logo
२०८१ जेष्ठ ३ बिहीवार



जसपा यादव पक्ष आधिकारिकताको दाबी गर्दै निर्वाचन आयोग जाँदै

राष्ट्रिय |


जसपा यादव पक्ष आधिकारिकताको दाबी गर्दै निर्वाचन आयोग जाँदै


काठमाडौं, असार ४ गते । पार्टीको आधिकारिकताको दाबी गर्दै जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव पक्ष आज (शुक्रबार) निर्वाचन आयोग जाँदैछ ।
कार्यकारिणी सदस्य रामसहाय यादवका अनुसार राजनीतिक दलसम्बन्धी ऐनको व्यवस्थाअनुसार आधिकारिकता दाबी गर्न आज दिउँसो आयोग जान लागेको हो ।
‘अहिले यसका लागि तयारी हुँदैछ । कति बजे जाने तय गरिएको छैन । तर आज दिउँसोसम्म हामी आधिकारिकताका लागि निर्वाचन आयोग जान्छौं,’ कार्यकारिणी सदस्य रामसहाय यादवले भन्नुभयो, ‘५१ जना कार्यकारिणी सदस्यमा ३० जना हाम्रो पक्षमा हुनुहुन्छ । त्यस्तैले बहुमतको निर्णयलाई आयोगले यो पटक स्वीकार गर्नुपर्छ ।’
यसअघि ठाकुर पक्ष र यादव पक्षले एक अर्कालाई कारबाही गरेको जानकारी निर्वाचन आयोगमा बुझाएको थियो । यादवले बहुमत कार्यकारिणीको हस्ताक्षरसहित कारबाहीको पत्र बुझाएका थिए भने ठाकुर पक्षले यादवलाई कारबाहरीको पत्र मात्रै आयोगमा बुझाएको थियो ।
तर आयोगले दुवै पक्षको मागलाई अस्वीकार गरेको थियो । यद्यपि आज पुनः राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ४३ र ४४ अनुसार वैधानिकता दाबी गर्दै आयोगमा निवेदन दिने लागेको सदस्य यादवले बताउनुभयो ।
त्यस्तै बिहीबार पार्टी कार्यलय बालकुमारीमा बसेको अध्यक्ष यादव पाक्षको कार्यकारिणी समितिको बैठकले सरकारमा सहभागी भएका ९ जना मन्त्रीलाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको थियो ।
यसअघि अध्यक्ष यादव पक्षले अर्का अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, नेताद्वय सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्णलाई निष्कासन गरेको थियो । यसबारे सरकारमा सहभागी भएका बाँकी नेतालाई पनि निष्कासन गर्ने निर्णय बैठकले गरेको सदस्य यादवले जानकारी दिनुभयो ।
त्यस्तै लुम्बिनी प्रदेशका चार सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय पनि बैठकले गरेको छ । साथै बाढी पहिरोमा परेकाहरुको उद्धारमा खटिन कार्यकर्तालाई बैठकले निर्देशन दिएको छ भने बाढी पीडितका लागि राहत प्रभावकारी बनाउन सरकारलाई आग्रह गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?