logo
२०७८ मंसिर १३ सोमवार

   कोरोना अभिघात विशेष/ संस्मरण   



कोरोना कालमा

कला |


कोरोना कालमा


 प्रकाश सायमी


काल : महिना : वर्ष
ठीकसँग याद नभए पनि एक दिन वा साँझतिर उन्मुख हुँदै गरेको एक धमिलो दिनमा रोड हाउसको एउटा आउटलेटमा कोराना भन्ने बियर देखेको थिएँ ।
खान मन भएर होइन, यत्तिकै सोधेँ, यो बियरको कति हो ?
जवाफमा उत्तर यस्तो आयो,
“ट्याक्स नजोडीकन अस्सी ।”
एक साँझ त्यही बियर खान त्यही आउटलेटमा पुगेँ ।
सँगै गएको साथीले यसो भन्यो, “यो बियर खाने तरिका फरक छ, यसको टुप्पोमा काटिएको कागतीको टुक्रा हुनुपर्छ ।”
त्यसरी नै बियर ल्याइयो र खाइयो, कागतीको चुस्कीसँगै ।
साथीले यसो पनि भने, “कैयौँ विदेशीले यो बियर खाँदा वा कसैले अफर गर्दा विपरीत लिङ्गीको शरीरको कुनै भागमा नुन वा कागती टाँसेर त्यहाँबाट त्यसको स्वाद लिँदै यो बियर खान्छन् ।”
कोरोना बियर खाएको त्यो साँझ मलाई याद छ, डिसेम्बर ढल्न लागेको तर जनवरीको जाडो अलि अलि उग्र भइसकेको थियो कान्तिपुरी नगरीमा ।
बियरको कथा नसकिँदै काठमाडौँमा कोरोना नामक रोगको हल्ला चल्न सुरु भयो ।
एक बिहान डा. सुन्दरमणि दीक्षित भेटेर फर्किंदै थिएँ, उनले भने, “अब कोरोना नेपालमा पनि आउन सक्छ । धेरै खतरा छ । केही भइहाल्यो भने क्वारेन्टाइनमा बसिहाल्नुपर्छ ।”
शब्द प्रयोगमा पहिलो पटक सुनेको भए पनि साहित्यिक कृतिहरूमा भुलेर भट्केर पढ्दै आएको नाम हो ।
यही कुरा एक साँझ मैले चेतन कार्कीलाई सावधानीपूर्वक सुनाएँ, कोरोनाको बजार भर्खर गरम भएको थियो नेपालमा । उनले भने, “कोरोना नेपालमा आउँदैन । हाम्रो हिमालको अग्लाइ र उचाइले छेक्छ ।
सुन्दा आश्चर्य लाग्यो तर नपत्याउने गरी कोरोना विस्तारै नेपालमा पस्यो ।

कोरोना : हस्पिटल टु हस्पिटल
कोरोनाले चीनमा उत्पात मच्चाएको खबर पहिलो पटक सुनेको दिन पनि म चेतन कार्कीसितै थिएँ, नाचघरको चौथो तलाको प्रेक्षालयमा रश्मि अमात्यको साङ्गीतिक कार्यक्रम हेर्दै र सुन्दै । वरिष्ठ गायक जगतमर्दन थापा, प्रेमध्वज प्रधान, माइक खड्का, सन्नी रौनियार प्रधान हामी सबै कता कता सँगै थियौँ ।
कोरोनाले हामीलाई केही गर्न सक्दैन, चेतन कार्की त्यहाँ पनि त्यही भन्दै थिए ।
कोरोना विस्तारै नेपालमा आयो । बाह्रबिसेको सुत्केरी बुहारीको मृत्युपछि यसले सनसनी फैलायो ।
कोरोनाले पहिलो पल्ट महिला त्यसपछि पुरुष, त्यसपछि वृद्ध त्यसपछि कलाकार, लेखक, चिकित्सक सबैलाई लखेट्यो । कोही बाँचे, कोही गए । कोही लडे, कोही जिते कोही हारे ।
अक्टोजेरिन उमेरका गायक सङ्गीतकार इन्द्रनारायण मानन्धर नब्बे नकट्दै कोरोनाले ढले गत सेप्टेम्बर ११ का दिन । उनी लेकाली समूहका वरिष्ठ गायक थिए, गणेश रसिक र हिरण्य भोजपुरेभन्दा अग्रज । कोरोनाले बितेका इन्द्रनारायणका बारेमा अजरअमर गीतहरूमा सविशेष कार्यक्रम प्रस्तुत गर्दै गर्दा हाम्रा वरिष्ठ गायक सङ्गीतकार गीतकार जगतमर्दन थापा बितिसकेका थिए, उनले कोरोनालाई जिति पनि सकेका थिए । उनले हार्दा अक्सिजन लेबल लो भएका कारण देखाइयो । उनको बिदाइमा गीतकार राजेन्द्र थापा लगायत तेजकुमार श्रेष्ठ र अन्य धेरै साथीहरू मोहितमर्दन थापा, पुष्पाञ्जली थापाका साथ नर्भिक अस्पतालदेखि आर्यघाटसम्म पुगे । गीतकार थापाले अर्का वसन्त चौधरीलाई भनेर नर्भिकबाट एक लाखसम्म छुट पनि गराइदिए ।
त्यही नर्भिक अस्पतालको आँगनमा नाताले आफ्ना भाइ पर्ने गीतकार रत्न थापाको अन्तिम बिदाइका बेला जगतमर्दन थापा आफ्ना सुपुत्र मोहितका साथ आएका थिए करिब सात महिनाअघि ।
जगतदाइ, मोहितबाबु, सुवासचन्द्र ढुङ्गेल, शैलेश सिंह हामी सबै सँगै फर्केका थियौँ, गीतकार रत्न थापाको पीसीआर रिपोर्ट आउन ढिलो भएपछि ।
हामी फर्किंदै गर्दा वरिष्ठ गायक प्रेमध्वज प्रधानले सेलफोनमा फोन गरेर सोध्नुभयो, “रत्नजीको खबर के हो ?”
....
सत्य हो ?
कोरोना हो ?
होइन...
हामी कुरा गर्दै फर्किंयौ । बाटोमा नगेन्द्र थापाको पनि फोन आयो ।
एक दिन जगतमर्दन थापाले फोन गर्नुभयो, मलाई पोजिटिभ देखियो प्रकाशजी । आज अस्पताल भर्ना हुन जाँदैछु ।
उहाँको बारेमा धेरै जानकारी नृत्यनिर्देशक भैरवबहादुर थापालाई थियो, अर्का अक्टोजेरियन भैवथा आफ्नो बाह्र वर्षमा अनुवाद हुने पुस्तक नृत्याक्षर विज्ञानको हिन्दी र अङ्ग्रेजी अनुवादमा चेतनसित व्यस्त थिए । उनी जम्मैलाई फोनमा कोरोनाको औषधि बताउँथे ।
उनले भन्दा भन्दै एक दिन जगतमर्दन पनि बिते ।
समय बितेको जस्तो सहज नहुने रहेछ, आफ्ना परिचित बितेको ।
जगतमर्दनले सुनसान बनाएर गएको यो सहरमा एक दिन प्रेमध्वज बिरामी पर्नुभयो, सुन्धाराको एक अस्पतालमा पु¥याइए रेशमी आवाजका मालिक प्रधान । उनलाई डा. प्रवीण श्रेष्ठको निगरानीमा कोरोनाको उपचार गराइयो ।
प्रेमध्वज अस्पताल भर्ना हुनुअघि केही महिनाअगाडि उनका सासूआमा र भाउजू बितेका थिए, दुवैको मलामी गएर आएको बेला प्रेमध्वजसित मैले रेडियो कार्यक्रममा कुरा गरेँ, शोकको त्यो क्षणमा ।
सुन्धाराको त्यो अस्पतालमै प्रेमध्वज सानो हृदयाघातले बिते ।
कसैले पत्याउनै सकेनन् । मैले त झनै पत्याइनँ । प्रेमध्वजकी पत्नी किरण प्रधानलाई फोन गरेँ । स्विच्ड अफ ।
प्रेमध्वजका जेठान वरिष्ठ छायाकार मञ्जुकुमार श्रेष्ठबाट बुझेँ, कुरा सत्य रहेछ ।
प्रेमध्वज पछि चेतन कार्की पनि गए, आर्मी अस्पतालमा । उनका कान्छा छोरा पङ्कज कार्कीका साथी फोटो पत्रकार विकास रौनियारले खबर गरे ।
यो त्यही दिनको कुरा थियो जुन दिन मसित विकासले आफ्ना सहपाठी पङ्कजको मोबाइल नम्बर मागेका थिए ।
र, आधा घन्टापछि विकासले नै भने, “चेतन अङ्कल इज नो मोर ।”
विकास आफ्नी पत्नी सम्झना उप्रेती रौनियारलाई लिएर चेतन कार्कीको एकल कविता वाचनमा खादा र टोपी बोकेर आएका थिए ।
सम्झनाको डेब्यु फिल्म मेघामा कार्कीले टाइटलसँग लेखेका रहेछन्, पछि विकासले भने ।
कोरोना गएन, हाम्रा आफन्तहरू विस्तारै गए । गीतकार भूषण खरेलले यही कोरोना कालमा नेपाल मेडिसिटी अस्पतालमा आफ्नी पत्नी, आमा र बुबा गुमाए ।
अरू पनि धेरै गए, प्रायः धेरै अस्पातलमै गए ।
लब टाइम इन आइसोलेसन
...परीक्षणको नतिजा अगावै आफूलाई आइसोलेसनमा राख्नुहोस्... कोभिडको नतिजा नेगेटिभ आए पनि अत्यावश्यक काम नभई घर बाहिर ननिस्कनुहोस्...
मोबाइल वा टेलिफोन बज्नेवित्तिकै सुनिने यो सन्देश व्यापक भइरहेको बेला आइसोलेसन शब्द पनि पारिवारिक भएर घरघर भित्रियो ।
कोही घरमा । कोही घरभित्रै एकान्तवासमा... कोही आत्मनिर्वासनमा । विभिन्न सर्तमा रोगबाट बँच्न मान्छेले उपाय निकाले ।
आइसोलेसनका बारे उर्दूका महाकवि गालिबले उहिले लेखेका रहेछन् तीन शेरमा...

रहिये अब ऐसी जगह चलकार, जहाँ कोई न हो
हम सुखन कोई न हो और हम जबाँ कोई न हो

बेदर ओ दिवार सा इक घर बनाया चाहिये
कोई हमसायः न हो और पास्वाँ कोई न हो

गालिब त्रिकालदर्शी नै हुन्, उनको अन्दाजेबयाँ (बयान गर्ने तौरतरिका) नै फरक छ, उनले दुई सय वर्षअघि नै लेखे सायद–

पडिये गर बिमार, तो कोई न हो तिमारदार
और अगर मर जाइये, तो नौहःख्वाँ कोई न हो
ठीकै भनेका हुन्,
बिरामी पर्नु भयो भने पनि रोगको सुश्रूषा गर्ने पनि कोही नहोस्, यदि मर्नु नै भयो भने पनि रोइदिने पनि कोही नहोस् ।
पीडान्त भएर गालिब (सन् १९७९ सन् १८६९ ) ले लेखेको यस गजलका बेला ग्राबिएल गार्सिया माख्र्वेजले लभ टाइम इन कोलेरा सोचेका पनि थिएनन् वा भनौँ कोरोना, कोलेरा, स्पानिस इन्फ्लुएन्जा केही रोग आएका देखिएका पनि थिएनन् । यद्यपि साहित्यमा रोगका कृतिहरू लेखिएका पनि थिएनन्, क्यान्सर वार्ड लेखिएको थियो न मुटुको व्यथा ।
सय वर्षअघि स्पेनिस इन्फ्लुएन्जा आउँदा त्यसबेला जन्मेका केही लेखकले आफ्नो आत्मगाथामा त्यस रोगबारे चर्चासम्म गरेका होलान् जस्तो इग्मार बर्गम्यानले द म्याजिक लालटिनमा आफूलाई स्पेनिस इन्फ्लुएन्जाबाट बचाउन हजुरआमाले सोक ब्रेड, पानीमा भिजाएर पाउरोटी खुवाएकोसम्म उल्लेख गरेका छन् ।
हाम्रो साहित्यमा शीतलामाईको रोग कमलपित्त, क्षय रोगभन्दा माथिको रोगबारे सायद उल्लेख भएको थिएन । जगदीश घिमिरेले क्यान्सरलाई चित्र दिए, अन्तरमनको यात्रामा ।
यो किताब जस्ता धेरै किताब पछि नेपाली, अङ्ग्रेजी, हिन्दीमा पनि आए ।
रोगका बारे लेखिएका कैयौँ किताबमा हलिउड अभिनेत्री सेरोन स्टोनको द ब्युटी अफ लिभिङ ट्वाइससम्म आइपुग्दा नेपाली सिने नायिका मनीषा कोइराला, सोनाली बेन्द्रे, लिसा रेका धेरै किताब आए ।
कोरोनाको शासनकालमा झन् धेरै कोरोनाका कविता, गीत वा किताबका चर्चा भए ।
भ्रामक वा यथार्थ जुनसुकै सर्तमा पनि कोरोना बिस्तारै साहित्य र सङ्गीतमा कन्टेन्ट बन्दै गयो ।
उज्यालो नेटवर्कमा कोरोना क्याप्सुल कसरी बनाउने भन्ने कार्यक्रम गोपाल गुरागाईं र साथीहरूले सुनाइरहेकै बेला मेरा साहित्यिक मित्र शरद प्रधानकी आमाले उहाँलाई भन्नुभएछ, जा न तेरो साथीको एफएममा गएर कोरोना क्याप्सुल ल्याइदे त ।
शरदजीले त्यही बेला एफएमा मृत्युको समाचार सुनेर आफ्नो फेसबुक स्टाटसमा एक दिन लेख्नुभयो, सरकार र समाचारका लागि हामी एउटा सङ्ख्या मात्र हौँ तर परिवारका लागि हामी महìवपूर्ण पात्र हौँ । बाँच्न सिकौँ ।
गालिब रहेनन् ।
माख्र्वेज रहेनन् । उनका कृतिहरू हाम्रा मनमा छापा बनेर रहिरहनेछन् जसरी शरदजीले भन्नु भयो, हामी सङ्ख्या मात्र नबनौँ ।
कोरोनाको कुशासनमा हामीले धेरै आफन्त ससानो गल्तीले पनि गुमायौँ, ती हाम्रा लागि सङ्ख्या थिएनन्, सम्झना बने ।

 

मधुपर्क, कात्तिक २०७८

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?