logo
२०८१ बैशाख १५ शनिवार



प्राविधिक नहुँदा क्यालिब्रेसन उडानमा विदेशी कम्पनी गुहार्न बाध्य

राष्ट्रिय |


प्राविधिक नहुँदा क्यालिब्रेसन उडानमा विदेशी कम्पनी गुहार्न बाध्य


काठमाडौं, कात्तिक १५ गते । नेपालमा दक्षप्राविधिक अभाव हुँदा निर्माणाधीन विमानस्थलहरुमा गरिने क्यालिब्रेसन उडान विदेशी कम्पनीहरुलाई दिनुपर्ने बाध्यता छ । विमानस्थल निर्माणसँगै जडान गरिएका उडानसम्बन्धी उपकरणहरुको जाँच गर्न गरिने उक्त उडानका लागि नेपालमा प्रविधिक अभाव हुँदा विदेशी कम्पनीहरुलाई गुहार्नुपर्ने बाध्यता रहेको हो ।

निर्माण अन्तिमचरणमा पुगेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा क्यालिब्रेसन उडान गर्न नागरिक उडड्यन प्राधिकरणले एरो थाई कम्पनीसँग अनुरोध गरेको थियो । तर यो कम्पनी सकारात्मक नभएपछि पुनः एयरपोर्ट अथोरिटी अफ इण्डियालाई उडान गरिदिन अनुरोध गरेको छ । जडित उपकरणहरुको सही प्रयोग भयो भएन अथवा सही जडान भयो भएन भनी जाँच गर्न र परीक्षण उडान पछि नियमित उडान गर्नका लागि क्यालिब्रेसन उडान गर्नुपर्ने अनिवार्य नै हुने २८ हजार घण्टा उडान गरिसक्नुभएका वरिष्ठ पाइलट दधिराम निरौलाले जानकारी दिनुभयो ।

प्राधिकरणले तत्कालै क्यालिब्रेसन उडान गर्न विदेशी कम्पनीलाई छनौट गर्ने तयारी शुरु गरेको महानिर्देशक राजकुमार क्षेत्रीले जानकारी दिनुभयो । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उपकरणहरु जडान गर्ने क्रम अन्तिमचरणमा पुगेकाले तत्कालै क्यालिब्रेसन उडान गरेसँगै परीक्षण उडान गरी नियमति उडान गर्ने लक्ष्य राखेको क्षेत्रीले जानकारी दिनुभयो ।

करिब ३१ अर्ब लागतमा निर्माण भएको विमानस्थलको हाल ९८ प्रतिशत भौतिक प्रगति भइसकेको छ भने विमास्थलको निर्माण तीन वर्षभित्र सम्पन्न गर्ने सम्झौतासहित आर्थिक वर्ष २०७२÷०७३ मा शुरु भएको थियो । यो विमानस्थल सञ्चालनसँगै अन्तर्राष्ट्रिय उडान भर्न जहाज कम्पनीहरुलाई सहज हुने क्षेत्रीले बताउनुभयो । हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मात्र अन्तर्राष्ट्रिय उडान हुँदै आएको छ । यता प्राधिकरणले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल पनि निर्माण अन्तिम चरणमा पुगेको प्राधिकरणले जनाएको छ, भने निजगढ अन्तराष्ट्रिय विमानस्थलको निर्माण प्रकृया शुरु गरेको छ ।

नेपालमा हाल हिमालय एयरलाइन्स र नेपाल एयरलाइन्स र २७ वटा विदेशी वायुसेवा गरी २९ वटा वायुसेवा कम्पनीले १५ मुलुकको ३२ वटा गन्तव्यमा उडान सञ्चालन गर्दै आएको प्राधिकरणको तथ्याङ्क छ । यता यती, श्री र बुद्ध एयरलाइन्सले पनि अन्तर्राष्ट्रिय उडानका लागि अनुमति पाइसकेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?