logo
२०८१ बैशाख १४ शुक्रवार

    काठमाडौँ–तरार्ई/मधेस द्रुतमार्ग  



सुरुङको डिजाइन टोली आइपुग्यो

राष्ट्रिय |


सुरुङको डिजाइन टोली आइपुग्यो


भउचप्रसाद यादव

काठमाडौँ, असार ११ गते । निर्माणाधीन काठमाडौँ–तराई/मधेस द्रुतमार्गको सुरुङमार्ग र मोटरेबल पुल (हाइब्रिज)को डिजाइन तयार गर्न चिनियाँ निर्माण कम्पनीको प्राविधिक टोली नेपाल आइपुगेको छ ।
द्रुतमार्ग निर्माण व्यवस्थापनको जिम्मा पाएका नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौड्यालले द्रुतमार्गको धेद्रे–लेनडाँडा खण्डमा सुरुङमार्ग र हाइब्रिज निर्माणको ठेक्का पाएको चीनको पोली च्याङ्दा इन्जिनियरिङ कम्पनी लिमिटेडका परियोजना प्रबन्धकसहितको १४ जनाको प्राविधिक टोली काठमाडौँ आइपुगेको जानकारी दिनुभयो ।
सेनाको समन्वयमा चीनको ग्वान्जाओबाट चार्टर्ड उडानमार्फत सो विशेषज्ञ टोली काठमाडौँ आइपुगेको हो । उहाँका अनुसार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले लागू गरेको स्वास्थ्य मापदण्ड पालना गरी प्राविधिक टोली क्वारेन्टाइनमा बस्ने छ र कोरोना परीक्षण गरी पीसीआर रिपोर्ट निगेटिभ आएपछि मात्र टोली कार्य क्षेत्रतर्फ प्रस्थान गर्नेछ ।
द्रुतमार्गको प्याकेज–१ अन्तर्गत छोक्रेडाँडादेखि धेद्रेसम्म निर्माण गरिने सुरुङमार्ग र मोटरेबल पुल निर्माणको जिम्मा पाएको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पाेरेसनका प्राविधिकहरू डिजाइनका लागि अर्को हप्ता नेपाल आइपुग्ने भएका छन् । दुई चरणमा निर्माण गरिने सुरुङ तथा मोटरेबल पुलका लागि गत वैशाख ३१ गते नेपाली सेनाले दुईवटा चिनियाँ कम्पनीसँग सम्झौता गरेको थियो । सुरुङको प्याकेज–१ का लागि चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पाेरेसन र प्याकेज–२ का लागि पोली च्याङ्दा कन्स्ट्रक्सन कम्पनीसँग ठेक्का सम्झौता भएको थियो । सम्झौताअनुसार दुईवटै प्याकेजको निर्माण कार्य तीन वर्षभित्र सम्पन्न गर्नुपर्ने हुन्छ । निर्माण कम्पनीसँग भएको सम्झौताअनुसार सर्वे तथा डिजाइनको अवधि छ महिना रहेको छ ।
पहिलो प्याकेजअन्तर्गत छोक्रेडाँडादेखि धेद्रेसम्म तीन दशमलव ३५५ किलोमिटर र दोस्रो प्याकेजअन्तर्गत धेद्रेदेखि लेनडाँडासम्म तीन दशमलव शून्य तीन किलोमिटर सुरुङ निर्माण गर्नुपर्ने छ । पहिलो र दोस्रो प्याकेजको निर्माण लागत क्रमशः २१ अर्ब ६१ करोड र २८ अर्ब ५३ करोड रुपियाँ छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?