logo
२०८१ जेष्ठ ५ शनिवार



एमाले स्थायी कमिटी बैठक शुरु, तीन महत्वपूर्ण एजेण्डामा छलफल हुने

राष्ट्रिय |


एमाले स्थायी कमिटी बैठक शुरु, तीन महत्वपूर्ण एजेण्डामा छलफल हुने
फाइल तस्विर


गोरखापत्र अनलाइन
काठमाडौं, साउन १७ गते । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को स्थायी कमिटी बैठक शुरुभएको छ । तुलसीलाल स्मृति प्रतिष्ठान च्यासल ललितपुरमा बैठक ३ः३० बजे शुरु भएको हो ।

पार्टी कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार बैठक दिउँसो ३ बजेका लागि तय भएपनि आधा घण्टा ढिलो गरी साढे तीन बजे बैठक शुरु भएको हो । आजको बैठकमा पनि नेता माधवकुमार नेपाल पक्षका सदस्यहरु अनुपस्थित रहनुभएको उहाँले जानकारी दिनुभयो ।

बैठकका लागि एमालेले मुख्य तीन वटा कार्यसूची तय गरेको छ । केन्द्रीय विभागलाई पूर्णता दिने, विधान महाधिवेशनको तयारी र पार्टी सदस्यता नविकरण तथा वितरण रहेको छ । पार्टी कार्यालय सचिव तामाङका अनुसार साउन २५ गते विधान महाधिवेशन गर्ने निर्णय यसअघिको बैठकले तय गरिसकेकाले त्यसको तयारीका लागि विभिन्न उपसमिति गठन हुनेछन् ।

त्यस्तै, बैठकमा विघटित कार्यदलका सदस्यहरुले आज पनि बैठकको प्रगतिबारेमा जानकारी गराउनुहुने कार्यक्रम छ । आज बिहानदेखि कार्यदलका सदस्यहरु अनौपचारिक संवादमा रहनुभएको थियो । नेता नेपाल पक्षका कार्यदलका सदस्यहरु आजको बैठकमा सहभागी नहुनु भए पनि अर्को बैठकदेखि सहभागी हुने विश्वास एमालेले लिएको छ ।

अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा भइरहेको बैठकले अब नेता नेपाललाई सहमतिका लागि थप समय निर्धारण गर्ने कि पार्टी गतिविधि अगाडि बढाउने विषयमा पनि आज निर्णय हुने तामाङले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?