logo
२०८१ बैशाख २७ बिहीवार

  दृश्य समाचार  



अनलाइनबाट यसरी तिर्न सकिन्छ सवारी कर र नवीकरण दस्तुर

राष्ट्रिय |


अनलाइनबाट यसरी तिर्न सकिन्छ सवारी कर र नवीकरण दस्तुर


आशा साह, दृश्यमा राममणि दाहाल
काठमाडौं, साउन १२ गते । भौतिक पूर्वाधार विकास मन्त्रालयले शुक्रबारदेखि बागमती प्रदेशमा दर्ता भएका सवारी साधनको वार्षिक नवीकरणका लागि अनलाइन प्रणाली शुरु गरेको छ ।


भौतिक विकास मन्त्रालय, बागमती प्रदेशका प्रवक्ता नविनकुमार सिंहले शुक्रबारबाट सवारी साधनको वार्षिक कर (ब्लुबुक नवीकरण) अनलाइनबाट भुक्तानी हुन शुरु भएको जानकारी दिनुभयो । प्रवक्ता सिंहका अनुसार बागमती प्रदेशमा दर्ता भएको सवारी साधान र बागमती प्रदेशमा एक पटक नवीकरण भएका सवारी साधानहरुको अनलाइनमार्फत भुक्तानी गर्न सकिने व्यवस्था रहेको छ ।

बागमती प्रदेशअन्तर्गका १० वटा यातायात सेवासम्बन्धी कार्यालयमार्फत अनलाइन मुक्तानीको प्रणालीमा जोडिएको उहाँले बताउनुभयो ।

विद्युतीय माध्यमबाट यातायात क्षेत्रको सेवा प्रवाह तथा राजस्व भुक्तानी नियमावली २०७८ को नियम ३ को उपनियम ७ मा सूचना प्रणालीमा सेवाग्राही स्वयंले नै आफ्नो सवारी साधन तथा अनुमतिपत्रको दर्ता, नवीकरण, जरिवाना, उल्लङ्घन तथा राजस्व बाँकी बक्यौताको स्थिति आदिको विवरण हेर्न मिल्ने गरी ‘नागरिक एप्स’ तथा सम्बन्धित भुक्तानी सेवा प्रदायकको मोबाइल एप्स तथा वेब पोर्टलमार्फत् जानकारी दिन मिल्ने गरी बिल प्रिजेन्टेसनको एप्लिकेशन प्रोग्रामिङ्ग इन्टरफेस (एपीआई) को व्यवस्था गरिएको जानकारी उहाँले दिनुभयो ।

यो प्रणाली लागू भएपछि सवारी धनिले ब्लुबुक बोकेर हिँड्ने प्रथा अन्त्य भएको उहाँले बताउनुभयो ।

बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रममा पनि यातायात क्षेत्रलाई सर्वसुलभ, पहुँच योग्य, सुरक्षित, व्यवस्था एवं विश्वसनीय बनाउन सम्पूर्ण सवारी साधनहरुको विवरणहरु डिजिटलाइजेसन गर्ने योजना अघि सारेको थियो । यसका लागि प्रदेश सरकारले सवारी चालक अनुमतिपत्र बाहेकका सेवाहरुलाई अनलाइन प्रणालीमा आवद्ध गरी विद्युतीय माध्यमबाट राजस्व भुक्तानी गर्ने व्यवस्थाका लागि विद्युतीय माध्यमबाट यातायात क्षेत्रको सेवा प्रवाह तथा राजस्व भुक्तानी नियमावली २०७८ जारी गरेको छ ।

अनलाइनबाट कसरी तिर्ने सवारी साधनको कर
सवारी धनीले शुरुमा https://tmis.bagamati.gov.np/   वेबसाइटमा क्लिक गर्नुपर्ने हुन्छ । यहाँ सवारीधनी लगइन पोर्टल देख्न सकिन्छ । नयाँ प्रयोगकर्ताले नयाँ दर्ता आइकमा जानुपर्ने हुन्छ ।

नयाँ दर्तामा पूरा नाम, मोबाइल नम्बर र जन्म मिति अनिर्वाय इन्ट्री गरेर अगाडि बढ्नुपर्छ । टोकन नम्बर मोबाइल एसएमएसमा आउँछ । अनि पासवर्ड सेट गर्ने । पुनः आफूले राखेको फोन नम्बर र पासवर्ड हालेर लगइन गर्नुपर्ने हुन्छ ।

भौतिक विकास मन्त्रालय, बागमती प्रदेशका प्रवक्ता नविनकुमार सिंहले प्रणालीले सुरक्षा कारण देखाउँदै तपाईंलाई पुनः नयाँ ‘स्ट्रङ’ पासवर्ड हाल्न अनुरोध गर्न सक्ने उहाँले बताउनुभयो । त्यसपछि मात्रै टीएमआइएसको ड्यासबोर्ड खुल्ने उहाँले बताउनुभयो ।

उहाँका अनुसार टीएमआइएसको ड्यासबोर्डमा ‘मेरो सवारीहरु’मा आफ्नो सवारी साधनको सम्पूर्ण विवरण भर्नुपर्ने हुन्छ । ‘सवारी दर्ता अञ्चल वा प्रदेशिक नाम, प्रदेश (अहिलेलाई वागमती प्रदेशमा मात्रै लागू भएको छ), सवारी साधन दर्ता भएको यातायात कार्यालय, गाडीको किसिम, लट, सवारी साधनको सिम्बोल र सवारीको नम्बर ‘इन्ट्री’ गर्नुपर्छ,’ उहाँले भन्नुभयो ।

यी विवरणले मात्रै तपाईंको सवारी साधनको सबै जानकारी प्रणालीमा नहुने भएकाले शुरुमा ब्लुबुकको आधारमा सोधिएका सबै जानकारी सवारी धनीले ‘इन्ट्री’ गराउनुपर्ने हुन्छ । ‘सवारी साधनको मोडल, निर्माता कम्पनी, इन्धनको किसिम, इञ्जिन नम्बर, च्यासिस नम्बर, सिलिण्डर सङ्ख्या, गाडीको किसिम आदि,’ ‘इन्ट्री’ गर्नुपर्ने उहाँले बताउनुभयो । यति ‘इन्ट्री’ गरिसकेपछि ड्यासबोर्डमा ‘कर तिर्नुपर्ने’ भन्ने अप्सन छनोट गर्नुपर्छ । उहाँका अनुसार सवारी साधनको वार्षिक कर बुझाउनु अघि बीमा अनिवार्य भएकाले बीमा पनि गर्नुपर्ने हुन्छ । प्रणालीमा बीमा भएका सवारी साधनको मात्रै कर भुक्तानी गर्न मिल्ने व्यवस्था गरिएको छ ।

साथै आफूलाई पायक पर्ने यातायात कार्यालय छनोट गरेर भुक्तानी गर्न सकिने उहाँले बताउनुभयो । अहिलेलाई अनलाइनबाट कर तिरेको सम्बन्धित कार्यालयमा एक महिना भित्र ब्लुबुकमा छाप लगाउन जानुपर्ने भएकाले आफुलाई पायक पर्ने कार्यालय छान्न समेत उहाँले अनुरोध गर्नुभएको छ ।

‘भुक्तानी गरेपछि सवारी धनीले रसिद डाउनलोड गर्न सक्नुहुन्छ । उक्त पीडीएफ रसिदमा सवारी कर तिरेको सबै विवरणसहित क्यूआर कोड हुनेछ,’ उहाँले भन्नुभयो,‘ ट्राफिक प्रहरीहरुले सवारी जाँचका क्रममा सवारी कर तिरेको वा नतिरेको पहिचान गर्ने छ । यसका लागि छुट्टै सफ्टवेयर विकास गरिएको छ ।’

ट्राफिक प्रहरीले ब्लुबुक हेर्नुभन्दा पीडीएफमा रहेको क्यूआर कोड स्क्यान गरेर सवारी साधनको करलगायत सबै विवरण हेर्न सक्ने उहाँले बताउनुभयो ।

यसका लागि भौतिक विकास मन्त्रालयले भेटघाट व्यवस्थापन प्रणालीको वेबपोर्टल https://visittmo.bagamati.gov.np/np  मार्फत इ–टोकन सेवा पनि शुरु गरेको मन्त्रालयका प्रवक्ता नविनकुमार सिंहले जानकारी दिनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?