सडक फुटपाथको व्यापार र पार्किङप्रति कसैको चासो छैन’, खाली स्थानमा गरिएको पार्किङप्रति केको आपत्ति हो भनी उहाँले प्रतिप्रश्न गर्नुभयो ।
स्थानीय युवा गणपति श्रेष्ठ हनुमानढोका दरबार क्षेत्रको पार्किङ हटाउन आन्दोलन नै गर्नुपर्ने अवस्था आएको बताउनुहुन्छ । पुरातात्विक सम्पदाभित्र पार्किङ त के सवारी साधन नै सञ्चालन गर्न मिल्दैन भन्दै उहाँ थप्नुहुन्छ, ‘‘स्थानीय जनप्रतिनिधिसँग छलफल गरी सवारी निषेध क्षेत्र बनाउनुपर्छ ।’’
दरबार क्षेत्रमा जथाभावी पार्किङ गर्दा सम्पदामा असर पर्नुका साथै र पुनर्निर्माण कार्यमा समस्या देखिएको गुनासो गर्दै उहाँले स्पष्ट पार्नुभयो, ‘‘यस विषयमा स्थानीय जनप्रतिनिधिसँग छलफल भइरहेको छ । उहाँहरू सकारात्मक देखिनु भएन भने विकल्पको खोजी हुन्छ ।’’
महानगरीय प्रहरी वृत्त जनसेवा प्रमुख प्रहरी नायब उपरीक्षक बासुदेव खतिवडा महानगरपालिकाले सवारी आवागमन तथा पार्किङ हटाउन परिपत्र गरेमा आवश्यक नियन्त्रण गर्न प्रहरी तयार रहेको बताउनुहुन्छ ।
पुरातात्विक सम्पदाको सुरक्षा गर्ने जिम्मेवारी हाम्रो पनि हो, वृत्त प्रमुख खतिवडाले स्पष्ट गर्नुभयो, ‘‘प्रहरीले मात्र नियन्त्रण गरेर पुग्दैन, सुरक्षाको जिम्मेवारी प्रहरीको हो भने संरक्षण तथा आवश्यक रेखदेख महानगरपालिकाले गर्ने हो, सहकार्य हुनुपर्छ ।’’
सार्वजनिक सवारी साधन सञ्चालन हुँदा हनुमान ढोका दरबारक्षेत्र पुनःनिर्माण कार्यमा समेत समस्या थपिएको छ । निर्माण सामग्री थुपारिएको स्थान हुँदै सवारी सञ्चालन हुँदा निर्माण सामग्री टुट्ने, फुट्ने र स्वरूप बिग्रिने गरेको छ ।
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?