logo
२०८१ बैशाख १५ शनिवार



आफूमाथि लागेको आक्षेपलाई प्रधान्यायाधीशले समयमै प्रष्ट पार्नुपर्छः नेता पौडेल

राष्ट्रिय |
प्रदेश |


आफूमाथि लागेको आक्षेपलाई प्रधान्यायाधीशले समयमै प्रष्ट पार्नुपर्छः नेता पौडेल


सिराज खान
नेपालगञ्ज, कात्तिक ८ गते । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणामाथि लागेको आक्षेपलाई उहाँले समयमै प्रष्ट पार्नुपर्ने सुझाव दिनुभएको छ ।

“प्रधानन्यायाधीश राणामाथि जुन किसिमको आक्षेप लागेको छ, त्यसलाई समयमै प्रष्ट पार्नुपर्ने हुन्छ” उहाँले भन्नुभयो । पश्चिम क्षेत्रका बाढी तथा पहिरो पीडितको अवस्था बुझेर फर्किनुभएका वरिष्ठ नेता पौडेलले नेपाल प्रेस युनियन बाँकेले सोमबार बिहान नेपालगञ्जमा आयोजना गरेको पत्रकार भेटघाटमा नेता पौडेलले सो कुरा बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘प्रधानमन्त्री, प्रधानन्यायाधीश वा राष्ट्रपति जोसुकै होस् सबैले आफुलाई आत्मानुशासित राख्नुपर्छ, केही कुरा बाहिर आएमा समयमै प्रष्ट पार्नुपर्छ ।’ नेता पौडेलले संविधान कार्यान्वयन गर्ने दायित्व काँग्रेसको काँधमा आएको बताउनुभयो ।

वर्तमान सरकारसँग नेपाली जनताका धेरै आंकाक्षा र अपेक्षा रहेको प्रष्ट पार्दै यो सरकारले विगतका गल्तीलाई कुनै पनि हालतमा दोहोर्याउन नहुने बताउनुभयो । काँग्रेसको १४ औं महाधिवेशनमा आफु सभापतिको स्वभाविक उम्मेदवार हुने वरिष्ठ नेता पौडेलले बताउनुभयो ।

आफ्नो समूहबाट अन्य नेताहरु पनि आकांक्षी भएपनि अन्तिममा एउटै उम्मेदवारको टुंगो लगाइने प्रष्ट पार्नुभयो । आफु १३ औं महाधिवेशनको पनि उम्मेदवार भएकाले यसपटक आफ्नो टिमबाट आफुलाई सबैले सर्वसम्मत उम्मेदवार बनाउने उहाँको भनाई छ ।

‘प्रजातन्त्र भनेको सामुहिक नेतृत्व पनि हो, हामी मिलेर एकजना उम्मेदवार दिन्छौं,’ पौडेलले थप्नुभयो ‘केही साथीहरुको आकांक्षा सुन्नमा आए पनि सबै साथीहरुसँग छलफल गरेर एउटै उम्मेदवार टुंगो लगाउँछौं’ उहाँले भन्नुभयो । पश्चिम क्षेत्रका बाढी तथा पहिरो पीडितको अवस्था बुझेर आइतवार बेलुकी बाँके पुग्नु भएका वरिष्ठ नेता पौडेलले कोहलपुर र नेपालगञ्जमा आयोजित कार्यकर्ता भेलालाई पनि सम्बोधन गर्नुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?