logo
२०८१ बैशाख १४ शुक्रवार



सञ्चार सचिव गुरुङको बिदाइ

खुला |


सञ्चार सचिव गुरुङको बिदाइ


गोरखापत्र समाचारदाता

काठमाडौंँ, कात्तिक २१ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले दूरदर्शी प्रशासकको नेतृत्वले मन्त्रालयको काम सबैले देख्ने र अनुभूति गर्न सक्ने भएको बताउनुभएको छ । बुधबार मन्त्रालयमा भएको सोही मन्त्रालयका सचिव महेन्द्रमान गुरुङको बिदाइ कार्यक्रममा उहाँले लोभरहित कुशल प्रशासकको नेतृत्वले मन्त्रालयका काम सबैले महसुस गर्न सक्ने भएको स्पष्ट गर्नुभयो ।
मन्त्री बाँस्कोटाले भन्नुभयो, “सबै प्रशासक उस्तै हुन्छन् तर केही प्रशासक भने फरक हुन्छन्, सचिव गुरुङसँग आफूले १७ महिनासम्म काम गर्दा कुनै दिन रातो र कालो मुख गर्नु परेन । ” सचिवका रूपमा गुरुङले काम गर्दा सधँै राष्ट्रलाई पहिलो प्राथमिकतामा राखेर काम गर्नुभएको स्मरण गर्दै सरकारको उद्देश्यअनुसार काम गर्न सकिएको उहाँले जानकारी दिनुभयो ।
गुरुङको कार्यकालमा मन्त्रालयमा उल्लेख्य काम भएको चर्चा गर्दै मन्त्री बाँस्कोटाले भन्नुभयो, “उहाँले निजामती सेवामा बसेर गरेको कामको अनुभव समाजले कुनै न कुनै रूपमा ग्रहण गर्ने छ । ”
राष्ट्रले लिएको लक्ष्य ‘समृद्ध नेपाल सुखी नेपाली’ बनाउने अभियानमा सधैँ सचिव गुरुङले साथ दिनुभएको चर्चा गर्दै उहाँले सरकारको नीति र सिद्धान्तअनुसार काम गर्नुभएको मन्त्री बाँस्कोटाले बताउनुभयो । सचिव गुरुङसँग काम गर्दा आफूलाई कहिल्यै पनि दुविधा नभएको सुनाउँदै उहाँले गुरुङजस्तै कर्मचारी भएर काम गर्न अन्य कर्मचारीलाई निर्देशन दिनुभयो ।
निवृत्त सचिव गुरुङले निजामती सेवाको अनुभव सुनाउँदै मन्त्री बाँस्कोटासँग काम गर्दा धेरै कुरा सिक्ने अवसर प्राप्त भएको बताउनुभयो । उहाँले मन्त्रालयमा बस्दा आफ्नो कार्यकालमा उल्लेख्य काम भएको भन्दै आफूसँग काम गर्ने सबै कर्मचारीप्रति आभार व्यक्त गर्नुभयो ।
२०४४ सालमा निजामती सेवामा प्रवेश गर्नुभएका सचिव गुरुङले ३२ वर्ष तीन महिनासम्म निजामती सेवाका विभिन्न पदमा रहेर सेवा गर्नुभयो । उहाँले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका साथै अन्य आधा दर्जन मन्त्रालयमा सचिवको जिम्मेवारी निर्वाह गर्नुभयो । कार्यक्रममा मन्त्री बाँस्कोटाले सचिव गुरुङलाई फूल, माला, खादा ओढाएर बिदाइ गर्नुभएको थियो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?