logo
२०८१ बैशाख १५ शनिवार



बर्दियाका ८६५ बाढीपीडितलाई राहत वितरण

खुला |
प्रदेश |
समाज |


बर्दियाका ८६५ बाढीपीडितलाई राहत वितरण
राजापुर १ मा राहत पाएका बाढीपीडित परिवार । तस्विर - सिराज खान । नेपालगञ्ज



सिराज खान
नेपालगञ्ज, मङ्सिर २३ गते । कात्तिकको पहिलो सातामा आएको बाढीले गर्दा अति प्रभावित बर्दियाको राजापुर नगरपालिका तथा गेरुवा गाउँपालिकाका ८६५ पीडित परिवारलाई ४५ लाख रुपियाँको राहत वितरण गरिएको छ । स्टार्ट नेटवर्कको सहयोग र प्लान नेपालको सहकार्यमा बाँके युनेस्को क्लबले सञ्चालन गरेको आपतकालिन बाढी प्रतिकार्य परियोजना अन्तर्गत सो राहत वितरण गरिएको हो ।

राजापुर नगरपालिका १ र गेरुवा गाउँपालिकाको २ र ३ नम्बर वडाका ८६५ अति प्रभावित परिवारलाई करिब ४५ लाख रुपियाँको राहत वितरण गरिएको बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अली सिद्दिकीले बताउनुभयो ।

प्रमुख संरक्षक सिद्दिकीका अनुसार राजापुर १ का ५७२ प्रभावित परिवार र गेरुवा २ र ३ का २९३ परिवारलाई विभिन्न राहत वितरण गरिएको छ । वितरण गरिएको राहतमा हाइजिन किट, डिगनिटि किट, खाद्यान्न, पोषण सहयोग, कृषि वीऊ वितरण, शौचालय मर्मत सम्भार र खानेपानीका धाराहरुको मर्मत गरिएको जनाइएको छ ।

राहतबाट सहयोग मिल्यो – पीडित परिवार
विभिन्न प्रकारका राहत सहयोग पाएपछि त्यसबाट पीडित परिवारलाई निकै राहत मिलेको प्रभावित वडाका जनप्रतिनिधि र पीडितहरुले बताएका छन् । गेरुवा वडा नम्बर ३ का वडा अध्यक्ष पुनाराम थारुले क्लबले गरेको राहत वितरणबाट अति नै पीडित भएका महिला तथा बालबालिकालाई ठूलो सहयोग मिलेको बताउनुभयो ।

पोषणयुक्त खाद्यान्न, अन्य खाद्यान्न तथा वीऊ वितरणले पीडितलाई धेरै सहयोग पुगेको उहाँले बताउनुभयो । यसैगरी, राजापुर १ का वडा अध्यक्ष खुशीराम थारुले पनि बेमौसमी बाढीबाट पीडित भएकालाई तत्काल राहत दिने काम क्लबले गरेकोमा त्यसबाट आफ्नो वडाका पीडितलाई धेरै सहज भएको बताउनुभयो ।

उहाँले तत्काल मिलेको यो सहयोगले जनजीवनलाई लयमा फर्काउन ठूलो मद्दत गरेको वडा अध्यक्ष थारुले बताउनुभयो । राहत पाएपछि आफूहरुलाई धेरै सहज भएको पीडितहरुले पनि बताएका छन् । गेरुवा ३ संकटी सुकुम्वासी बस्तीका हीरा थारुले क्लबले दिएको सहयोगबाट आफूहरुलाई निकै राहत मिलेको बताउनुभयो ।

उहाँले सो सहयोग नपाएको भए जनजीवन सामान्य बनाउन निकै समस्या पर्ने पनि बताउनुभयो । यस्तै, सोही बस्तीका अर्का पीडित जमुना थारुले क्लबले दिएको खाद्यान्न र पोषणयुक्त खानेकुराले बालबालिकालाई खुवाउन धेरै सहयोग मिलेको बताउनुभयो । सो बस्तीमा अधिकांशका घरहरु पूर्ण रुपमा डुबेकोले क्लबले शौचालय र धाराको समेत मर्मत गराएर राम्रो काम गरेको पीडितहरुको भनाइ छ ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?