logo
२०८१ बैशाख १५ शनिवार



गाँजा खेती नष्ट गर्दै सिरहा प्रहरी

खुला |


गाँजा खेती नष्ट गर्दै सिरहा प्रहरी


सन्तोष सुवेदी
सिरहा, कात्तिक २२ गते । सिरहाबाट गाँजा ओसारपोसार र खेती गरिने कार्यलाई पूर्ण रुपले निस्तेज बनाउन सिरहा प्रहरी चुरे क्षेत्रको खोंचखोंचमा पुग्ने गरेको छ । यही क्रममा लुकाई छिपाई झण्डै दुई विगाहा क्षेत्रफलमा खेती गरिएको तीन हजार गाँजाको बोट सिरहा प्रहरीले शुक्रबार नष्ट गरेको छ ।

गाँजा खेती हुन सक्ने सम्भावित स्थानहरुको खोजी गर्ने क्रममा धनगढीमाई नगरपालिका–१२ स्थित विष्णुपुरकट्टीको चुरेको खोंचमा सिरहा प्रहरीले उक्त गाजा खेती नष्ट गरेको हो । जिल्लाको खोजी टोलीले गाँजा खेती भइरहेको पत्ता लगाएपछि जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायव उपरिक्षक अपिलराज बोहोराको नेतृत्वमा इलाका प्रहरी कार्यालय विष्णुपुरकट्टीको टोलीले उक्त गाँजा खेती नष्ट गरेको थियो ।

गाँजाको कारोबार गर्न पल्किएका कारोबारीहरुले सर्वसाधारण किसानलाई बहकाई हत्तपत्त नदेखिने स्थानहरुमा गाँजाको खेती गर्न उक्साउने गरेका छन् । सिरहा प्रहरीको खोजी दलले धनगढीमाई नगरपालिका–१२ स्थित चुरेको खोंचबाट नष्ट गरिएको गाजाँको खेती भएको स्थल पनि त्यस्तै किसीमको टाढाबाट आँखाले नदेखिने खालको थियो । चुरेको खोंचमा भएको कारण उक्त खेतबाट गाँजाको बोट नष्ट गर्न प्रहरीले एकै पटक दुई वटा टोली खटाउनुपरेको थियो ।

यसपालि लुकिछिपी लगाउने सम्पूर्ण गाँजा खेती नष्ट गर्न दुई चरणको अभियान थालिएको सिरहा प्रहरीका प्रवक्ता प्रहरी नायव उपरिक्षक बोहोराले बताउनुभयो । उहाँका अनुसार, पहिलो चरणमा लुकिछिपी गरिएको गाँजाको खेती पहिचान गर्न गोप्य खोजी दल खटाउने र दोश्रो चरणमा त्यसरी खटाइएको खोजी दलले पहिचान गरेको गाँजा खेती नष्ट गर्न नेपाल प्रहरी तथा आवश्यक परेमा सशस्त्र प्रहरी बलको संयुक्त सुरक्षा फौजलाई समेत परिचालन गरिनेछ ।

पछिल्लो एक महिनादेखि थालनी गरेको सो अभियान अन्तर्गत अहिलेसम्म सिरहा प्रहरीले जिल्लाको विभिन्न स्थानमा गरी झण्डै नौ विगाहाबाट ३० हजारभन्दा बढी गाँजाको बोट नष्ट गरिसकेको प्रहरी नायव उपरिक्षक बोहोराले बताउनुभयो । सिरहामा खास गरी खोलानदी किनार, चारैतिर रुखहरुले घेरिएको खेत तथा चुरेको फेदीतिर ठूलो सँख्यामा गाँजाको खेती गर्ने गरिन्छ ।

असार/साउनमा लगाइएको गाँजा मङ्सिर/पुसमा परिपक्व भएपछि कारोबारीहरुले गाँजाको बोटबाट गाँजा उत्पादन गर्ने गर्दछन् । राम्रोसँग फस्टाएको एउटा बोटबाट मात्रै आधा केजीदेखि एक केजीसम्म तयारी अवस्थाको गाँजा उत्पादन हुन सक्ने बताइन्छ । यसरी उत्पादन भएको तयारी अवस्थाको गाँजा भारतीय बजारमा पु¥याउन सकेको अवस्थामा कारोबारीहरुले प्रति केजी ११ हजार भारतीय रुपियाँसम्ममा विक्री गर्ने गर्दछन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?